कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुरक्षा भत्ता नपाउँदा औषधि किन्न समस्या

मुगु — छायाँनाथरारा नगरपालिकाका ज्येष्ठ नागरिक लामो समयदेखि सामाजिक सुरक्षा भत्ताबाट बञ्चित छन् । नगरमा बसोबास गर्ने ज्येष्ठ नागरिकले गत असोजदेखि सुरक्षा भत्ता पाउन नसकेका हुन् । 

सुरक्षा भत्ता नपाउँदा विपन्न अवस्थाका ज्येष्ठ नागरिकलाई गुजारा चलाउन समस्या छ । सन्तान र सहाराविहीन भएका ज्येष्ठ नागरिक भत्ता नपाउँदा बढी समस्यामा परेका छन् । अधिकांश ज्येष्ठ नागरिक समस्यामा परेको छायाँनाथरारा-९ का ७० वर्षीय गोरचन्द्र रोकायाले बताए । उनका अनुसार भत्ता नपाउँदा औषधी, लत्ताकपडालगायत सामग्री किन्न समस्या भएको छ । '९ महिनायता हामीले बृद्ध भत्ता पाएका छैनौं,' उनले भने, 'अब पाइने/नपाइनेबारे समेत हामीलाई कुनै जानकारी दिइएको छैन ।'


सरकारले ६० देखि ७० वर्षसम्मका ज्येष्ठ नागरिकलाई एक हजार र ७० देखि माथि उमेरका ज्येष्ठ नागरिकलाई मासिक दुई हजार भत्ता दिंदै आइरहेको छ । चालु आर्थिक वर्षको दोस्रो र तेस्रो चौमासिक बित्दासमेत उनीहरू भत्ताबाट बञ्चित भएका हुन् । केही ज्येष्ठ नागरिक सुरक्षा भत्ता माग गर्दै वडा र नगरपालिका कार्यालय जाने गरे पनि रित्तोहात र्फकन बाध्य छन् । ज्येष्ठ नागरिकले निकासा नभएको भन्दै जनप्रतिनिधिले खाली हात फर्काउने गरेको गुनासो गरे ।


वडा कार्यालयमा भत्ता माग्दै ज्येष्ठ नागरिक आउने गरेको भए पनि निकासा नहुँदा समस्या भएको वडा नंं १४ का अध्यक्ष नन्दलाल बडुवालले बताए । 'गाउँमा हिडासमेत ज्येष्ठ नागरिकले गुनासो गर्न थालेका छन्,' उनले भने, 'यसबारे पटकपटक नगरपालिकामा गएर ध्यानाकर्षण गराएको छु ।' नगरपालिकामा बृद्ध भत्ता मात्र नभइ बालबालिका, अपांग, असहायलगायत भत्ताबाट स्थानीयबासी बञ्चित भएको उनको भनाइ छ । अन्य लक्षित वर्गले समेत गत असोजदेखि भत्ता प्राप्त गर्न सकेका छैनन् ।


एमआइएस सिस्टममा डाटा इन्टि्र गर्न ढिलाइ भएकाले नगरपालिकाबाटै सामाजिक सुरक्षा भत्ता निकासामा ढिलाइ भइरहेको वडा नं ७ का सचिव गोपाल मल्लले बताए । उनका अनुसार पूर्ण अपाङ्गता भएकालाई दुई हजार, आंशिक अपाङ्गता भएकालाई ६ सय, एकल महिलालाई एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिइँदै आइएको छ ।


कर्मचारी अभावले एमआइएस सिस्टममा डाटा इन्ट्री नहुँदा मन्त्रालयबाटै सामाजिक सुरक्षा भत्ताको निकासा हुन नसकेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताए । उनले छिट्टै बजेट माग गरि वितरण प्रक्रिया सुरु गरिने जनाए ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?