विपत् व्यवस्थापनका लागि नमुना अभ्यास

भीमबहादुर सिंह

(जाजरकोट) — नेपाली सेनाले भेरी नगरपालिका ३, थाप्लेचौरमा मंगलबार विपत्मा गर्ने उद्धारको नमुना प्रदर्शन गरेको छ  । सेनाले स्थानीय बासिन्दालाई बाढी, पहिरो, आगलागीलगायत विपत्बाट बच्न सिकाउन नमुना प्रदर्शन गरेको हो  ।

विपत् व्यवस्थापनका लागि नमुना अभ्यास

सेनाले फायर फाइरिङ, हाइलाइन रोप रेस्क्युलगायत कृत्रिम अभ्यास प्रदर्शन गरी स्थानीयलाई विपत्बाट बच्ने उपायबारे जानकारी गराएको हो ।

बाढी र पहिरोको जोखिम रहेको जाजरकोटमा बर्खाअघि स्थानीयलाई सतर्क गराउन नमुना अभ्यास गराइएको हो । सेनाले आगो कसरी निभाउने, कसरी उद्धार गर्ने र कसरी सुरक्षित रहने विषयमा नमुना प्रदर्शन गरेको थियो । प्रदर्शनका लागि थाप्लेचौर बसपार्कमा खर र परालले छाएका ५ अस्थायी झुपडी बनाइएको थियो ।

त्यस्तै सेनाले भीर, खोल्सामा खसेकाको उद्धारको नमुना पनि प्रदर्शन गरेको छ । खोल्साको खोंचमा खसेर सख्त घाइतेको भूमिकामा भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती थिए । प्रदर्शनमा सेनाले मेडिकल टोली, औषधि, एम्बुलेन्सको व्यवस्थापन गरिएको थियो । विपत् व्यवस्थापनसम्बन्धी नमुना अभ्यासले नागरिकलाई सचेत गराएको नगरप्रमुख घर्तीको भनाइ छ । यस्ता अभ्यासले विपत्का बेला अरुको भर पर्नुभन्दा आफै सक्षम हुन जरुरी रहेछ भन्ने सिकाइ भएको उनले जनाए ।

गत बर्ष भेरी नगरपालिका, नलगाड नगरपालिकालगायत स्थानमा बाढी पहिरोमा परेर डेढ दर्जनको मृत्यु भएको थियो । सय परिवार प्रभावित भएका थिए । सरकारको विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन अनुसार नमुना अभ्यास गराइएको ज्वाल दल गणका निमित्त गणपति दिनेश खड्काले बताए ।

यसका लागि सेनाले फायर फाइरिङ र हाइलाईन रोप रेस्क्युको सिमुलेशन (कृत्रिम घटना अभ्यास) प्रदर्शन गरेको उनको भनाइ छ । विपतका घटना जतिखेर पनि हुन सक्ने भएकाले सधै सबै सचेत हुनुपर्ने उनको भनाइ छ । अभ्यासमार्फत उच्च जोखिम भएका ठाउँ छनोट गरी विपत् प्रभावित समुदायको तत्काल खोज, उद्धार र राहत व्यवस्थापनलाई सुनिश्चित गर्ने प्रयास गरेको उनले जानकारी दिए ।

प्रदर्शनीमा ज्वालदल गण, जिल्ला प्रशासन कार्यालय, भेरी नगरपालिका, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, त्रिभुवन मावि थाप्ले, जाजरकोट अस्पताललगायत सरोकारवाला निकायका ५ सय प्रतिनिधि सहभागी थिए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?