कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सडक कालोपत्रेमा १५ महिना ढिलाइ

खलंगादेखि कुपिण्डे हुँदै बालुवासंग्रहीको करिब ३२ किलोमिटरमध्ये ज्यामिरेसम्म १८ किलोमिटर ओटासिल कालोपत्रे गरिने कार्यक्रम
विप्लव महर्जन

सल्यान — ठेकेदारको ढिलासुस्तीले खलंगा-कुपिण्डे-बालुवासंग्रही सडकको कालोपत्रेको काम अलपत्र परेको छ । गत असोजसम्म निर्माण सम्पन्न गर्नेगरी जिम्मा लिइएको सडक स्तरोन्नति र कालोपत्रेमा ढिलाइ हुँदा यात्रुहरू सास्ती भोग्न बाध्य छन् । 

सडक कालोपत्रेमा १५ महिना ढिलाइ

राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति र ओटासिल प्रविधिको कालोपत्रे गर्नेगरी ०७२ मा सन्तोषी/लोहनी जेभीले जिम्मा लिएको थियो । ठेकेदार कम्पनीले दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी सम्झौता गरेपनि अझै निर्माणको काम सकिएको छैन ।


पहिलोे चरणमा काम नसकेपछि ठेकेदार कम्पनीलाई थप एक वर्षको म्याद दिइएको छ । सडकमा २४ करोड ६१ ल्ााख रुपैयाँ बिनियोजन गरी स्तरोन्नति र ओटासिलको काम भइरहेको हो । साढे चार मिटर चौडाइको सडकमा ओटासिल कालोपत्रे गरिने कार्यक्रमले जनाएको छ ।


सरकारले तोकेको अवधिभन्दा ठेकेदारले १५ महिना ढिला गरेको राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रमका प्रोजेक्ट सपोर्टर इन्जिनियर प्रवीण थापाले बताए । उनका अनुसार ज्यामिरेदेखि तल नाला बनाउन आवश्यक देखिएको छ । ओटासिल स्टमेट अनुसार गुणस्तरीय बनाउन ठेकेदारले काम गर्ने स्थानमा निगरानी गरिरहेको उनले जानकारी दिए ।


खलंगादेखि कुपिण्डे हुँदै बालुवासंग्रहीको करिव ३२ किलोमिटरमध्ये ज्यामिरेसम्म १८ किलोमिटर ओटासिल कालोपत्रे गरिने उनको भनाइ छ । 'अहिले सेरागाउँ नजिकैसम्म मात्र कालोपत्रे पुरा भएको छ,' उनले भने, 'हामीले निरन्तर ठेकेदारलाई ताकेता गरिरहेका छौं, अझै तीन किलोमिटर कालोपत्रेको काम बाँकी छ ।'


विश्व बैंकको सहयोगमा सञ्चालित कार्यक्रमका योजना यसअघि जिल्ला प्राविधिक कार्यालयले हेर्दै आइरहेको थियो । संघीय व्यवस्था कार्यान्वनका क्रममा कार्यालयको टुंगो लाग्न ढिलाइ भएपछि केही समय काममा समस्या भएको थियो । सल्यान र प्रदेश राजधानी सुर्खेत जोड्ने मुख्य सडक भएकाले सडकलाई बढी प्राथमिकतामा राखिएको पूर्वाधार विकास कार्यालय, सुर्खेतका प्रमुख इन्जिनियर कमलकुमार अधिकारीले बताए ।


उनले केहीदिनमै ज्यामिरेसम्म गर्नुपर्ने ओटासिलको काम सम्पन्न हुने जानकारी दिए । 'ठेकेदार कम्पनीले सुरुदेखि नै काममा ढिलाइ गरिरहेको थियो,' उनले भने, 'सर्वदलीय बैठकको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले अनुगमन गरी दवाव सिर्जना गरेपछि अहिले कामले तिब्रता पाएको छ ।'


सरकारले आगामी वर्षदेखि ओटासिल कालोपत्रेको काम नगर्ने भएकाले ज्यामिरेदेखि बालुवासंग्रहीसम्मको बाँकी रहेको १४ किलोमिटर सडक अहिले ग्राबेल गरिने कार्यक्रमले जनाएको छ । प्रदेश राजधानी जोड्ने सडक भएकाले सडक थप स्तरबृद्धि हुने स्थानीयको अपेक्षा छ । कार्यक्रमले कोटभिरमा पर्खाल लगाउन यस वर्ष दुई करोड रुपैयाँ बिनियोजन गरेको छ । कोटभिरमा वषर्ायामा बढी जोखिम हुने भएकाले पर्खाल लगाइ सडक चौडा बनाउन लागिएको हो ।


पूर्वाधार विकास कार्यालय, सुर्खेतका इन्जिनियर गोविन्द महतरा क्षेत्रीले सुरुवातमै ठेकेदार कम्पनीले काम सञ्चालन गर्न ढिलाइ गरेकाले समस्या भएको बताए । काम गर्ने जनशक्ती कम भएकाले पनि काममा ढिलाइ भएको उनको भनाइ छ । ठेक्काको समाप्ती हुने बेलामा ठेकेदारले केही छिटो गरेर काम देखाएको उनको भनाइ छ ।


सडक अनुगमनमा संलग्न कांग्रेस जिल्ला सभापति गणेश चन्दले प्रदेश राजधानी सुर्खेत जोड्ने सडक भएकाले छिटो भन्दा छिटो पिच गर्न आग्रह गरे । ठेकेदार कम्पनीका प्राविधिक अमुदकुमार झाले तीब्र गतिमा काम भइरहेकाले एक साताभित्रै कालोपत्रेको काम सकिने दावी गरे । खलंगा-जयतपानी-बालुवासंग्रही सडकको ट्रयाक ०५२ मा खनिएको हो ।


सशस्त्र द्वन्द्वको क्रममा १२ वर्षसम्म स्तरोन्नतिको कुनै काम हुन नसकेपछि २०६४ सालमा सडकको पुनर्निर्माण गरिएको थियो । यस वर्ष सडकको १८ किलोमिटर खण्डमा पिच र १४ किलोमिटरमा ग्राबेल गरिने कार्यक्रमले जनाएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?