कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

समायोजनपछि कर्मचारी अभाव

विषयगत कार्यालय र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा लिन स्थानीयले घन्टौं कुर्नुपर्ने बाध्यता

मुगु र सल्यान — समयोजनपछि जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ  । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयलाई घण्टौं कुनुपर्ने बाध्यता भएको छ  ।

समायोजनपछि कर्मचारी अभाव

जिल्ला प्रशासन कार्यालयमा अहिले चार कर्मचारीले मात्र कामकाज गरिरहेका छन् । १२ जनाको दरबन्दी रहेको जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी, सहायक प्रजिअ, एक नायब सुब्बा र करारका एक कार्यालय सहयोगीमात्र कार्यरत छन् ।

अहिले कार्यरत नायब सुब्बा पनि छायाँनाथरारा नगरपालिकामा समायोजन भइसकेका छन् । समायोजनले कार्यालय कर्मचारीविहीन बन्ने अवस्थामा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार ढकालले बताए । ‘समायोजन भएका सुब्बालाई रमाना दिइएको छैन,’ उनले भने, ‘कर्मचारी अभावका कारण सेवाग्राहीले सास्ती पाउन थालेका छन् ।’ उनका अनुसार नागरिकता फाँट, राहादानी फाँट गैसस दर्ता र नवीकरणको काम करारका कर्मचारीको भरमा छाडिएको छ ।

त्यस्तै पशु ज्ञान केन्द्र दुई कर्मचारीको भरमा छ । दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीको कामकाज गर्न अप्ठेरो परेको कार्यालय प्रमुख गोबिन्द सिजापतिले बताए । यी दुई कार्यालय मात्र होइन्, स्थानीय तहमा पनि कर्मचारी अभावको समस्या चुलिएको छ । चारवटै स्थानीय तहमा दुई सय बढी कर्मचारी अभाव भएको जिल्ला समन्वय समितिले जनाएको छ ।

सोरु, खत्याड, मुगमकार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकाले पनि लामो समयदेखि कर्मचारी अभावको समस्या भोग्दै आइरहेका छन् । समायोजनपछि थप कर्मचारी समस्या भोग्नुपरेको जनप्रतिनिधिको गुनासो छ । मुगुमकार्मारोङ गाउँपालिकाले बैशाख दोस्रो साता बिभिन्न पदमा ३० जना कर्मचारी रिक्त रहेको भन्दै लोकसेवा आयोगमा पदपूर्तिका लागि माग गरिएको जनाएको छ ।

छायाँनाथरारा नगरपालिकामा ५७ जना कर्मचारीको दरबन्दी भए पनि प्रमुख प्रशासकीय अधिकृतसहित १५ कर्मचारीको दरबन्दी खाली छ । नगरले दुई इन्जिनियर र दुई सवइन्जिनियर करारमा राखेर काम गरिरहेको जनाएको छ ।

नगरका वडामा २८ जनाको दरबन्दीमध्ये ४ जना सचिवमात्रै कार्यरत छन् । कर्मचारी अभावका कारण करारमा कर्मचारी भर्ना गर्नुपरेको छायाँनाथरारा नगर प्रमुख हरिजंग शाहीले बताए । उनले विभिन्न निकायमा कर्मचारी पठाउन माग गर्दै आए पनि लामो समयदेखि बेवास्ता भइरहेको जनाए ।

सोरु गाउँपालिकामा पाँच जनामात्र वडा सचिव कार्यरत छन् । गाउँपालिका कार्यालय प्रशासकीय अधिकृत, दुई नायब सुव्वा, लेखापाल, सवइन्जिनियरसहित पाँच कर्मचारीको भरमा छ । गाउँपालिकामा ३२ जना कर्मचारी रिक्त रहेको जनप्रतिनिधिले गुनासो गरे । खत्याड गाउपालिकामा सात जनामात्र कार्यरत छन् । गाउँपालिकामा ३२ जना कर्मचारीको दरबन्दी खाली छ ।

बन्गाडकुपिण्डे वडा सचिवविहीन
१२ वडा रहेको सल्यानको बन्गाडकुपिण्डे नगरपालिका वडा सचिवविहीन बनेको छ । कार्यरत एकमात्र सचिव नगरपालिकामा तानिएपछि वडा कार्यालय सचिवविहीन बनेका हुन् । वडासचिव नहुँदा कार्यालयका कामकाज प्रभावित भएका छन् । सचिव नहुँदा चार वडा स्वास्थ्यकर्मी र सामाजिक परिचालकले धानिरहेका छन् । सचिव नहुँदा घण्टौं हिडेर सरकारी कामकाजका लागि आएका सेवाग्राहीले सास्ती भोग्नुपरिरहेको छ ।


सामाजिक परिचालकले राम्रोसँग काम गर्न नजान्दा कामकाज गराउन नगरपालिका जानुपर्ने बाध्यता भएको मूलखोलाका देवेन्द्र खडाले बताए । नगरपालिकाको बिकट वडा मानिने निगालचुलाका टेकबहादुर पुनले वडा कार्यालयमा सामाजिक परिचालक भए पनि सामान्य काम परेमा नगरपालिका पुग्नुपर्ने बाध्यता भएको जनाए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले वडामा रहेका एक मात्र सचिव नगरमा तानिए पछि वडा कार्यालयको कामकाज गराउन समस्या भएको बताए । समायोजनपछि स्थायी कर्मचारी आउन नमानेकाले वडा कार्यालय कर्मचारीविहीन भएको उनले जानकारी दिए ।

वडा सचिवमात्र नभइ अन्य कर्मचारीको समेत अभाव भएपछि नगरको काममा समस्या भएको उनले जनाए । ‘समायोजन अनुसार सरुवा भएर जानेको संख्या बढी छ,’ उनले भने, ‘आउनुपर्ने कर्मचारी कोही आएनन् ।’

प्रकाशित : जेष्ठ २, २०७६ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?