कर्णालीमा १० प्रतिशत दक्ष जनशक्ति बेरोजगार

कृष्णप्रसाद गौतम

सुर्खेत — कर्णाली प्रदेशमा करिब १० प्रतिशत बेरोजगार रहेको राष्ट्रिय सर्वेक्षणले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको नेपाल श्रमशक्ति सर्वेक्षण (तेस्रो) अनुसार ९ दशमलव ७ प्रतिशत योग्य जनशक्ति बेरोजगार रहेको पाइएको हो । जसमध्ये ११ दशमलव ७ प्रतिशत पुरुष र ६ प्रतिशत महिला बेरोजगार छन् । 

विभागले मंगलबार वीरेन्द्रनगरमा सार्वजनिक गरेको तथ्यांकअनुसार कर्णालीको सहरी क्षेत्रमा करिब ८ प्रतिशत र ग्रामीण क्षेत्रमा १२ दशमलव ६ प्रतिशत बेरोजगारी देखिएको छ । विभागको घरधुरी सर्वेक्षण शाखा प्रमुख अम्बिकाप्रसाद बस्यालका अनुसार नेपालको बेरोजगारी दर ११ दशमलव ४ प्रतिशत रहेकोमा कर्णालीको दर राष्ट्रिय अनुपातमा सन्तोषजक देखिएको छ ।


उनका अनुसार विभागले गत असारदेखि चालु आर्थिक वर्षको जेठसम्म १८ हजार घरधुरीमा रोजगारीबारे विस्तृत सर्वेक्षण गरेको थियो । विभागका अनुसार कर्णालीमा १५ वर्षभन्दा माथिल्लो उमेरको ३१ हजार जनसंख्या बेरोजार छ । बेरोजगारमध्ये १५ हजार सहरी र १६ हजार ग्रामीण क्षेत्रमा रहेको पाइएको छ ।


‘यस पटकको सर्भेक्षणमा अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम तथ्यांक विज्ञहरूको १९ औं सम्मेलनबाट पारित गरेको तथ्यांकसम्बन्धी अवधारणा संलग्न गरिएको छ,’ विभाग प्रमुख बस्यालले भने, ‘यो सर्वेक्षणमा रोजगारसम्बन्धी विवरणका लागि गणनाको ७ दिनलाई सन्दर्भ अवधि मानिएको छ ।’


कर्णालीमा श्रमशक्ति सहभागिता दर साढे २७ प्रतिशत रहेको विभागले जनाएको छ । सर्वेक्षणअनुसार त्यसमध्ये ४२ दशमलव ८ प्रतिशत पुरुष र महिला १६ दशमलव ४ प्रतिशत छन् । तथ्यांक अधिकृत लक्ष्मण कँडेलका अनुसार बेरोजगारी संख्या सबैभन्दा बढी प्रदेश २ मा २० दशमलव १ प्रतिशत र सबैभन्दा कम प्रदेश ३ मा ७ प्रतिशत देखिएको छ । उनले बेरोजगारअन्तर्गत सीप तथा योग्यता भए पनि रोजगारीमा नरहेका व्यक्तिलाई लिइएको जानकारी दिए ।


‘आफ्नै परिवारले उत्पादन गरेको वस्तु आफैं उपभोग गर्ने व्यक्तिलाई रोजगारीमा नरहेको मानिएको छ,’ तथ्यांक अधिकृत कँडेलले भने, ‘निश्चित रकम लिएर श्रम गर्ने र स्वरोजगार भएकालाई रोजगारीको तथ्यांकमा समेटिएको छ ।’ कर्णालीमा मुख्य काममा अक्सर काम गर्ने समय सातामा ४६ घण्टा रहेको सर्वेक्षणले औंल्याएको छ । त्यसमध्ये प्रदेशमा पुरुषको साप्ताहिक श्रम ४८ र महिलाको ४२ घण्टा रहेको देखिएको छ ।


केही मानकमा राष्ट्रिय अनुपातलाई कर्णालीले उछिनेको छ । कर्णालीमा औपचारिक रोजगारीमा साढे ४५ र अनौपचारिक रोजगारीमा साढे ५४ प्रतिशत जनसंख्या रहेको विभागको भनाइ छ । नेपालमा रोजगारीमा

रहेकाले औसत ज्याला १७ हजार ८ सय ९ रुपैयाँ पाउने गरेकोमा कर्णालीमा प्रतिव्यक्ति १९ हजार ९ सय ६९ रुपैयाँ छ ।


विभागका तथ्यांक अधिकृत विजयराज सिजापतीले कर्णालीमा पुरुषको औसत मासिक आम्दानी २१ हजार २ सय १३ र महिलाको १५ हजार ६ सय ८५ रुपैयाँ रहेको सर्वेक्षणले देखाएको जानकारी दिए ।


विभागको घरपरिवार सर्वेक्षण शाखाका अनुसार कर्णालीमा १ सय पुरुषको अनुपातमा १ सय ३९ महिला रहेको पाइएको छ । ‘वैदेशिक रोजगारीमा धेरै पुरुष गएकाले महिलाको संख्या बढी भएको हो,’ तथ्यांक अधिकृत सिजापतीले भने, ‘त्यसैले कर्णालीमा अरू सबै रोजगारीमा पुरुष दर बढी हुँदा कृषि क्षेत्रमा महिलाको संख्या उच्च छ ।’


कर्णालीका कृषि क्षेत्रमा १६ दशमलब ७, व्यापारमा १८ दशमलव २, निर्माणमा १५ र वैदेशिक रोजगारीमा साढे २१ प्रतिशत रोजगारीमा संलग्न भएको देखिएको विभागले जनाएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?