बजेट सक्न भ्याइनभ्याई

राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिका २, चैन गाउँका बासिन्दालाई अहिले छायानाथ मन्दिर निर्माण गर्न भ्याइनभ्याई छ । खेतीपाती छोडेर सर्वसाधारण मन्दिर निर्माण खटिएका छन् । नगरसभाबाट करिब ११ महिनाअघि पारित नगरपालिकाको भवन निर्माण पनि बल्ल सुरु भएको छ । करिब ३३ लाख रुपैयाँ विनियोजन गरिएको भवन निर्माण डेढ महिनामै सक्ने नगरपालिकाको योजना छ । 

बजेट सक्न भ्याइनभ्याई

यी दुई उदाहरण मात्र हुन्, जिल्लाका अधिकांश स्थानीय तहलाई अहिले चालु आवको बजेट सक्ने चटारो छ । आर्थिक वर्ष सुरु भएको ११ महिनामा पूरा भइसक्नुपर्ने मन्दिर निर्माण ढिलो गरी सुरु भएपछि स्थानीयलाई कामको चटारो बढेको हो । मन्दिर निर्माणका लागि ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ । अहिले मन्दिरको जग हाल्ने र पिलर उठाउने काम सुरु भएको छ ।


गमगढीस्थित अदालतचोकदेखि बागबजारसम्मको सडक निर्माणको काम सुरु भएको पनि महिनादिन पुगेको छैन । उपभोक्ता समिति गठन गरी सडक खन्ने, तारजाली भर्नेलगायत काममा स्थानीय बासिन्दा बिहानदेखि साँझ अबेरसम्मै व्यस्त छन् । साना योजना सम्पन्न गर्न उपभोक्तालाई चटारो हुँदा सबैभन्दा ठूलो योजनाका रूपमा अघि सारेको गमगढी–बालै–पिना–राताचौर सडकको काम अझै सुरु हुन नसकेको नगरपालिकाले जनाएको छ ।


सडक निर्माणमा १ करोड ७० लाख छुट्याइएको छ । टेन्डर खोल्ने काम भइसकेकाले ठेक्का सम्झौता हुनेबित्तिकै निर्माण सुरु गरिने इन्जिनियर महेश कडायतले बताए । नगरभित्रका ग्रामीण सडक निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । करिब ७० लाख रुपैयाँ विनियोजन गरिएको गमगढी बसपार्कको निर्माणको काम पनि विभिन्न कारणले सुरु नभएको उनको भनाइ छ । उनका अनुसार उपभोक्ता समिति गठनमा विवाद हुँदा काम सुरु नभएको हो ।


छायानाथ–रारा नगरपालिका १ मा अहिलेसम्म कुनै पनि योजना सम्झौता भएका छैनन् । अहिलेसम्म वडा १२ मा ५ लाखको सहिद प्रतीक्षालय र १ लाखको स्कुल घेराबार गर्ने काम सकिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार बाँकी ठूला बजेटका ६ योजनामा उपभोक्ता समिति गठन र सम्झौताको काम सुरु गरिएको वडाध्यक्ष सुवास बुढाले बताए । उनका अनुसार जिल्ला समन्वय समितिपछाडि नयाँ पर्खाल बनाउने काम भर्खरै सुरु गरिएको छ । करिब ४५ लाख रुपैयाँको योजना ठेक्कामा दिएर काम सुरु गरेको उनले जानकारी दिए ।


बजेट फ्रिज जाने योजनाको निर्माण छिटो सक्नेगरी काम धमाधम अगाडि बढाइएको नगर प्रमुख हरिजंग शाहीले बताए । उनका अनुसार आगामी वर्षको कार्यक्रम तर्जुमा गर्नसमेत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । उनले १४ वटै वडामा विकास निर्माणलाई तीव्रता दिइएको जनाए ।


सोरु गाउँपालिकाले पनि चालु आवका अधिकांश योजना अधुरै रहेको जनाएको छ । स्थानीय बासिन्दा विभिन्न विकास निर्माणको काम पूरा गर्न व्यस्त बनेका छन् । मुगमकार्मारोङ गाउँपालिकाले यार्सा टिप्ने मौसम सुरु भएको भन्दै विकास–निर्माणका काम केही समयका लागि बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत विकास शर्मा रिजालले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?