योजनामा तेस्रो पक्षको अनुगमन

तुलाराम पाण्डे

कालीकोट — विकासमा हुने अनियमितता रोक्न तेस्रो पक्षमार्फत अनुगमन गराउने स्थानीय जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

खाडाचक्र नगरपालिकाको सार्वजनिक सुनुवाइमा तेस्रो पक्षको संलग्नतामा योजनाको अनुगमन गरेर प्रतिवेदनको आधारमा अन्तिम भुक्तानी दिने जनप्रतिनिधिले प्रतिबद्धता गरेका हुन् ।


जनप्रतिनिधि र सरोकारवालाले सबै वडा र उपभोक्ता समितिले नियमित सार्वजनिक सुनुवाइ गर्नेलगायत ६ बुँदामा प्रतिबद्धता जनाएका हुन् । कार्यक्रमका सहभागीले स्थानीय सरकारको अनुभूति अझै नभएको गुनासो गरे ।


सेवाप्रवाह र विकास निर्माणको कामलाई गति दिन स्थानीयले सुझाव दिएका छन् । अपांगता भएका व्यक्तिले समयमै भत्ता नपाउने गरेको खाडाचक्र-४ का हरि विश्वकर्माले गुनासो गरे । पिली-पाखा सडक निर्माणका क्रममा आफ्नो १२ मुरी धान फल्ने खेत नष्ट भए पनि क्षतिपूर्ति नपाएको खाडाचक्र-७, पिलीका आदिराम आचार्यले गुनासो पोखे ।


पिली-पाखा सडकमा दोहोरा बजेट विनियोजन गरेर डुब्लिकेसन भएको उनको दाबी छ । उनले उपभोक्ता समितिले आफ्नो क्षतिपूर्ति गायब बनाएको आरोप लगाए ।


खाडाचक्रका केही वडामा कर्णाली र तिला नदीको पानी तान्न लिफ्ट सिँचाइका लागि बजेट विनियोजन भए पनि काम हुन नसकेको, विभिन्न वडामा खानेपानी र सरसफाइको समस्या भएको सहभागीले गुनासो गरे । सहभागीले विकास बजेट न्यून खर्च भएको जनाए ।


नगरले परामर्श सेवा शीर्षकमा बजेट राखेर अधिकांश वडाले कर्मचारी भर्ना गरेको पाइएको छ । नगरपालिका सानातिना र सजिला काम गरे पनि ठूला योजनाको काम नगरेको स्थानीय मनसिंह शाहीले गुनासो गरे ।


उनले नगरले विज्ञापन बिना कर्मचारी भर्ना गरेर नगरका अन्य युवालाई अन्याय गरिएको सुनाए । उनले महिला, बालबालिका, दलित, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिसहितको लक्षित वर्गको बजेट सबै वडाका बासिन्दाले समान रूपमा पाउनुपर्ने माग गरे ।


अधिकांश काम सकिए पनि भुक्तानी दिन बाँकी रहेकाले विकास खर्च न्यून भएको प्रमुख प्रशासकीय अधिकृत काशीप्रसाद पंगेनीले बताए । खाडाचक्रले ४२ करोड २८ लाख बजेटमध्ये अहिलेसम्म २२ करोड १८ लाख रुपैयाँ खर्च गरेको उनको भनाइ छ । उनका अनुसार यस वर्ष जनप्रतिनिधिको तलबमा मात्र एक करोड ३९ लाख रुपैयाँ खर्च भएको छ ।


यस वर्षदेखि काम सकिएपछि मात्र भुक्तानी दिने नीति बनाएको नगर उपप्रमुख विजया विष्टले बताइन् । उनले सम्पन्न भएका योजनाको कडाइका साथ अनुगमन गरिरहेको जनाइन् । नगर प्रमुख जसीप्रसाद पाण्डेले स्थानीयका गुनासालाई सम्बोधन गरी सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

प्रकाशित : जेष्ठ ७, २०७६ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?