१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खुल्दै नखुलेको संस्थालाई बजेट

सुर्खेतको चौकुने गाउँपालिकामा केही जनप्रतिनिधिका आफन्तको स्वार्थमा बजेट र स्रोतसाधन दुरुपयोग गरिएको छ । महालेखापरीक्षकको प्रतिवेदनले समेत ४७ लाख ६३ हजार ९ सय ७१ रुपैयाँ अनियमितता भएको औँल्याएको छ
कलेन्द्र सेजुवाल

(सुर्खेत) — चौकुने गाउँपालिकाले अघिल्लो असार १० मा सार्वजनिक गरेको नीति, बजेट तथा कार्यक्रम आयव्यय अनुमानको पहिलो बुँदामा चौकुने बहुउद्देश्यीय सहकारी संस्थालाई ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । तर त्यति बेला त्यो नामको सहकारी नै जन्मिएको थिएन ।

बजेट पाएको करिब ८ महिनापछि २०७५ फागुन १ मा सहकारी गाउँपालिकामा दर्ता गरियो । सहकारीको अध्यक्ष गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीका सहोदर भाइ गोरखबहादुर शाही बने । सचिवचाहिँ एलजी कन्स्ट्रक्सनमा गोरखबहादुरका व्यापारिक साझेदार रहेका लालमणि धमला । सदस्यमा गाउँपालिकाकै कर्मचारी पदम शर्मा पनि चुनिए ।


जन्मिनुअघि नै बजेट पाएको सहकारीले आर्थिक वर्ष सकिन लाग्दा ‘आफ्नो नाममा’ विनियोजित रकम निकासाको माग गर्‍यो । प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले सहकारीका नाममा हचुवामा यति ठूलो रकम निकासा नगर्ने अडान लिए । भन्छन्, ‘म सरुवा भएर भर्खरै आएकाले सबै कुरा बुझ्नै बाँकी छ, कसरी रकम निकासा गर्नु ?’


पौडेलका कारण गाउँपालिकाको ४० लाख रुपैयाँ अहिलेसम्म निकासा भएको छैन । तर शाही दाजुभाइको सेटिङमा चौकुनेमा अरू बजेट भने मनलाग्दी खर्च गरिएको छ । नजन्मिँदै बजेट पाउने अर्को संस्था हो– बेतान कर्णाली बहुउद्देश्यीय कृषक समूह । चालु वर्ष सिँचाइ, खानेपानी, मूल सुधार शीर्षकमा उक्त समूहका नाममा ८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर बजेट छुट्ट्याएको चार महिनापछि कात्तिक २०७५ मा मात्र त्यो समूह जन्मियो ।

गाउँपालिकाको वडा नं. ३, शोभानचौरमा गठन भएको समूहमा अध्यक्ष बने वडा नं. ७ निवासी गोरखबहादुरका व्यापारिक साझेदार लालमणि । ‘हामी जनप्रतिनिधिले त यहाँका लागि आएको बजेटमा स्थानीय मान्छे अध्यक्ष हुनुपर्छ भनेर आवाज उठाएका थियौँ,’ ३ नम्बर वडाध्यक्ष गणेश राना भन्छन्, ‘तर सुनुवाइ भएन ।’ समूहले वडा कार्यालयबाट कात्तिक ११ गते सम्झौताका लागि सिफारिस लगेर अहिले संरचना निर्माणको काम गरिरहेको छ । गाउँपालिकाले पेस्कीस्वरूप २ लाख ४० हजार रुपैयाँ दिएको छ । समूहका नाममा लालमणि र गोरखबहादुरले केही स्थानीयलाई संलग्न गरी लोकल कुखुरा र टर्की पालन गर्ने योजना बनाएका छन् ।


गोरखबहादुरका नाममा मोटिभ कन्सल्टेन्सी प्रालि पनि दर्ता छ । त्यो कम्पनीलाई गाउँपालिकाले सार्वजनिक खरिद ऐनविपरीत आर्थिक वर्ष २०७४/७५ मा ४ लाख ८३ हजार रुपैयाँमा दुईवटा पुलको सर्भे डिजाइनको जिम्मा दिइएको छ । महालेखापरीक्षकको प्रतिवेदनमा त्यसबारे भनिएको छ, ‘गाउँपालिकाले नियमको पालना नगरी रकम भुक्तानी गरेको छ, अत: कैफियतमा उल्लिखित प्रमाणसमेत संलग्न गरी खर्चलाई नियमित गर्नुपर्ने देखिएको छ ।’

