१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मध्यपहाडी लोकमार्ग : दैलेख खण्डमा बल्ल कालोपत्रे

केही स्थानमा मुआब्जाका कारण सडक निर्माण रोकिएको थियो 
३१ घर हटाउन मुआब्जा दिने तयारीमा आयोजना
ज्योति कटुवाल

दैलेख — लामो समयसम्म विवादमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न स्थानमा कालोपत्रेको काम सुरु भएको छ । केही स्थानमा मुआब्जाका कारण सडक निर्माणको काम प्रभावित बनेको थियो ।

मध्यपहाडी लोकमार्ग : दैलेख खण्डमा बल्ल कालोपत्रे

आयोजना कार्यालयका अनुसार विवाद समाधानसँगै कालोपत्रेको काम सुरु भइसकेको छ । उक्त खण्डमा काम अघि बढाउँदा ३१ घर भत्काउनुपर्ने देखिएकाले स्थानीयलाई मुआब्जा दिने तयारी भइरहेको छ । दैलेख खण्डमा अहिले ५१ किमि कालोपत्रेका लागि टेन्डर प्रक्रिया भइसकेको छ । मध्यपहाडी लोकमार्ग दैलेख खण्डका प्रमुख तुलाराम शर्माले असारसम्म १० किमि कालोपत्रे सक्ने योजना रहेको जनाए । ५१ किमि कालोपत्रेको काम ४ भागमा विभाजन गरिएको उनको भनाइ छ ।


लोहोरेदेखि झुप्रेसालसम्म करिव १० किमि खण्डको जिम्मा केएस/रमण जेभीले २४ करोड ८४ लाख रुपैयाँमा लिएको छ । उक्त कम्पनीले कालोपत्रेको काम २०७७ भदौ ३ गतेसम्म सक्ने गरी सम्झौता गरेको छ । कम्पनीले कालोपत्रेबाहेक ४५ प्रतिशत काम सकेको जनाएको छ । झुप्रेसालदेखि मनघरसम्म ११ दशमलव ४ किमिको कालोपत्रे शर्मा/गजुरमुखी जेभीले २०७७ जेठमा सक्ने गरी जिम्मा लिएको छ ।


३१ करोड ७२ लाखमा ठेक्का पाएको कम्पनीले कालोपत्रेका लागि ४० प्रतिशत काम सकिसकको जनाएको छ । त्यस्तै बडलम्जीदेखि पादुकासम्म केएस/रमण जेभीले १३ दशमलव ३ किमिको ठेक्का लिएको छ । २०७७ जेठ १४ सम्म कालोपत्रे गर्ने गरी उसले २६ करोड ९१ लाख रुपैयाँमा सम्झौता गरेको छ । अहिलेसम्म करिब २० प्रतिशत काम सकिएको कम्पनीले जनाएको छ ।


दैलेख पश्चिमस्थित रामघाट पुलदेखि पादुकासम्म १५ दशमलब ८ किमि सडक कालोपत्रेका लागि पम्पु/हाई हिमालयन जेभीलाई ४२ करोड १० लाखमा ठेक्का दिइएको छ । २०७७ जेठ १४ मा सक्ने गरी कम्पनीले ४० प्रतिशत काम सकेको जनाएको छ ।

दैलेख खण्ड प्रमुख शर्माले कालोपत्रे गर्न लागिएको ४ खण्डमा सडक चौडाको काम सकिएको जानकारी दिए ।


ग्याबिन र मेसनरी वाल, ह्युम पाइपलगायत काम जारी रहेको उनको भनाइ छ । दैलेख सदरमुकाममा १० मिटरमा कालोपत्रे गर्ने सहमति भएको आयोजना कार्यालयले जनाएको छ । सदरमुकामनजिक जाहरकोटमा सडक निर्माणको काम अवरुद्ध भएकाले समन्वय गरी काम थालिने शर्माले जानकारी दिए । जाहरकोट खण्ड फराकिलो भए जिल्लामा मध्यपहाडी लोकमार्ग आयोजना सफल हुने आयोजना कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?