कर्णालीका २८ प्रतिशत घरधुरीमा खाद्यान्न अभाव

कान्तिपुर संवाददाता

सुर्खेत — कर्णाली प्रदेशको २८ प्रशित घरधुरी खाद्यान्न अभावको समस्यामा रहेको तथ्यांक सार्वजनिक गरिएको छ  । तथ्यांकअनुसार कर्णालीको ११ प्रतिशत जमिनमा मात्र खेती हुन्छ  ।

पर्याप्त खाद्यान्न उत्पादन र क्रयशक्ति नहुँदा २८ प्रतिशत घरधुरीमा खाद्यान्न अभाव रहेको पाइएको हो । कृषिविज्ञ हरिप्रसाद सुवेदीले सार्वजनिक गरेको तथ्यांकअनुसार ६ महिनादेखि २३ महिनासम्मका ४५ प्रतिशत बालबालिकाले पोषणयुक्त खाना पाउँदैनन् ।

सुबेदीले प्रदेशभर खेतीयोग्य ३० प्रतिशत जग्गा बाँझै रहेको जानकारी दिए । उनका अनुसार कर्णालीमा ७४ प्रतिशत घरधुरी कृषिमा निर्भर छन् । कृषक समूह महासंघ र इन्सेकले आयोजना गरेको ‘कृषिका सवाल र समाधानमा सरोकारवालाको भूमिका’ विषययक कार्यक्रममा तथ्यांक सार्वजनिक गरिएको हो ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने नीति अनुरुप आगामी वर्षको बजेटमा कृषकलाई उत्साही बनाउने कार्यक्रम ल्याउन थालिएको बताइन् । उनले आगामी आर्थिक वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्ने कृषकका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाइन् ।

मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कृषकलाई प्रत्यक्ष र बढी फाइदा हुने कार्यक्रम आगामी वर्ष सञ्चालन गरिने जनाए । कृषक समूह महासंघ कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर केसीले बास्तविक किसान सरकारी सुविधाबाट अझै बञ्चित भइरहेको बताए । इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले सरकारी सेवा प्रवाहलाई व्यवस्थित बनाउन यस्ता कार्यक्रम उपलव्धिमूलक हुने जनाए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:४३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

विपत् व्यवस्थापनका लागि नमुना अभ्यास

भीमबहादुर सिंह

(जाजरकोट) — नेपाली सेनाले भेरी नगरपालिका ३, थाप्लेचौरमा मंगलबार विपत्मा गर्ने उद्धारको नमुना प्रदर्शन गरेको छ  । सेनाले स्थानीय बासिन्दालाई बाढी, पहिरो, आगलागीलगायत विपत्बाट बच्न सिकाउन नमुना प्रदर्शन गरेको हो  ।

सेनाले फायर फाइरिङ, हाइलाइन रोप रेस्क्युलगायत कृत्रिम अभ्यास प्रदर्शन गरी स्थानीयलाई विपत्बाट बच्ने उपायबारे जानकारी गराएको हो ।

बाढी र पहिरोको जोखिम रहेको जाजरकोटमा बर्खाअघि स्थानीयलाई सतर्क गराउन नमुना अभ्यास गराइएको हो । सेनाले आगो कसरी निभाउने, कसरी उद्धार गर्ने र कसरी सुरक्षित रहने विषयमा नमुना प्रदर्शन गरेको थियो । प्रदर्शनका लागि थाप्लेचौर बसपार्कमा खर र परालले छाएका ५ अस्थायी झुपडी बनाइएको थियो ।

त्यस्तै सेनाले भीर, खोल्सामा खसेकाको उद्धारको नमुना पनि प्रदर्शन गरेको छ । खोल्साको खोंचमा खसेर सख्त घाइतेको भूमिकामा भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती थिए । प्रदर्शनमा सेनाले मेडिकल टोली, औषधि, एम्बुलेन्सको व्यवस्थापन गरिएको थियो। विपत् व्यवस्थापनसम्बन्धी नमुना अभ्यासले नागरिकलाई सचेत गराएको नगरप्रमुख घर्तीको भनाइ छ। यस्ता अभ्यासले विपत्का बेला अरुको भर पर्नुभन्दा आफै सक्षम हुन जरुरी रहेछ भन्ने सिकाइ भएको उनले जनाए ।

गत बर्ष भेरी नगरपालिका, नलगाड नगरपालिकालगायत स्थानमा बाढी पहिरोमा परेर डेढ दर्जनको मृत्यु भएको थियो। सय परिवार प्रभावित भएका थिए । सरकारको विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन अनुसार नमुना अभ्यास गराइएको ज्वाल दल गणका निमित्त गणपति दिनेश खड्काले बताए ।

यसका लागि सेनाले फायर फाइरिङ र हाइलाईन रोप रेस्क्युको सिमुलेशन (कृत्रिम घटना अभ्यास) प्रदर्शन गरेको उनको भनाइ छ । विपतका घटना जतिखेर पनि हुन सक्ने भएकाले सधै सबै सचेत हुनुपर्ने उनको भनाइ छ । अभ्यासमार्फत उच्च जोखिम भएका ठाउँ छनोट गरी विपत् प्रभावित समुदायको तत्काल खोज, उद्धार र राहत व्यवस्थापनलाई सुनिश्चित गर्ने प्रयास गरेको उनले जानकारी दिए ।

प्रदर्शनीमा ज्वालदल गण, जिल्ला प्रशासन कार्यालय, भेरी नगरपालिका, सशस्त्र प्रहरी बल, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, त्रिभुवन मावि थाप्ले, जाजरकोट अस्पताललगायत सरोकारवाला निकायका ५ सय प्रतिनिधि सहभागी थिए ।

प्रकाशित : जेष्ठ २९, २०७६ १२:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT