२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मर्मतका नाममा टालटुल

वीरेन्द्रनगर, सुर्खेत — वीरेन्द्रनगर नगरपालिकाले बुद्धपथ-पिपलचौतारा सडक कालोपत्रे गर्ने भन्दै ७ लाख ५० हजार रुपैयाँ विनियोजन गर्‍यो । गत वर्ष रकम छुट्याइएको सडकको काम दुई साताअघि मात्र सुरु भयो । तर, दुई सातादेखि सडकमा जथाभावी ढुंगा बिच्छ्याइएपछि यातायातका साधन सञ्चालन गर्न समस्या भइरहेको छ ।

उक्त सडकमात्र होइन्, अधिकांश सडकको काम बीचैमा अलपत्र परेपछि बटुवाले समेत सास्ती भोगिरहेका छन् ।


वीरेन्द्रनगर नगरपालिकाकाले १६ वडामा मर्मतका नाममा सामान्य टालटुल गरेर सडकको रकम सक्न थालेको छ । यस वर्ष नगरपालिकाले ५४ स्थानमा सडक निर्माण, मर्मत तथा स्तरोन्नति भन्दै करिब १६ करोड रुपैयाँ विनियोजन गरेको छ । अधिकांश सडकको काम गुणस्तरीय नभएको स्थानीयको गुनासो छ ।


नगरले ५ लाखभन्दा माथिका योजना हेर्ने भएकाले अधिकांश सडकको काम वडा कार्यालयमार्फत भइरहेको छ । चालु आर्थिक वर्षमा ६ नम्बर वडा कार्यालयले विभिन्न सडक मर्मतसम्भारमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ । वडासचिव प्रेम रावतका अनुसार वडा नं ६ का १० वटा सडकमा सामान्य मर्मत र कालोपत्रेको काम भइरहेको छ ।


वडा नंं ७ मा पनि सडकको काम समयमै नहुँदा बटुवालाई समेत आउजाउमा समस्या परिरहेको छ । ७ नम्बरका वडाध्यक्ष ध्रुवकुमार चपाईंले ठेकेदारले समयमै काम नगर्दा समस्या भइरहेको बताए । 'सडक जीर्ण बनेपछि कालोपत्रे गर्न टेन्डर आव्हान गरियो,' उनले भने, 'तर ठेकेदार सम्पर्कविहीन भएपछि हामीले गाली खाइरहेका छौं ।'


वडा नं. ८ मा पनि सडक मर्मत र कालोपत्रेमा ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । वडाका १२ वटै टोलका सडकमा टुक्रे रकम विनियोजन गरिएपछि सामान्य टालटुलमा रकम सकिने गरेको स्थानीयको भनाइ छ । ८ नम्बर वडामा टेन्डरमार्फत गरिने दुई सडकको कामबाहेक अन्य काम अझै सुरु हुन सकेको छैन ।


गत वर्ष रकम विनियोजन गरेका अधिकांश सडकमा समेत यस वर्ष काम भइरहेको छ । अधिकांश काम बैशाख पहिलो साताबाट मात्र सुरु गरिएकाले यस वर्षसमेत असारे विकासमा ठूलो रकम खर्च हुने नागरिक अगुवाहरू बताउँछन् । नगरपालिका उपप्रमुख मोहनमाया ढकालले नगरका सबै सडकको काम गुणस्तरीय गराउन कडाइका साथ अनुगमन गरिएको बताइन् ।


'विकासका काममा सबैभन्दा ठूलो भूमिका प्राविधिकको हुन्छ,' उनले भनिन्, 'हामीले गर्ने सामाजिक अनुगमनको काम मात्र हो तर गुणस्तरीय काम होस् भनेर सबै विकासका काममा कडाइका साथ अनुगमन भइरहेको छ ।'

प्रकाशित : जेष्ठ ४, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?