कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

सिँचाइ योजना अलपत्र

सल्यान — कुमाख गाउँपालिकाको स्विकोटमा २६ वर्षअघि निर्माण गरिएको खारखोला सिँचाइ योजना अलपत्र परेको छ । योजना अलपत्र परेपछि खेतीयोग्य जमिन पाखो बारीमा परिणत भएको छ । योजनाको केही भाग बाढीले बगाएको छ भने केही भाग पुरिएको छ ।

स्थानीय टोटरे खोलाबाट पानी ल्याएर गाउँसम्म सिँचाइ सुविधा पुर्‍याइएको थियो । सिँचाइ कुलो पुरिए पनि मर्मतमा सरकारी निकायले ध्यान नदिँदा वर्षौदेखि धान खेती गर्न नपाएको कृषकको गुनासो छ ।


योजनामार्फत ३ सय रोपनीमा सिँचाइ सुविधा पुगेको थियो । कुलो पुरिएपछि ४० घरधुरी प्रभावित भएका छन् । सिँचाइ अभावमा गाउँमा धान खेती नहुँदा बाहिरको चामल उपभोग गर्नुपर्ने बाध्यता छ । सिचाइ सुविधा भए वर्षमा ३ बाली लगाउन सकिने जग्गामा मकै र गहुँ मात्र खेती गर्ने गरिएको किसानको गुनासो छ ।


सिँचाइ अभावमा वर्षेनि अन्न उत्पादन घटदै गएको स्थानीय दिलबहादुर बुढा बताउँछन् । उनले वर्षेनि उत्पादन घटदै जाँदा बाहिरको खाद्यान्न खरिद गर्नुपर्ने बाध्यता रहेको जनाए । वर्षभरि खान नपुग्दा किसानलाई रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता भएको उनले गुनासो गरे ।


‘सिँचाइ अभावमा जग्गा बाँझिने क्रम बढदै गइरहेको छ,’ उनले भने, ‘सिँचाइ सुविधा भएको भए गाउँका सबै घरधुरीलाई वर्षभरि खान पुग्थ्यो ।’ २०४६ मा सिँचाइ डिभिजन कार्यालयले ५० हजार रुपैयाँ विनियोजन गरी सिँचाइ योजना सम्पन्न गरेको थियो । स्थानीय गोरे बुढाका अनुसार ४ किमिको कुलोको अधिकांश भाग पुरिएको छ ।


राजनीतिक पहुँच नहुँदा आफूहरू वर्षौंदेखि उपेक्षामा परेको उनको गुनासो छ । उनको ४० रोपनी छ । ‘सिँचाइ सुविधा नभएपछि सबै जग्गामा पाखे अन्नमात्र उत्पादन गर्ने गरेको छु,’ उनले भने, ‘उत्पादन घटदै गइरहेको छ ।’ उनका अनुसार स्थानीय सरकारले समेत योजना मर्मतमा ध्यान दिएको छैन ।


२३ रोपनी भएका असारे बुढाले अधिकांश सर्वसाधारण बर्खामा मात्र बाली लगाउनुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार गाउँभरिको सबै जग्गा आकाशे पानीको भरमा छ । आफ्नै उत्पादनले खान नपुग्दा गाउँका अधिकांश युवा रोजगारीका लागि भारत र खाडी मुलुक जान बाध्य भएको उनले गुनासो गरे ।


‘अरु गाउँमा अरु नै समस्या होला, हाम्रो पहिलो विकासको माग सिँचाइ हो,’ उनले भने, विभिन्न निकायमा पटकपटक सिँचाइको माग गर्दै आइरहेका छौं, सबैतिरबाट बेवास्ता भइरहेको छ ।’ उनले सिँचाइ सुविधा भए तरकारी खेती गरेर पनि परिवारको लालनपालन गर्न सकिने जनाए ।

प्रकाशित : जेष्ठ १२, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?