कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चौथो अधिवेशन सुरु : बजेट र विकासबारे असन्तुष्टि

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको सुरुमै बजेट कार्यान्वयन नभएकोप्रति चिन्ता व्यक्त गरिएको छ । बैठकमा बोल्ने सांसदले बजेट कार्यान्वयन नहुँदा विकास अवरुद्ध भएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले करिब २० मिनेट लामो

आफ्नो मन्तव्यमा कर्णाली सरकारले चालु आवमा ल्याएको बजेट, विकास योजना र कार्यान्वयनको गतिलाई व्यङयात्मक शैलीमा असफलताको फेहरिस्त सुनाए । ‘हामी २८ अंकका अनुयायी हौं,’ उनले भने, ‘तर ती अंकभित्र देखिएका विकास सपनाको अवस्था के छ ?’ कर्णाली प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको र बजेट कार्यान्वयनमा असफलता देखिएकोप्रति उनको कटाक्ष थियो ।


नेता शाहीले कर्णालीमा सुविधासम्पन्न हाइटेक नर्सरी स्थापना गर्न कृषिमन्त्रीसँग छलफल गरी बजेटबारे समेत टुंगो लगाएको भए पनि अन्ततः शक्तिका भरमा काम भएको आरोप लगाए । ‘गाडी नपुगेको ठाउँमा १ करोडले हाइटेक नर्सरी बनाउन पुग्दैन भनेर भनेकै हो,’ उनले भने, ‘काम भएन भने बजेट फिर्ता गर्ने भनी वचन पनि दिएका थियौँ, तर ८४ लाख मात्रै बजेट आएछ ।’


नेता शाहीले सार्वजनिक लेखा समितिले कसैलाई दोष नलगाएको भन्दै सरकारले जवाफ नदिएकोप्रति असन्तुष्टि जनाए । ‘सार्वजनिक लेखा समितिलाई हेपियो,’ उनले भने, ‘सरकारले कानमा तेल हालेर बस्यो, जवाफ त दिनुपर्ने हो नि ?’ डीपीआरमा पनि करोडौँको खेल भएको कुरा सुन्नमा आएको भन्दै उनले सार्वजनिक लेखा समितिले यसप्रति चासो हुनुपर्ने बताए ।


नेकपा सांसद यामलाल कँडेलले सरकार जनताका न्यूनतम आवश्यकतालाई समेत पूरा गर्न चुकेको उल्लेख गरे । सरकार माननीयलाई भुलाउनतर्फ लागेको भन्दै उनले जनताले औँला ठड्याउने अवस्थामा सरकार पुगेको बताए । सत्तापक्ष र प्रतिपक्षबीच जुहारी खेल्नुभन्दा आगामी बजेटका विषयमा संसदमा छलफल हुनुपर्ने उनको भनाइ छ ।


चालु आवको बजेट कार्यान्वयनको सुस्ततालाई मध्यनजर गर्दै सरकारले आगामी बजेट र योजना बनाउनुपर्ने उनले बताए । ‘सबै माननीयलाई खुसी बनाउने नाममा फेरि पनि बजेटमा चलखेल हुन थालेको छ,’ उनले भने, ‘यसपटकको बजेट संसदमा छलफलको विषय बन्नुपर्छ, जनताको आकांक्षालाई मध्यनजर गर्दै अघि बढ्नुपर्छ ।’


सांसद कँडेलले संसद राजनीतिक थलो पनि भएको भन्दै पदका दृष्टिकोणले फरक फरक स्थानामा भए पनि जनतासँग गरेका प्रतिबद्धता पुरा गर्ने सबैको साझा जिम्मेवारी भएको बताए । ‘नेकपाका लागि विकल्प छैन,’ उनले भने, ‘जनआकांक्षाबमोजिम काम नभएका भनेर नेकपाले स्वीकार गर्नैपर्छ ।’ घटना र विषयमा छलफल गर्ने गरी

अगाडि बढेमा धेरै विवादको परिस्थिति नआउने सांसद कँडेलको भनाइ छ ।


राप्रपा सांसद सोशिला शाहीले सरकारको यही कामले जनताका समस्या जस्ताको त्यस्तै हुने बताइन् । बजेट कार्यान्वयन गर्न नसक्दा सरकार असफलतातर्फ धकेलिएको उनको भनाइ छ । सरकारको कामले गर्दा जनतामा निराशा छाएको भन्दै उनले आफ्ना कार्यकर्तालाई नियमविपरीत योजना वितरण गर्न सरकार लागि परेको आरोप पनि लगाईन् । चौथो अधिवेशनको दोस्रो बैठक सोमबार दिउँसो ३ बजे तोकिएको छ ।


–चाँदनी कठायत

प्रकाशित : जेष्ठ ११, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?