कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

निजी विद्यालयलाई अनुमति नदिइने

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकामा अब संस्थागत (निजी) विद्यालय नहुने भएका छन् । नगरपालिकाले अब नयाँ विद्यालय सञ्चालनका लागि नयाँ अनुमति नदिने भएको छ ।

जेठ दोस्रो साता वडा ३ को खदीमा बसेको कार्यपालिका बैठकले संस्थागत विद्यालय सञ्चालनका लागि नयाँ अनुमति नदिने र पुरानाको पनि कक्षा थप नगर्ने निर्णय गरेको छ । सामुदायिक विद्यालयको गुणस्तर बढाउन थप मिहिनेत गर्ने तर नगरभित्र शुल्क तिरेर लिइने संस्थागत विद्यालय दर्ताको अनुमति नै नदिने कार्यपालिकाले निर्णय गरेको छ ।


कार्यपालिको पछिल्लो निर्णयसँगै नगरपालिकामा रहेको एक संस्थागत विद्यालयको कक्षा थपको अनुमति रद्द हुने भएको छ । राडीस्थित आठबीसकोट पिसजोन एजुकेसनल एकेडमीलाई कक्षा ६ सञ्चालन गर्न नगरपालिकाले दिएको अनुमति रद्द गर्ने भएको हो । उक्त विद्यालयले यसअघि जिल्ला शिक्षा कार्यालयबाट कक्षा ५ सम्मको मात्रै अनुमति पाएको छ । हाल नगरपालिकाभर २ वटा मात्रै संस्थागत विद्यालय छन् ।


नगरपालिकाले नगरका ५ सामुदायिक विद्यालयलाई नमुना बनाउने भएको छ । विभिन्न वडामा पायक पर्ने गरी नगरका ५ विद्यालय नमुना बनाउने गरी कार्ययोजनासमेत कार्यपालिका बैठकबाट पाीरत भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।


उनका अनुसार वडा १, २ र ३ का लागि वडा ३ वडामा रहेको हिमालय मावि खदी, ४, ५ र ६ नम्बर वडाका लागि वडा ४ मा रहेको ज्ञानोदय मावि चौतारा र वडा ७ र ८ का लागि वडा ८ मा रहेको हिमालय मावि दाँजेलाई नमुना विद्यालय बनाइनेछ । यसैगरी वडा ९, १०, ११ र १२ का लागि सहिद स्मृति नमुना मावि राडी र १३ र १४ वडाका लागि आदर्श मावि घेत्मालाई नमुना विद्यालय बनाउने निर्णय कार्यपालिकाले गरेको छ ।


नमुना विद्यालयका लागि नगरपालिकाले भौतिक पूर्वाधार र शिक्षाको गुणस्तर वृद्धिका लागि पहल गर्नेछ । पहिलो चरणमा ५ वटै विद्यालयमा १/१ करोडको १/१ वटा भवन बनाइनेछ । सजिलै गुणस्तरीय शिक्षा प्रदानका लागि निश्चित विद्यालयलाई नमुना बनाइने र हरेक वर्ष अरुलाई पनि नमुना बनाउने गरी कार्ययोजना बनाइएको कार्यपालिकाले जनाएको छ ।


यसै वर्षको साउनदेखि वडा ९ मा रहेको बालकल्याण माविलाई प्राविधिक विद्यालयका रूपमा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । तीनमहिने क्षमता विकासका तालिमदेखि टीएसएलसी, १८ महिने तथा ३ वर्षेसम्मका प्राविधिक कोर्स अध्ययनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने उनको भनाइ छ । अनुमतिका लागि तत्कालै आवश्यक प्रक्रिया अघि बढाइने नगर प्रमुख केसीले जनाए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?