कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

प्रदेश सरकारको उपेक्षामा चन्दननाथ

एलपी देवकोटा

जुम्ला — कर्णाली प्रदेश सरकारले जुम्लाका सातवटै गाउँपालिकामा बजेट विनियोजन गरे पनि एक मात्र चन्दननाथ नगरपालिकालाई भने उपेक्षा गरेको छ । 

आन्तरिक स्रोत साधन कम र विकासको माग धेरै भए पनि प्रदेश सरकारले बेवास्ता गरेको जनप्रतिनिधिको गुनासो छ । संघीय सरकाले भने नगरपालिकामा ठूला योजनामा बजेट पठाएको जनप्रतिनिधिले जनाए ।


साबिक कर्णाली अञ्चलको सदरमुकाम रहेको एक मात्र नगरपालिकाको विकास निमार्णमा प्रदेश सरकाले विभेद गरेको चन्दननाथकी नगर प्रमुख प्रमुख कान्तिका सेजुवालले बताइन् ।


‘राजनीतिक पूर्वाग्राहका कारण नगरपालिकामा प्रदेश सरकारले विकासका योजना दिन सकेन,’ उनले भनिन्, ‘जुम्लाका सबै स्थानीय तहमा बजेट आएको छ, तर नगरपालिकामा भने बजेट आएको छैन ।’ उनले संघीय सरकारले पठाएको बजेटमा रहेर मुख्य विकासका काम गरिरहेको बताइन् । उनका अनुसार स्थानीय तहलाई केन्द्रले दिने वजेट न्यून छ ।


प्रदेश सरकाले पनि बजेट दिएको भए नगर विकासमा सहज हुने नगर प्रमुख सेजुवालले जनाइन् । नगरभित्र खानेपानी, सरसफाइ, विद्युत, स्याउको वजारिकरणलगायत समस्या छन् । स्थानीय जनप्रतिनिधिले समस्या समाधानका लागि प्रदेश सरकारको बजेट आउने अपेक्षा गरेका थिए ।


प्रदेशको महत्वपूर्ण नगरपालिकामा प्रदेश सरकारले बजेट नपठाउनु दुःखद भएको स्थानीयको भनाइ छ । पहुँच र राजनीतिक आस्थाको आधारमा भन्दा पनि विकासको आवश्यकताको आधारमा बजेट पठाउनुपर्नै स्थानीयको माग छ ।


प्रदेश सरकारका तर्फबाट विकास निर्माणमा विभेद नभएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए । ‘नगरपालिका भित्रका विभिन्न शैक्षिक संस्था, प्रहरीलगायत कार्यालयमा करिव १५ करोड रकम प्रदेश सरकारले विनियोजन गरेको छ,’ उनले भने, ‘नगरपालिकालाई उपेक्षा गरेका छैनौं ।’


जुम्लाका अन्य स्थानीय तहमा कर्णाली प्रदेश सरकारले वजेट पठाएको छ । नगरपालिकामा बजेट नआए पनि नगरभित्रका केही कार्यालयमा बजेट आएको छ । चन्दननाथ नगरपालिकाभित्रको जिल्ला कारागार, कर्णाली प्राविधिक शिक्षालय, जुम्ला बहुमुखी क्याम्पसका लागि प्रदेश सरकारले वजेटको व्यवस्था गरेको छ ।


प्रदेश सरकारले सवैभन्दा धेरै जुम्लाको गुठिचौर गाउँपालिकामा एक करोड ६० लाख रुपैयाँ पठाएको छ । हिमा गाउँपालिकामा झन्डै १२ लाख रुपैयाँ पठाएको छ भने तातोपानी गाउँपालिकामा ४९ लाख ८३ हजार रुपैया बजेट पठाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?