१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मास्क लगाएर मर्निङ वाक

सडक सास्ती

वीरेन्द्रनगर — वीरेन्द्रनगरका औषधि व्यवसायी प्रेम भण्डारी प्रत्येक दिन मर्निङ वाक गर्न सडकमा निस्कन्छन् । शरीर फुर्तिलोसँगै स्वस्थ राख्ने उद्देश्यले हिँडे पनि सडकको धुलो र फोहोरले थप अस्वस्थ भइन्छ कि भन्ने चिन्ताले उनलाई सताउँछ ।

मास्क लगाएर मर्निङ वाक

'बिहानैदेखि बाटोमा धुलो धुुवाँ हुन्छ, स्वच्छ हावा लिन पाइँदैन,' उनी भन्छन्, 'स्वच्छ वातावरणमा हिँडौ भने त्यस्तो क्षेत्र कतै छैन, जता पनि दुर्गन्ध मात्रै छ ।' मर्निङ वाक गर्नका लागि छुट्टै पैदल मार्गको व्यवस्था भए सहज हुने भण्डारी बताउँछन् ।


सहारा क्याम्पसमा अध्ययनरत ओमकान्त तिवारी पनि बिहान क्याम्पस जाँदा मास्क लगाएर हिँड्नुपर्ने बाध्यता सुनाउँछन् । सडकमा बिहानैदेखि गुड्ने गाडीका धुवाँ र धुलाम्मे सडकका कारण हिँड्नै सकस हुने गरेको उनको गुनासो छ । 'बिहान प|mेस भएर क्याम्पस हिँडिन्छ,' उनी भन्छन्, 'बाटोभरि धुलो धुवाँले ड्रेस त फोहोर गराउँछ नै, त्यसैमाथि सफा हावाको सट्टा गाडीको धुवाँ खाँदै हिँड्नुपर्छ ।'


वीरेन्द्रनगरको कुनै पनि क्षेत्रमा मर्निङ वाक गर्नका लागि उपयुक्त वातावरण नभएको खेलाडी प्रमोद हमालको भनाइ छ । यहाँको वातावरण स्वस्थ नभएकै कारण उनले मर्निङ वाक गर्न पनि छाडे । 'बाटोभरि ढुंगा, गिट्टी, बालुवा थुपारिएको छ,' उनले भने, 'हिँड्नका लागि हरियो दुबो भएको क्षेत्र हुनुपर्छ, यहाँ त बिहानै पनि मास्क लगाएर हिँड्नुपर्ने बाध्यता छ ।' मर्निङ वाक गर्दा ढुंगा, गिटी, बालुवा थुपारिएको क्षेत्र धेरै भएकाले यसले हाडजोर्नीको थप समस्या उत्पन्न गराउने उनले बताए ।


बिहान स्वच्छ हावामा शारीरिक र मानसिक रुपमा नै स्वस्थ हुनका लागि अधिकांश नागरिक मर्निङ वाक गर्ने गर्दछन् । तर, बिहानको समयमा समेत स्वच्छ वातावरणमा नागरिक यात्रा गर्न पाएका छैनन् । वीरेन्द्रनगरमा स्वस्थ वातावरणको अभाव हुन थालेको स्थानीयको गुनासो छ । बढ्दाे सहरीकरणसँगै प्रदुषित हुँदै गएको वातावरणले नागरिकको स्वास्थ्यमा थप असर पारेको छ, जसले गर्दा विभिन्न रोगको संक्रमण देखा पर्नेसमेत जोखिम बढेको छ ।


नगरभित्रका अव्यवस्थित सडकका कारण मर्निङ वाक गर्नमात्र होइन पैदल सवारी साधन चलाउनेले पनि सास्ती खेपिरहनुपरेको छ । सडकमा परेका खाल्डाखुल्डीका कारण सर्वसाधारण आजित छन् । नगरभित्रका विभिन्न सडकहरू अहिले हतारहतारमा टालटुल गर्न थालेको देखेर वीरेन्द्रनगरका उमेश गुरुङ असारे विकासको चिन्ता सुनाउँछन् ।


'हरेक वर्ष यही विकास देख्न पाइन्छ,' उनी भन्छन्, 'अलि-अलि टालेर काम गरेजस्तो गर्छन्, फेरि केही महिनामा सडकको हालत उस्तै हुन्छ ।' जति सडक टाले पनि कच्ची सडकमै हिँड्नुपर्ने बाध्यता रहेको उनले बताए । पक्की सडकमा खाल्डै खाल्डा भएकोले उफार्दै बाइक चलाउनुभन्दा कच्चीमै ठिक हुने गरेको उनको भनाइ छ ।


वीरेन्द्रनगर नगरपालिकाले मर्निङ तथा इभिनिङ वाक गर्नका लागि खुला पार्कको व्यवस्था गरिने जनाएको छ ।


–चाँदनी कठायत

प्रकाशित : जेष्ठ ४, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?