२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

महिलाका हातमा साबेल र बेल्चा

विकास निर्माणका लागि महिला र पुरुष समावेशी हुने गरी ६२ निर्माण समूह र ५ उपभोक्ता समिति गठन गरिएका छन्, जहाँ १२ सय ५५ व्यक्ति निर्माणमा जुटे
राजबहादुर शाही

मुगु — टाउकोमा पहेंलो रङको सुरक्षा हेलमेट । खुट्टामा बुट जुत्ता । हातमा साबेल र बेल्चा । ४६ वर्षीया रामकला बडुवालको जोशजाँगर देख्दा उनी कुनै नौजवान युवाभन्दा कमजोर देखिन्नन् । उनी दैनिकी अहिले सडक निर्माणमा बितिरहेको छ ।

महिलाका हातमा साबेल र बेल्चा

उनीजस्तै थुप्रै महिला अहिले गमगढी–चंखेली हुँदै हुम्लाको दार्म, देउली जोड्ने लिंक रोड निर्माणमा व्यस्त देखिन्छन् । बिहान–बेलुकी घरको काम गरी उनीहरू दिउँसो सडक निर्माणमा जुट्छन् । ‘कामको रापले भोकतिर्खा भन्ने नै बिर्सिसक्यौं,’ रामकलीले भनिन्, ‘गाउँमै रोजगारी आएपछि किन छोड्ने भनेर काममा लागेका हौं ।’


सोही गाउँकी ४२ वर्षीया मच्चीकला बुढाले सडक खन्न थालेको ६ महिना पुग्यो । सडक खनेर पैसा मात्र कमाउने होइन, गाडीसमेत आउने आशाले उनी निकै उत्साही छिन् । ‘अहिले पैसा कमाएका छौं, भोलि सडक आयो भने नुन–तेल गाडीमा घरमै पुग्ला,’ उनले भनिन्, ‘सडक त आफ्नै लागि बनाउने हो ।’ सडक बने गाउँमा उब्जेको तरकारी, फलफूल पनि बिक्री गर्न सहज हुने उनले बताइन् ।


बेलायत सरकारको आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रमले उक्त सडक निर्माण गरिरहेको छ । सडक निर्माणमा पुरुषभन्दा महिला बढी छन् । कतिपय पुरुष जडीबुटी टिप्न लेकतिर गएका र कतिपय व्यापार व्यवसायमा हिँडेकाले विकासको भार महिलामाथि परेको ग्रामीण पहुँच कार्यक्रमका सामाजिक विकास अधिकृत महेशप्रसाद भट्टराईले बताए ।


कामदारले दैनिक ५ सयदेखि ८ सय रुपैयाँसम्म ज्याला पाउँछन् । कामदारको जीवनबिमा र दुर्घटना पनि गरिएको छ । कार्यस्थलमा मृत्यु भएमा परिवारलाई ५ लाख र घाइते भएमा सम्पूर्ण उपचार खर्च व्यहोर्ने गरी व्यवस्था भएको भट्टराईले बताए । गाउँमै आकर्षक र सुरक्षित काम पाएपछि अधिकांश स्थानीयको भारत जाने बाटो बन्द भएको छ । सडक निर्माणको लागि कार्यक्रमले महिला र पुरुष समावेशी हुने गरी ६२ वटा निर्माण समूह र ५ वटा उपभोक्ता समिति गठन गरेको छ । कार्यक्रमका अनुसार महिला र पुरुष गरी हाल १ हजार २ सय ५५ जना सडक निर्माणमा जुटेका छन् ।


६३ किमि सडकको हालसम्म ४५ किमि ट्र्याक खुलिसकेको छ । अप्ठ्यारो भीर, पहरामा मात्र डोजर प्रयोग भएको छ । छायानाथरारा नगरपालिका १४ का वडाध्यक्ष नन्दलाल बडुवालले सडकको कारण थुप्रै व्यक्तिले रोजगारी पाएका बताए । कार्यक्रमका फिल्ड व्यवस्थापक सुनील तण्डुकारले सन् २०१८ देखि सडक निर्माण सुरु गरी २०२० सम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । आउँदो दसैंसम्म मुगु सडक खण्ड छायाँनाथरारा नगरपालिकालाई हस्तातरण गरिसक्ने उनको भनाइ छ ।


सडकको कूल बजेट १ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ रहेको छ । कामदारको ज्याला समान ढुवानी बापत अहिलेसम्म ९ करोड खर्च भइसकेको तण्डुकारले बताए । सडकबाट मुगुको रुगा, लुम, बाम, नाफलचौ, दर्ख्यालबाडा चंखेली र हुम्लाको रिम, बोहोराबाडा तथा देउलीका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । समुद्री सतहदेखि ३ हजार ५ सय मिटर उचाइमा निर्माणाधीन यो सडकबाट हुम्ला र मुगु सडक सञ्जालसँग जोडिनेछन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?