कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विद्यालयको आँगनबाटै सडक

विप्लव महर्जन

सल्यान — तुलसीपुर-कालीमाटी हुँदै सुर्खेत जोड्ने सडक निर्माणका क्रममा विद्यालयको बीच भागबाटै खनिएको छ । योसँगै विद्यालय भवन उच्च जोखिममा परेको छ । कालीमाटी गाउँपालिका ४, धामस्थित जनसेवा माविको बीच आँगनबाटै सडक खनिएको हो ।

विद्यालयको आँगनबाटै सडक

कालिका कन्स्ट्रक्सनले विद्यालय बीचबाटै सडक खनेपछि पठनपाठन प्रभावित भएको छ । दैनिक चल्ने गाडीका कारण पठनपाठन प्रभावित भएको प्रधानाध्यापक डम्मरबहादुर थापा बताउँछन् । उनका अनुसार धूलोले सबैको स्वास्थ्यमा असर पारेको छ ।


‘गाडीको आवाजले बालबालिकाको ध्यान अन्यत्र मोडिने गरेको छ,’ उनले भने, ‘ठूला गाडी आउजाउ गर्दा भवन पनि जोखिममा परेको छ ।’


विद्यालयको चौरको बीचबाटै १० मिटरको सडक खनिएको प्रधानाध्यापक थापाको भनाइ छ । ‘हामीले विद्यालय हाताभित्रबाट सडक खन्न दिएका थिएनौं,’ उनले भने, ‘ठेकेदारले आफ्नो सजिलोका लागि जबरजस्ती खने ।’


उनले विद्यालय भवन भत्काएर भए पनि सडक खन्न दबाब दिइएको गुनासो गरे । उनका अनुसार अभिभावकले समेत सडक खन्न नदिन बिरोध गरेका थिए ।


४ सय ५० विद्यार्थी अध्ययनरत विद्यालयमा ६ भवन छन् । नियमित मालबाहक तथा यात्रुबाहक ठूला गाडीका कारण जमिन थर्कदा भवन जोखिममा परेको विद्यालयका लेखापाल ईश्वरी भट्टराई बताउँछन् । सडकको तल्लो र माथिल्लो दुवै भागमा विद्यालय भवन छन् ।


विद्यालयदेखि करिव ५ सय मिटर टाढाको खोलामा रहेको पक्की पुल माथिबाट हुँदै सडक निर्माण गर्न ठेकेदार कम्पनीलाई अनुरोध गरिएको भट्टराईले जनाए । वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेलबहादुर चन्दले विद्यालयलाई विभिन्न

जोखिमबाट बचाउन ठेकेदार कम्पनी र कालीमाटी गाउँपालिकासँग छलफल भइरहेको बताए ।


उनले विद्यालयको बीच भागबाटै खनिएको सडकका कारण बालबालिका समस्यामा परेको स्वीकारे । उनका अनुसार विद्यालयको हाताभन्दा बाहिर पर्ने पुलको माथिल्लो भागबाट सडक खोल्नेगरी आवश्यक प्रक्रिया सुरु गरिएको छ । उनले सम्बन्धित निकायलाई नयाँ सर्भे गर्न आग्रह गरिएको बताए ।


तुलसीपुरबाट कोहलपुर हुँदै सुर्खेत जाने अहिलेको सडक लामो भएकाले दूरी कम गर्न सडक डिभिजन कार्यालय, दाङले निर्माण थालेको हो । तुलसीपुर-कोहलपुर हुँदै सुर्खेत जानुभन्दा तुलसीपुर-कालीमाटी-बोटेचौर भएर जाँदा ५२ किमि फरक पर्ने कार्यालयकी इन्जिनियर क्षितिज पोखरेल बताउँछिन् ।


सुर्खेत क्षेत्रको काम पूरा भइसकेको उनको भनाइ छ । उनका अनुसार तुलसीपुर-कालीमाटी र सुर्खेतको सीमासम्म ५० प्रतिशत काम पूरा भएको छ । २०७२ देखि सञ्चालित सडक आयोजनाका लागि डिभिजन कार्यालयले ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?