अझै भेटिएनन् चन्दननाथका मूर्ति

एलपी देवकोटा

जुम्ला — चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ मंसिर १२ गते खलंगा बजारस्थित चन्दननाथ मन्दिरबाट ऐतिहासिक महत्त्वका मूर्ति चोरी भएका थिए । ६०१ सालदेखिका मूर्ति चोरी भएको चन्दननाथ-भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरबाट मुख्य दत्तात्रयलगायत २१ थान मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै १ महिनासम्म स्थानीयले दैनिकजसो प्रशासन घेराउलगायत विभिन्न विरोधका कार्यक्रम सञ्चालन गरेका थिए । तत्कालीन प्रहरी महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले जुम्ला पुगेर मूर्ति चोरीबारे अनुसन्धान गरेको थियो ।


तर, अहिलेसम्म पनि प्रहरीले अनुसन्धानको नतिजा ल्याउन सकेको छैन । मूर्ति नभेटिँदासम्म अनुसन्धान जारी रहने जिल्ला प्रहरी प्रमुख सीताराम रिजालले बताए । ‘कोहलपुरमा शंख फेला परेपछि पहिचानका लागि जुम्लामा ल्याएर गुठी व्यवस्थापन समितिलाई देखाएका थियौं,’ उनले भने, ‘अहिले कोहलपुर पठाइसकेका छौं ।’ उनले केन्द्रबाटै यसबारे अनुसन्धान भइरहेको जनाए ।


बेवारिसे मूर्ति

मन्दिरबाट चोरी भएका मूर्तिमध्ये केही मूर्ति बेवारिसे अवस्थामा फेला परेका थिए । गुठीचौर गाउँपालिकाको देपालगाउँस्थित रोकायावाडा र वडारासडाको बीच बाटोमा १४ मूर्ति र दुई शंख फेला परेका थिए ।


दाउरा ल्याउन घर नजिकैको जंगल जाँदै गर्दा बाटोमा बेवारिसे अवस्थामा मूर्ति फालिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चोरीको एक महिनापछि चन्दननाथका मूर्ति बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


चोरी भएकामध्ये कृष्ण बालगोपाल भएको पित्तलको, गौतमबुद्ध, सरस्वती, बालगोपाल, बुद्धको सानो मूर्तिर्, मुकुट, पदमासनमा बसेको पगरी गुथेको पित्तलको राजाको मूर्ति फेला परेको थियो ।


त्यस्तै पित्तलको गणेश भगवान्, पित्तलको ठूलो बुद्ध मूर्ति, पित्तलको बुद्धको सानो मूर्ति, पित्तलको बुद्धले ध्यान गरेको मूर्ति, पित्तलकै भगवती, बालगोपालको मुरली समातेको र पत्थरको हनुमानको मूर्ति फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेवारिसे अवस्थामा माटाको भगवतीको मूर्ति र दुई बायाँ शंख फेला परेका थिए ।


नयाँ मूर्ति प्रतिस्थापन

मन्दिरमा २७ घण्टा लगातार पूजापछि दत्रात्तयको नयाँ मूर्ति प्रतिस्थापन गरिएको थियो । मन्दिरमा २७ घण्टे अखण्ड हवन पूजा गरेपछि नयाँ मूर्ति राखिएको छ ।


२०७३ मंसिर १० गते मन्दिरका सबै मूर्ति चोरीपछि यति लामो पूजा नभएको चन्दननाथ-भैरवनाथ गुठी व्यवस्थापन समितिले जनाएको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलसहित भक्तजनले विशेष पूजा गरी नयाँ मूर्ति प्रतिस्थापन गरेका थिए ।


मूर्ति चोरी भएको १ वर्षपछि भारतको देहरादुनबाट भवानी गिरी महाराजले ल्याएको मूर्ति प्रतिस्थापन गरिएको गुठी व्यवस्थापन समिति सचिव रमानन्द आचार्यले बताए ।


‘मन्दिरबाट चोरी भएका केही मूर्तिहरू बेवारिसे अवस्थामा फेला परे पनि मुख्य दत्तात्रयको मूर्ति अझै फेला परेको छैन,’ उनले भने, ‘मुख्य मूर्तिबिनै मन्दिरमा पूजाआजा गरिँदै आएको छ, पछि पुरानो मूर्ति भेटिए त्यसलाई नै राख्ने सर्तमा नयाँ मूर्ति प्रतिस्थापन गरिएको हो ।’


भेटिएनन् मूर्ति चोर

सदरमुकाम खलंगाबाटै चोरी भएका मूर्तिमध्ये केही बेवारिसे अवस्थामा फेला परे पनि चोर भने अझै पक्राउ परेका छैनन् । तत्कालीन समयमा मन्दिरका पुजारी र स्थानीय जयकृष्ण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा दर्ता गराएको थियो ।


उनीहरूलाई जिल्ला अदालतले दोषी ठहर गर्दै दुई वर्ष कैदको फैसला सुनाएको थियो । उनीहरूले कैद भुक्तान गरिसकेका छन् । पूरै मूर्ति नभेटिँदासम्म अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।


मन्दिरमा सीसीक्यामेरा

चोरी हुनु पहिले एकमात्रै प्रहरी जवान बस्ने मन्दिरको सुरक्षाका लागि प्रहरी पोस्ट स्थापना गरिएको छ । मन्दिरमा ५ प्रहरीले चौबीसै घण्टा सुरक्षा दिने गरेका छन् । मन्दिरलाई अहिले सीसीक्यामेराको निगारानीमा राखिएको स्थानीय प्रशासनले जनाएको छ । प्रशासनका अनुसार मन्दिर आसपासमा ८ वटा सीसीक्यामेरा राखी सुरक्षा निगरानी बढाइएको हो ।


अहिले ५ वटा सीसीक्यामेरा चालु रहेको व्यवस्थापन समिति कर्मचारी रत्नप्रसाद आचार्यले बताए । विद्युत् समस्याका कारणले राति क्यामराले काम गर्ने नगरेको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ८, २०७६ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?