३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सेनाले बनायो ‘पिकनिक स्पट’

भीमबहादुर सिंह

जाजरकोट — नेपाली सेनाले भेरी नगरपालिका ४, रानागाउस्थित बीपी वाटिकामा ‘पिकनिक स्पट’ निर्माण गरेको छ । सेनाको जाजरकोटस्थित ज्वालादल गण, मालिका ब्यारेकले ६ लाख रुपैयाँमा ‘स्पट’ बनाएको हो ।

बीपी वाटिका क्षेत्रमा १० मिटर लम्बाइ/चौडाइको ट्रस्ट भवन, शौचालय, हजार लिटरको पानी ट्यांकी र खाने धारासहितको ‘पिकनिक स्पट’ निर्माण गरेको हो । सेनाले निर्माण पूरा गरेको उक्त ‘पिकनिक स्पट’ भेरी नगरपालिकालाई शुक्रबार हस्तान्तरण गरिएको छ । ज्वालादल गणका निमित्त गणपति सेनानी दिनेश खडकाले नवनिर्मित ‘स्पट’ को साँचो नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई बुझाएका छन् ।


‘पिकनिक स्पट’ को गत फागुन पहिलो सातादेखि निर्माण आरम्भ गरिएको गणले जनाएको छ । सेनाको ‘क्विक इम्प्याक्ट प्रोग्राम’ बाट २ लाख, भेरी नगरपालिकाको १ लाख र गण परिवारको श्रमदानबाट ३ लाख गरी ६ लाखको लागतमा उक्त स्थल निर्माण भएको निमित्त गणपति खडकाले बताए ।


नेपाली सेनाले ‘जनतासँग सेना’ नारासहित यस्ता पूर्वाधार निर्माणका कार्य गर्दै आएको उनको भनाइ छ । ‘यसअघि पनि विद्यालय र सार्वजनिक स्थलमा शौचालय, बाटोलगायत पूर्वाधार निर्माणका काम गरेका छौं,’ उनले भने, ‘निर्माण सुरु भएको ३ महिनामा ‘पिकनिक स्पट’ को काम सकिएको हो ।’


सेनाले निर्माण गरेका पूर्वाधार गुस्तरीय भएको नगरप्रमुख घर्तीले बताए । स्थानीय तहमा उपभोक्ता समितिले बनाएका योजनामध्ये अधिकांश गुणस्तरहीन हुने गरेको उनको भनाइ छ । ‘सेनाले कम लगानीमा दिगो प्रतिफल आउने कार्य गर्दै आएको छ,’ उनले भने, ‘त्यसैले विश्वमा नेपाली सेनाको छवि उच्च छ ।’


बीपी वाटिकामा ‘पिकनिक स्पट’ बनाएपछि खलंगा बजारमा रहेको वनभोजस्थलको खाँचो टरेको उनले जनाए । ‘पिकनिक स्पट’ ले स्थानीय पर्यटनलाई समेत प्रबर्द्धन गरेको उनी बताउँछन् । स्पटको थप व्यवस्थापनको जिम्मा नगरले लिने घर्तीले जानकारी दिए ।


‘नवनिर्मित ‘पिकनिक स्पट’ मा बगैंचा, वृक्षारोपन, भ्युप्वाइन्ट निर्माणलगायत काम नगरपालिकाले आगामी वर्ष गर्नेछ,’ उनले भने, ‘सेनाले निर्माण गरेको संरचनाको संरक्षण गरी थप पूर्वाधार विकास गरेर पर्यटकीय गन्तव्य बनाउने हाम्रो योजना छ ।’

प्रकाशित : जेष्ठ १८, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?