१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

दुई घण्टा हिँडेर पानी

जाजरकोट — कुशे गाउँपालिकाका १, स्याङ्ग्रीकी सीता महतारालाई दैनिक दुई घण्टा टाढाको मूलबाट पिउने पानी ल्याउनुपर्ने बाध्यता छ । सोही ठाउँकी विमला चलाउनेलाई पनि उस्तै समस्या छ । 

महतारा र चलाउने मात्र हैन, स्याङ्ग्रीधाउनीका एक सय घरपरिवारलाई खानेपानीको जोहो गर्न सास्ती छ । गाउँमा खानेपानीको हाहाकार मच्चिएपछि स्थानीयलाई दुई घण्टा टाढाको खोलाबाट पानी बोकेर पिउनुपर्ने वाध्यता भएको हो । अग्लो टाकुरोको बस्ती त्यसैमा सुख्खा/खडेरीले आसपासका मुहान सुक्दा समस्या भएको वडाध्यक्ष गोपालबहादुर नेपालीले बताए ।


उनका अनुसार स्थानीयले गाउँबाट टाढा रहेका कुवा र नाउलोबाट पानी बोकेर ल्याउने गरेको छ । पानी अभावको समस्या वडा कार्यालय र विद्यालयमा समेत भएको उनी बताउँछन् । 'पिठ्युमा बोकेरै पानीको जोहो गर्नुपर्ने वाध्यता छ,' उनले भने, 'महिला तथा बालबालिकाको दिन पानी ओसार्नमै वित्छ ।'


पानी अभावले गाउँभरका शौचालय प्रयोगविहीन भएका छन् । सात किलोमिटर दूरीको लडा लेकको खानेपानी योजना निर्माण नगरेसम्म समस्या भइरहने स्थानीयको भनाइ छ । बजेट अभाव देखाउँदै स्थानीय तहले खानेपानी योजना निर्माणमा चासो नदेखाएको उनीहरूको गुनासो छ ।


पानी अभावले गणेश आधारभुत विद्यालय स्याङ्ग्रीका विद्यार्थीले दिवा खाजासमेत खान पाएका छैनन् । बोकेर ल्याएको पानीले डेढसय विद्यार्थीलाई पकाएर खुवाउन नसक्दा दिवा खाजा बन्द गर्न वाध्य भएको प्रधानाध्यापक उत्तमीलाल यादवले बताए । त्यस्तै, कुशे ८, जिन्तालामा पनि खानेपानीको हाहाकार मच्चिएको छ ।


पुरानो खानेपानी योजनाको मुहान सुख्दा र नयाँ योजना निर्माणमा बजेट नहुँदा जिन्तालामा खानेपानीको अभाव भएको हो । मुहान सुक्दै गएकाले जिन्तालाका तीन सय घरपरिवारलाई घण्टौ पैदल हिडेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता भएको स्थानीय रमेश सिंहले बताए । दुई दशक पुरानो खानेपानी योजनाको मुहान सुख्दा र उक्त योजनाको मर्मत नहुँदा समस्या भएको उनले जनाए । बर्षेनि फागुनदेखि गाउँमा खानेपानीको अभाव चुलिने गरेको उनले सुनाए । सिंहका अनुसार जिन्तालामा खानेपानी ल्याउनका लागि करिव ९ किलोमिटर टाढाको मुहानको विकल्प छैन ।


कुशे गाउँपालिकाले सबै वडामा स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्य राखे पनि बजेट अभावले पुरा हुन नसकेको उपाध्यक्ष रामछाया शाहीले बताइन् । 'वन विनास र सुख्खा खडेरीका कारण पानीका स्रोत सुकेपछि झन् खानेपानीको अभाव भएको छ,' उनले भनिन्, 'खानेपानीका क्षेत्रमा काम गर्ने कार्यालय जिल्लामा नहुँदा थप समस्या भइरहेको छ ।'


जाजरकोटमा तीन सय खानेपानी योजनाको मर्मत सम्भार हुन नसक्दा स्थानीय बासिन्दा स्वच्छ पिउनेे पानीबाट बञ्चित भएको जिल्ला समन्वय समितिले जनाएको छ । जिससका अनुसार खानेपानी अभावमा जाजरकोटका ६ हजार घरपरिवार खोला, नदी, कुवा लगायतको दुषित पानी पिउन वाध्य छन् । जिल्लाका २५ हजार घरधुरीमा स्वच्छ पानी पिउने पानीको सुविधा पुगेको जिससको तथ्यांक छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?