कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

१०३ ले गरे स्थायी बन्ध्याकरण

छपाल लामा

सिमकोट — ताजाकोटका धनलाल शाहीका ८ छोराछोरी छन् । जेठी पत्नीको मृत्युपछि दोस्रो बिहे गरे । परिवारमा सन्तान संख्या थपिँदै गए । सोमबार भने उनले सन्तानोत्पादन शृंखला अन्त्य गरेका छन् । ‘पत्नी भर्खरकी छन्, नकाट्ने (बन्ध्याकरण नगर्ने) हो भने त अझै कति जन्मिन्छन् भन्ने चिन्ता भयो,’ उनले स्वास्थ्यकर्मीसँग भने, ‘त्यसैले गाउँमै शिविर भएका बेला अप्रेसन गरेको हुँ ।’

धनलाल मात्र होइन, हुम्लाका गाउँमा अहिले स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या बढेको छ । विशेष गरी तल्लो भेकमा पर्ने ताजाकोट, अदानचुली, चंखेली र सर्केघाट गाउँपालिकाका पुरुष स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) तर्फ आकर्षित भएका छन् । नाम्खा, सिमकोटलगायत उत्तरी क्षेत्रमा भने अस्थायी बन्ध्याकरण प्रचलित रहेको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ ।


अदानचुली गाउँपालिकामा आइतबार आयोजित शिविरमा ७८ जनाले स्थायी बन्ध्याकरण गरे । शिविरमा संलग्न जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स मनमाया बस्नेतका अनुसार ३० जनाको लक्ष्य राखिएको थियो । ‘निर्धारित लक्ष्यभन्दा बढी व्यक्ति सेवाबाट लाभान्वित हुँदा हामी उत्साहित भएका छौं,’ उनले भनिन्, ‘यसले गाउँमा भ्यासेक्टोमी (स्थायी बन्ध्याकरण शिविर) गर्दा प्रभावकारी हुन्छ भन्ने पाठ सिकाएको छ ।’


उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयले यो वर्ष जिल्लामा १ सय ५० जनाको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेको थियो । हालसम्म १ सय ३७ जनाले स्थायी बन्ध्याकरण गराइसकेका छन् । अदानचुलीमा आयोजित शिविरमा ७८ र ताजाकोटको शिविरमा पहिलो दिन २५ जनाले बन्ध्याकरण गराए । वर्षभरि जिल्ला अस्पतालमा गएर बन्ध्याकरण गर्ने पुरुषको संख्या भने ३४ मात्र रहेको बस्नेतले बताइन् ।


हुम्ला जनसंख्या वृद्धिदर अधिक भएको जिल्लामा पर्छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत विनोद अचार्यका अनुसार समग्र कर्णाली प्रदेशको जनसंख्या वृद्धिदर वार्षिक १ दशमलव ९५ छ । उक्त दर हुम्लामा २ दशमलव २५ प्रतिशत छ । त्यस्तै, सन् २०१६ को नेपाल डेमोग्राफिक हेल्थ सर्भिस प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा प्रतिदम्पती सन्तानदर २ दशमलव ८ छ । हुम्लामा भने यो दर करिब ४ को हाराहारीमा रहेको पब्लिक हेल्थ नर्स बस्नेत बताउँछिन् ।


ताजाकोटमा सोमबार आयोजित शिविरमा बन्ध्याकरण गराएका ३० वर्षीय दलबहादुर कार्कीले पहिलेजस्तो स्थायी बन्ध्याकरण भन्नेबित्तिकै डराउने अवस्था नरहेको बताए । उनले भने, ‘गाउँका मान्छेले त नसा काट्नु (भ्यासेक्टोमी गर्नु) हुँदैन, कमजोर भइन्छ भनेर तर्साउँथे, मैले सजिलै गरेँ, कमजोरीको महसुसै भएको छैन ।’


जिल्लाको ग्रामीण क्षेत्रमा अहिले पनि स्थायी बन्ध्याकरणप्रति नकारात्मक धारणा निमिट्यान्न भइसकेको छैन । प्राय: बोझिलो कामको जिम्मेवारी पुरुषले सम्हाल्ने र बन्ध्याकरण गरेमा कमजोर भइने डर महिला-पुरुषमा देखिन्छ । ‘श्रीमतीले नै श्रीमानलाई भ्यासेक्टोमी गर्नबाट रोक्ने गरेका छन्,’ शिविरमा सहभागी नर्स सुनीता बोहोराले भनिन्, ‘यति सामान्य शल्यक्रियालाई पनि ठूलो जोखिम ठान्ने प्रवृत्तिले समस्या भएको हो ।’


यही भ्रम चिर्न जिल्ला स्वास्थ्यले गाउँ-गाउँमा स्थायी बन्ध्याकरण शिविर आयोजना गरेको थियो । यो वर्ष डा. टसी आन्जुक लामाको नेतृत्वमा ताजाकोट र अदानचुलीमा शिविर आयोजना गरिएको हो ।


प्रशिक्षार्थी

प्रकाशित : जेष्ठ ८, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?