कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेती कक्षा दैनिक २ घण्टा

विप्लव महर्जन

सल्यान — कपुरकोट गाउँपालिका १, सारपानीका अगुवा कृषक बालसिंह घर्तीले डेढ दशकदेखि तरकारी खेती गर्दै आइरहेका छन् । परम्परागत रूपमा तरकारी खेतीबाट व्यावसायिक बने पनि बेलाबेलामा रोगकिराको प्रकोपले उनको खेतीमा समस्या भइरहेको छ ।

आधुनिक खेती र रोग किराको प्रकोपबाट तरकारी बचाउन उनले अहिले तरकारी खेतीबारे दैनिक २ घण्टा प्रशिक्षण लिँदै आएका छन् । उनकै छिमेकी भूमबहादुर राना पनि दैनिक कक्षामा सहभागी हुन्छन् । सैद्धान्तिक कक्षा लिन थालेपछि उनले तरकारी व्यवसायमा विभिन्न सुधार सुरु गरेका छन् ।


यी दुई मात्र होइन, व्यावसायिक तरकारी खेती गर्दै आएका सारपानीका ३ दर्जन बढी कृषक सैद्धान्तिक कक्षामा सहभागी हुँदै आइरहेका छन् । किसान २ परियोजनाअन्तर्गत उन्नत कृषि केन्द्र कपुरकोटले सञ्चालन गरेको खेतीसम्बन्धी दुई घण्टे दैनिक कक्षामा कृषकको सहभागिता बढदै गएको हो ।


‘कक्षा लिएपछि हामीलाई धेरै प्राविधिक समस्या समाधान गर्न सजिलो भएको छ,’ नमूना जनजाति किसान समूहका अध्यक्षसमेत रहेका घर्तीले भने, ‘वर्षौदेखि व्यवसायिक खेती गर्दै आए पनि हामीले बुझ्न धेरै बाँकी रहेछ, त्यसैले दैनिक २ घण्टा खेतीबारे सिक्दै आइरहेका छौं ।’ उनले सैद्धान्तिक ज्ञान पाएपछि बैज्ञानिक तरिकाले खेती गर्न सजिलो भएको जनाए ।


केन्द्रले सैद्धान्तिक कक्षाका साथै बेला बेलामा खेतबारीमै गएर खनजोत, ब्याड राख्ने, रोप्ने र अन्य प्रविधिबारे किसानलाई ज्ञान दिँदै आएको छ । स्थानीय कृषक कर्णबहादुर खत्रीका अनुसार विभिन्न जातका तरकारी मौसमअनुसार कसरी लगाउने, कति र कुन विषादी प्रयोग गर्ने जस्ता विषयमा कक्षामा सैद्धान्तिक छलफल गरिन्छ ।


‘अब तरकारीमा कुनै रोग लागे नियन्त्रण गर्न आफैले बिषादी प्रयोग गर्नसक्ने भएका छौं,’ उनले भने, ‘खेती गर्दा अपनाउनुपर्ने विभिन्न सावधानीबारे जानकारी पाइएको छ, सैद्धान्तिक कक्षाले हामीलाई थप व्यवसायिक बन्न मद्दत मिलेको छ ।’


गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले किसानलाई आवश्यक ज्ञान, सीप र प्रविधि प्रयोग गर्न साक्षरता कक्षाले सहयोग पुर्‍याएको बताए । उनले कक्षामार्फत विभिन्न सीप सिकेका किसानले त्यसलाई व्यवहारमा लागू गरिरहेको जनाए । कपुरकोट गाउँपालिकालाई तरकारी खेतीमा नमूना बनाउन यस्ता कक्षा सञ्चालन हुन आवश्यक रहेको उनको भनाइ छ ।


व्यावसायिक साक्षरता कार्यक्रमका निर्देशक कृष्णप्रसाद न्यौपानेले सामान्य हरहिसाब र लेखपढ गर्नसक्ने किसानका लागि २ महिनासम्म दैनिक २ घण्टाका दरले कक्षा सञ्चालन भइरहेको बताए । तरकारी खेती गर्दै आएका किसानका प्रत्येक घरका एक प्राविधिक उत्पादन लक्ष्यसहित कार्यक्रम सुरु गरिएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?