कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पहुँचमा छैन पानी

विप्लव महर्जन

सल्यान — बढ्दो गर्मीका कारण मुहान सुक्न थालेपछि कालीम्ााटी २ टाकुरा र टोटकेमा खानेपानी अभाव गहिरिएको छ । एक गाग्री पानीको लागि स्थानीयलाई दुई घण्टा हिँड्नुपर्ने बाध्यता छ ।

पहुँचमा छैन पानी

लामो समय डोकोमा बोकेर पानी ल्याउनु पर्दा स्थानीय महिलालाई सास्ती भएको छ । बारम्बार सम्बन्धित निकायमा आग्रह गर्दा पनि खानेपानी योजना निर्माणका लागि बेवास्ता गर्दा दुःख भोग्नुपरेको स्थानीयको गुनासो छ ।


'दुई महिना अघिसम्म मुलबाट पानी ल्याउँथ्यौं, अहिले त पानीको लागि खोलामै पुग्नुपर्छ,' स्थानीय दिलमाया बुढाले भनिन्, 'यो समस्या अहिलेको होइन, अझ कति दुःख पाउनु पर्ने हो थाहा छैन ।' खोला र्झन मात्र डेढ घण्टा लाग्ने गरेको उनले बताइन् ।


पानी बोक्ने महिलाले डोकामा लामो समय पानी बोकेर उकालो चढ्नुपर्दा ढाड दुख्ने गरेको बताएका छन् । पानीका मुहान सुकेपछि टाढा पर्ने भएकाले बिहानै घरबाट निस्कनुपर्ने बाध्यता पनि उनीहरूको छ । 'जंगलको बाटो भएर हिँड्नुपर्दा जनावरको डर त्यत्तिकै हुन्छ,' बुढाले भनिन्, 'साथी नभए त एक्लै जान सकिँदैन, बिहानै पानी लिन जाँदा धेरै समय लाग्ने भएकाले बिहान-बेलुकी खानाको निश्चित हुँदैन ।'


कतिपयले ट्यांकीमा जम्मा गरेको आकासेपानीबाट गुजारा चलाइरहेका छन् । दुई सातायता खडेरी लागेपछि मुहानहरू सबै सुकेकाले लामो समय हिँडेर ल्याएको पानी अड्कलेर खानुपर्ने बाध्यता भएको स्थानीय बिमला ओलीले बताइन् । उनका अनुसार पानीको अभावका कारण सरसफाइ गर्न मात्र नभई शौच गर्नका लागि शौचालय जानसमेत कठिनाइ हुँदै आएको छ । पशुचौपायालाई पानी खुवाउन खोलै झर्नुपर्ने बाध्यता रहेको छ ।


खानेपानी अभावको कारण बालबालिकाको पढाइ पनि बिथोलिएको छ । बालबालिकाले समयमै खाना खाएर पढाइका लागि विद्यालय जानसमेत नपाउने गरेका केसरी घर्तीले बताइन् । 'एक्लैले खोलाबाट पानी ल्याएर कतिबेला खाना पकाएर बालबच्चालाई खुलाउनु ?' उनले भनिन्, 'काम गर्दागर्दै कहिलेकाहीँ ढिलो भई स्कुल जानै छु्ट्छ ।'

पानीको यति ठूलो समस्या भए पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ । नरबहादुर डाँगीले बारम्बार आग्रह गर्दा पनि सम्बन्धित निकाय मौन रहेको बताए ।


'चुनावको समयमा हामी जितेपछि पानी जसरी भए पनि ल्याउँछौं भनेर भोट हाल्न लगाए,' उनले भने, 'अहिले अनुहारै देखाउन छाडेका छन् ।' पानीकै समस्याका कारण दर्जन परिवार बसाइँसराइ गरेर अन्यत्र गइसकेका उनले बताए ।

कालिमाटी २ का वडाध्यक्ष इन्द्रबहादुर ओलीले डाँडामा बस्ती भएकाले योजना सञ्चालनमा कठिनाइ भएको बताए । कम बजेटमा काम नहुने र पर्याप्त बजेट नरहेको उनको भनाइ छ ।


उनका अनुसार गाउँमा पानी पुर्‍याउन लिफ्ट प्रणालीबाहेक अरु विकल्प छैन । 'हामीले समस्याबारे जानकारी लिई समाधानको उपायबारे छलफल गरिरहेका छौं,' उनले भने, 'बजेट व्यवस्था गरेर छिट्टै खानेपानी आयोगना सञ्चालन गर्ने सोच बनाएका छौं ।' शारदाखोला आसपासका स्थानमा प्रशस्त पानी भएकाले बस्तीलाई खोलानजिक सार्न खाजे पनि स्थानीयले आउन नचाहेको उनले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?