कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शारदा नदीमा पक्की पुल

सल्यान — शारदा नगरपालिका १ शान्तिनगर र वडा नं. १२ को स्यानीखाल जोड्न शारदा नदीमा पक्की पुल निर्माण सुरु गरिएको छ  । बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न नदीमा पक्की पुल निर्माण सुरु गरिएको हो  ।

शारदा नदीमा पक्की पुल

पुल निर्माणका लागि शारदा नगरपालिकाको तीन करोड ८० लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको छ । ५० मिटर लम्बाइको पुल दुई वर्ष ६ महिनामा निर्माण सक्नेगरी निर्माण कम्पनीले जिम्मा लिएको छ ।

अहिले पुल नहुँदा स्थानीयबासी र यातायातका साधनलाई वर्षायाममा जोखिम उठाएर शारदा नदी वारपार गर्नुपर्ने बाध्यता छ । पुल निर्माण सम्पन्न भएपछि शारदा नगरपालिका(१२ स्यानीखाल, रेशमज्युला, शान्तिनगरलगायत गाउँका बासिन्दाले सहज रुपमा सदरमुकाम आउजाउ गर्न पाउनेछन् ।

अहिले वर्षाको समयमा गाडी नचल्दा आधा घण्टा टाढाको झोलुंगे पुलबाट आउजाउ गर्नुपर्ने बाध्यता रहेको रेशमज्युलाका थमनसिंह बिष्टले बताए । उनका अनुसार ठूला गाडीसमेत जोखिम मोलेर नदीमा पस्दा नदीमै फस्ने गरेका छन् ।

पक्की पुलको अभावमा बाह्रै महिना गाडी नचल्दा कृषिजन्य सामग्रीले बजार नपाएको उनको भनाइ छ । उनका अनुसार वर्षातको समयमा गाउँसम्म विभिन्न दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या भइरहेको छ । पुल निर्माणको जिम्मा गौरी पार्वती एण्ड जुद्ध/पूर्ण जेभीले लिएको छ ।

पुलको शिलान्यास गर्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले स्थानीयको समस्यालाई ध्यानमा राख्दै समयमै पुल निर्माण सम्पन्न गर्ने जनाए । उनले ठेकेदार कम्पनीलाई जतिसक्दो छिटो पुल निर्माण गर्न ताकेता गरिरहेको जनाए । उनले पुल बनेपछि सडक स्तरोन्नतिको कामसमेत सुरु हुने जनाए ।

‘शारदा नदीमा अझै दुई ठाउँमा पक्की पुल निर्माण गर्न आवश्यक देखिएको छ,’ उनले भने,‘त्यसका लागि प्रदेश र संघीय सरकारसँग अनुरोध गरिएको छ ।’

प्रकाशित : जेष्ठ २, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?