प्रतिवेदनअनुसार गाउँपालिकाले मोटिभसहित १० वटा कम्पनीलाई सर्भे, गुरुयोजना निर्माण, कार्यविधि तयारी, वातावरणीय मूल्यांकन प्रतिवेदन, डकुमेन्ट्री निर्माण र विस्तृत परियोजना प्रतिवेदनलगायत कामको जिम्मा दिएको थियो । यसमा ४७ लाख ६३ हजार ९ सय ७१ रुपैयाँ अनियमितता भएको औँल्याइएको छ । गाउँपालिकाका एक कर्मचारीका अनुसार मोटिभलाई अध्यक्षको दबाबमा प्रक्रियाबिनै कामको जिम्मा दिइएको थियो । त्यसको फाइदा अन्य कम्पनीले पनि लिए जसकारण ठूलो रकम अनियमित तवरले भुक्तानी भयो ।


गोरखबहादुरको कम्पनी एलजी कन्स्ट्रक्सनले चालु वर्ष ४० लाख रुपैयाँ लागतको चौकुने सभाहल निर्माणको ठेक्का पाएको छ । अरूभन्दा ३४ प्रतिशत कम कबोलमा परेको उक्त ठेक्का मिलेमतोमा पारिएको स्थानीयको आरोप छ । ‘हुन त कम अंकमा बोलिएकाले उहाँलाई यसमा खासै फाइदा छैन,’ गाउँपालिकाका लेखापाल खेमराज शर्मा भन्छन्, ‘तर यही योजना पार्न मिलेमतो भएको हल्ला व्यवसायीबीच चलेको थियो ।’

गोरखबहादुरको प्रभाव यत्तिमै सीमित छैन । गाउँपालिकाले १० वटै वडालाई लक्षित गरी यही आर्थिक वर्षमा चौकुने बृहत् खानेपानी उपभोक्ता संस्थाको अवधारणा अघि सारेको छ । संस्थाको अध्यक्ष बनेका छन्– उनै गोरखबहादुर । ‘बृहत्’ का नाममा गाउँपालिकाभरिका अन्य खानेपानी उपभोक्ता संस्थालाई मातहत राख्ने उद्देश्य राखिएको भन्दै आलोचना भएपछि संस्थाले गति लिन सकेको छैन । गाउँपालिका उपाध्यक्ष निर्मला मगरले भनिन्, ‘यो संस्थाको औचित्यबारे मलाई केही थाहा छैन, अध्यक्षज्यूले खै के सोचेर बनाउनुभएको हो, उहाँलाई नै सोध्नुपर्छ ।’


बृहत् खानेपानी उपभोक्ता संस्थाको अवधारणाले मूर्तरूप लिन नसके पनि गोरखबहादुर घाटगाउँ खानेपानी लिफ्ट उपभोक्ता संस्थामा भने अध्यक्ष छन् । उक्त आयोजनामा अहिले ४४ लाख लागतको ट्यांकी र २९ लाख लागतको स्यामपोइल निर्माणको काम भइरहेको छ । ट्यांकी निर्माणमा ३३ प्रतिशत घटेर पाण्डव कन्स्ट्रक्सनले ठेक्का लिएको छ । स्यामपोइलको ठेक्का भने लागत अनुमान गरिएकै रकममा तप्त निर्माण सेवाले लिएको छ । ठेक्का पाण्डवले लगे पनि काम गोरखबहादुर आफैँले गर्ने गरी मिलाइएको स्रोतको दाबी छ । सुशासनको क्षेत्रमा कार्यरत स्थानीय हरिप्रसाद अधिकारी भन्छन्, ‘अहिले नाम मात्र तप्तको छ, काम अध्यक्ष आफैँले गरिरहनुभएको छ ।’ तप्तका प्रोप्राइटर दीपु सार्कीले भने सम्झौताअनुसार काम आफैँले गरिरहेको दाबी गरे ।


शाही गाउँपालिका अध्यक्ष भएपछि गोरखबहादुर मात्र होइन, परिवारका अन्य सदस्यले पनि लाभ उठाएका छन् । गत वर्ष वडा नं. १० को अमलाटाकुरा तटबन्धका लागि गाउँपालिकाले ३ लाख रुपैयाँ विनियोजन गर्‍यो । उपभोक्ता समिति गठन गर्दा स्थानीय मान्छे हुनुपर्छ भन्दै धेरैले आवाज उठाएका थिए । वडाध्यक्ष शंकर कामी पनि सुरुमा स्थानीयकै पक्षमा लागे । तर अध्यक्ष शाहीले पञ्चपुरी नगरपालिका–४, बरैंचे निवासी दिदी राजु शाहीका नाममा सिफारिस पठाउन भनेपछि सबै चुपचाप बस्न बाध्य भए ।


‘हुन्न भनौँ भने अध्यक्षकी आफ्नै दिदी, सिफारिस कसरी नगर्नु,’ उनले भने, ‘दाबीविरोधको निवेदन पनि कसैले हालेनन्, त्यसपछि मैले नै उपभोक्ता समिति अध्यक्षका लागि सिफारिस पठाएँ ।’


प्रकाशित : जेष्ठ २७, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?