कम्प्युटर अभ्यासबिनै परीक्षा

विप्लव महर्जन

सल्यान — छत्रेश्वरी गाउँपालिकास्थित त्रिभुवन जनता मावि भोटेचौरले पाँच वर्षदेखि कम्प्युटर कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयमा ९ थान कम्प्युटर छन् । तर अधिकांश बिग्रिएपछि विद्यार्थी कम्प्युटर अभ्यास बिनै परीक्षा दिन बाध्य छन् ।

कम्प्युटर अभ्यासबिनै परीक्षा

विद्यालयको कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षा लागु गरिएको छ । ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक परीक्षा लिनुपर्ने भए पनि विद्यालयले सैद्धान्तिक परीक्षामात्र गराउँदै आएको छ । गाउँमा विद्युत् सुविधा पुग्न सकेको छैन, जसका कारण पनि विद्यार्थीहरू प्रयोगात्मक अभ्यासबाट वञ्चित भएका हुन् ।


सौर्य ऊर्जा प्रयोग गरी एक वर्ष सञ्चालन गरिएका कम्प्युटर सञ्चालन गरिए पनि बिग्रिएका कारण समस्या भएको विद्यालयले जनाएको छ । कक्षा ८ मा अध्ययनरत सन्तोष खड्काले कम्प्युटरमा बसेर अभ्यास गर्न नपाउँदा पढेका कुरा बिर्संदै गएको बताए । ‘शिक्षकले समेत अध्यासबिना पढाइरहनुभएको छ,’ उनले भने, ‘जसले गर्दा पढाएको अधिकांश कुरा बुझिँदैन, बुझिएको कुरासमेत बिर्संदै जाने समस्या छ ।’


विद्यार्थीलाई प्रयोगात्मक रूपमा कम्प्युटरको अध्यापन गराउन खोजे पनि सीमित स्रोत र साधनका कारण समस्या भएको विद्यालयले जनाएको छ । शिक्षिका लक्ष्मी केसीले किताबको भर मात्र परेर कक्षा सञ्चालन गर्दा समस्या भएको बताइन् । उनका अनुसार सैद्धान्तिक कक्षा मात्र सञ्चालन गर्दा विद्यार्थीको सिकाइस्तर गुणस्तरीय बन्न सकेको छैन । विद्यालयमा ०७० देखि कम्प्युटर विषय पढाउन थालिएको हो ।


‘सुरुमा शिक्षकबिना नै दुई वर्षसम्म कम्प्युटर कक्षा सञ्चालन भयो,’ उनले भनिन्, ‘०७३ सालदेखि विद्यालयमा रहेका ९ कम्प्युटर बिग्रिएपछि प्रयोगात्मक कक्षा बन्द भएको हो ।’ उनले कहिलेकाहीं मोबाइलको प्रयोग गरेर प्रयोगात्मक कक्षा सञ्चालन गर्ने गरेको बताइन् । सैद्धान्तिक र प्रयोगात्मक दुवै विधिबाट पठनपाठन गराए मात्र गुणस्तरीय पढाइ हुने उनको भनाइ छ । बिग्रिएका कम्प्युटर मर्मतमा विद्यालयले बेवास्ता गरिरहेको विद्यार्थीको गुनासो छ । विद्यालयले भने रकम अभावका कारण कम्प्युटर मर्मत गर्न नसकिएको जनाउँदै आइरहेको छ ।


विद्यालयका प्रधानाध्यापक जितबहादुर भण्डारीले अहिले विद्यार्थीको अनुपातमा आधारमा कम्प्युटर पर्याप्त नभएकाले समस्या भएको बताए । ‘विद्यालयको भरपर्दो स्रोत छैन,’ उनले भने, ‘रकम अभावका कारण भएका कम्प्युटर मर्मत गर्न सकेका छैनौं, थप कम्प्युटरको व्यवस्था गर्न गाउँपालिकालाई बारम्बार आग्रह गरिए पनि बेवास्ता भइरहेको छ ।’ उनले कम्प्युटर कक्षसमेत व्यवस्थित नहुँदा समस्या भइरहेको बताए ।


गाउँपालिका अध्यक्ष डिल्ली खड्काले यस विषयमा आफूलाई जानकारी नभएको जनाए । कम्प्युटर मर्मत र थप गर्न विद्यालयसँग समन्वय गरी आवश्यक रकम विनियोजन गरिने उनको भनाइ छ । ‘सामुदायिक विद्यालयको गुणस्तर बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘सबै विद्यालयलाई जतिसक्दो छिटो प्रविधिमैत्री बनाएर पठनपाठनको व्यवस्था गर्ने हाम्रो योजना छ ।’

प्रकाशित : जेष्ठ ५, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?