कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कर्णालीमा हिंसाविरुद्ध अभियान

वीरेन्द्रनगर — कर्णाली प्रदेश प्रहरीले महिलामाथि हुने हिंसा र लागूऔषध नियन्त्रणका लागि वडास्तरसम्मै विशेष प्रशिक्षण अभियान सुरु गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा सुरु भएको अभियानको आइतबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरे ।

अभियानअन्तर्गत पहिलो चरणमा १० जिल्लाबाट ४४ जनालाई जिल्लास्तरीय ६ दिने प्रशिक्षक प्रशिक्षण तालिम दिइनेछ । तालिममा एक प्रहरी निरीक्षक, एक पत्रकार र नागरिक समाजका प्रतिनिधि २ जना हुनेछन् । प्रदेश राजधानीमा तालिमप्राप्त प्रशिक्षकले जिल्लामा गएर ७९ स्थानीयका तहका ७ सय १८ वडालाई लक्षित गरी १ सय ८२ जनालाई प्रशिक्षित गर्नेछन् । ‘यसरी वडास्तरमा प्रशिक्षित हुने प्रशिक्षकले नियमित आफ्नो क्षेत्रमा महिलामाथि हुने हिंसा, लागूऔषध दुर्व्यसन, सडक दुर्घटना न्यूनिकरणका लागि सरोकारवालालाई प्रशिक्षित गर्नेछन्,’ प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहले भने, ‘यी घटनामा जनचेतनाको अभाव प्रमुख कारक भएकाले यस्तो अभियान थालिएको हो ।’


प्रहरीका अनुसार पछिल्लो समय कर्णाली प्रदेशमा महिलामाथि हुने हिंसाका घटना न्यून हुनुको साटो बढिरहेका छन् । गत आवमा महिलामाथि हुने हिंसाका १ सय ५४ घटना भएकोमा चालु आवमा २ सय ६९ घटना भएका प्रदेश प्रहरीको तथ्यांकमा छ । त्यस्तै गत आवमा लागूऔषधका ३५ घटना दर्ता भएकोमा चालु आवमा ८५ घटना दर्ता भएका छन् । प्रहरीको तथ्यांकमा गत आवमा घरेलु हिंसाका ६ सय १२ घटना दर्ता भएकोमा चालु आवमा ७ सय ४८ घटना दर्ता छ ।


अभियान आरम्भ गर्दै मुख्यमन्त्री शाहीले कर्णालीलाई शान्त र सुरक्षित प्रदेश बनाउन सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको बताए । आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले यो अभियानलाई सार्थक तुल्याउन स्थानीय तह, नागरिक समाज सबैसँग सहकार्य गर्ने बताए ।

प्रकाशित : जेष्ठ २७, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?