संरक्षणको पर्खाइमा पञ्चदेवल

एलपी देवकोटा

जुम्ला — चन्दननाथ नगरपालिका ७, मिचा गाउँस्थित पञ्चदेवल संरक्षणको पर्खाइमा छ । सरकारी निकायको वर्षौदेखिको वेवास्ताले पञ्चदेवल अलपत्र परेको हो । 

संरक्षणको पर्खाइमा पञ्चदेवल

ऐतिहासिक र पौराणिक महत्त्वको पञ्चदेवलको संरक्षण नहुँदा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नसकिएको स्थानीयको गुनासो छ । पाँचभाइ पाण्डव वनबास जाँदा मिचा गाउँमा बसेको किवंदन्ती छ । तत्कालीन टाकुरे राजा हितुचितु रावलको पालामा पञ्चदेवल निर्माण गरिएको शिलालेखमा उल्लेख छ ।


पञ्चदेवल १४०४ सालमा निर्माण गरिएको एउटा देवलमा लेखिएको छ । २०४८ साल सम्म गाउँमा देवल छ भन्ने कसैलाई थाहा नभएको स्थानीय कल रावलले वताए । ‘पहिले ढुंगाको टुप्पा मात्रै देखिन्थे,’ उनले भने, ‘मुनितिर के छ भनि खन्दै जाँदा देवल भेटिए । त्यस वेलासम्म देवल माटोमा पुरिएका थिए ।’


नगरपालिकाभित्रै रहेको पञ्चदेवलको संरक्षण हुन नसकेको स्थानीय गोवी रावलले बताए । आर्थिक समस्याका कारण स्थानीयले संरक्षणमा ध्यान दिन नसकेको उनको भनाइ छ । ‘यसको प्रचारप्रसार नहुँदा पर्यटकको आकर्षण बढाउन सकिएको छैन,’ उनले भने, ‘पदमार्ग नहुँदा पर्यटकलाई आउन समस्या छ । घेरावार नहुँदा पशुचौपाया जथाभावी पस्ने गरेका छन् ।’


पुरातात्त्विक देवल भएकाले यसको संरक्षणमा पुरातत्त्व विभागले चासो दिनुपर्ने स्थानीय चेतन रावलले वताए । ‘पञ्चदेवलनजिकै नाउलो अर्थात् पानी आउने मूल पनि छ,’ उनले भने, ‘थप उत्खनन् गरी गाउँमा धेरै देवल हुनसक्ने हाम्रो अनुमान छ ।’ उनले गाउँको माथि डाँडामा गुफासमेत भएकाले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको जनाए ।


पाण्डवहरू गुफामा बस्ने गरेको र सुरुङ मार्गको बाटो भएर देवल वनाउन गाउँमा आएको किंवदन्ती उनले सुनाए । देवलका साथै आसपासका क्षेत्रको उत्खनन् गरी प्रचारप्रसार गर्न उनले सरकारी निकायमा माग गरे पनि बेवास्ता भइरहेको जनाए ।


पञ्चदेवल नजिकै कुवा छ । त्यसको पानी आसपासका घरधुरीले उपयोग गर्दै आइरहेका छन् । स्थानीय हिक्मत केसीले सदरमुकाम खलंगा नजिकैको सांस्कृतिक सम्पदा भए पनि वर्षौंदेखि बेवास्तामा रहेको गुनासो गरे । स्थानीय सरकारको समेत ध्यान जान नसक्दा देवल अलपत्र परेको उनी बताउँछन् ।


उनले देवलमा बेला बेलामा सरसफाइ कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिए । गाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरे युवाले रोजगारी पाउने र ऐतिहासिक सम्पदाको संरक्षण हुने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २२, २०७६ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?