कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अतिथि गृह बेवारिसे

एलपी देवकोटा

जुम्ला — सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको अतिथि गृह भवन बेवारिसे बनेको छ । जिल्लामा आउने सरकारी अतिथिका लागि निर्माण गरिएको अतिथि गृह संरक्षण अभावमा बेवारिसे बन्दै गएको हो ।

साबिक जिल्ला प्राविधिक कार्यालयले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा भवन बनेको थियो ।


टुँडिखेलनजिकै कभर्डहल बन्नुअघि निर्माण भएको वर्षौं बित्दा पनि प्रयोगमा आउन सकेको छैन । निर्माण सम्पन्न भइसकेको अतिथि गृहको स्वामित्व जिल्ला समन्वय समितिले ग्रहण नगर्दा अलपत्र परेको हो । प्रयोगविहीन भवन अहिले खुला शौचालयमा परिणत भएको छ । बाहिरबाट हेर्दा भवन आकर्षक देखिन्छ ।


तर, भित्र जाँदा दुर्गन्धले पस्नै सकिँदैन । भवनभित्रका सबै कोठामा शौच देखिने गरेको स्थानीय नन्दराम जैशी बताउँछन् । ‘भवन सबैको पहुँच र पायक पर्ने स्थानमा भएकाले अधिकांश नागरिक खुला शौच गर्न भवनभित्रै पस्ने गर्छन्,’ उनले भने, ‘संरक्षण नहुँदा सरकारी लगानी खेर गएको छ ।’


भवनभित्र र बाहिरका सबै झ्यालका सिसा फुटाइएको छ । वाइरिङ गरिएका विद्युत्का तार चोरी भइसकेका छन् । स्थानीय रमेश नेपालीका अनुसार भवन लागूऔषध सेवन गर्ने युवाको भेट्ने थलो बनेको छ ।


करोडौंमा निर्माण भएको सरकारी अतिथि गृह दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार सरकारी अधिकारीको लापरबाहीले भवन सदुपयोग हुन सकेको छैन । यसलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिएरसमेत सरकारी आम्दानी बढाउन सकिने स्थानीय बरमबहादुर महतले बताए । उनका अनुसार भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।


साबिक जिल्ला प्राविधिक कार्यालयले निर्माण गरेको भवनको जमिन भने समन्वय समितिकै हो । अहिले निर्माणको जिम्मा लिएको कार्यालय खारेज भइसकेकाले स्वामित्व हस्तान्तरणमा अन्योल भएको जिससका जनप्रतिनिधिको भनाइ छ ।


भवन निर्माण गरेको ठेकेदार कम्पनीले पटकपटक भवन बुझिदिन अनुरोध गरे पनि जिससका अधिकारीले मानेका छैनन् । जिसस उपप्रमुख कार्मा बुढाले समितिलाई भवन हस्तान्तरण नभएको बताए । ‘भवन लथालिंग भएकाले प्रयोगमा ल्याउन सकिएको छैन,’ उनले भने, ‘यस विषयमा सरोकारवालासँग आवश्यक छलफल गरी निर्णय गरिनेछ ।’

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?