कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आरनले ज्यान पाल्नै मुस्किल

राजबहादुर शाही

मुगु — मुगमकार्मारोङ गाउँपालिकाको पापु गाउँका २६ वर्षीय प्रेम विश्वकर्मालाई आरन पेसाले जीवन धान्न मुस्किल भएको छ । तर १२ वर्षको उमेरदेखि परम्परागत व्यवसाय अँगाल्दै आएका उनले विकल्प नहुँदा छोड्न सकिरहेका छैनन् । सोरु गाउँपालिका–४ का भैरे कामी र चाउरे कामीको अवस्था पनि उस्तै छ । 

आरनले ज्यान पाल्नै मुस्किल

यी तीन मात्र होइन, परम्परागत आरन सञ्चालन गर्दै आइरहेका जिल्लाका दलित समुदाय लामो समयदेखि समस्यामा परेका छन् । आधुनिक उपकरण सस्तो मुल्यमा गाउँ नजिकै पाइनु, दुःख अनुसार कमाइ नहुनु, सहजै कोइला उपलब्ध नहुनुलगायत कारण आरन व्यवसाय संकटमा पर्दै गइरहेको छ ।


‘मेरो पेसा संकटमा छ,’ विश्वकर्माले भने, ‘आगोमा दिनभर फलाम पिटेर पनि बालबच्चा राम्ररी पाल्न सकिएन ।’ फुर्सद पनि नहुने र वर्षभरि खान नपुग्ने अवस्था रहेको उनको भनाइ छ । उनले चुलेसी, हसिया, कोदाली, कुटो, बेल्चा, घैंटीलगायत फलामजन्य सामग्री मर्मत गरेबापत २ सय ज्याला लिँदै आइरहेको जनाएका छन् । नयाँ औजार निर्माण गरी बिक्री गर्दा ४ सय देखि ५ सय रुपैयाँमा बिक्री गर्ने गरेको उनको भनाइ छ ।


७० वर्षीय भैरे र २७ वर्षीय चाउरेले बजारमा जताततै फलामे औजार पाइन थालेपछि आफूहरू समस्यामा परेको बताए । ‘वर्षौदेखि फलाम पिट्दापिट्दा विभिन्न शारीरिक समस्या देखा पर्न थालेका छन्,’ भैरले भने, ‘तर यो पेसाले ढुक्कसाथ खानलाउन र परिवारको खर्च पुर्‍याउन कहिल्यै सकिएन ।’


उनले केही वर्षअघिसम्म बर्दियाको राजापुर र चिसापानी पुगेर फलामको भारी ल्याएको सम्झिए । अहिले सदरमुकाम गमगढीबाटै फलाम ल्याएर औजार निर्माण गर्ने गरिएको उनको भनाइ छ । गाउँमा कुटो, कोदाली, हँसिया, चुलेसीलगायत औजारको माग घटेपछि आफूहरूलाई गुजारा चलाउन समस्या भएको उनी बताउँछन् । गाउँमा दलित समुदायले बनाएका औजार भन्दा बजारमा पाइने औजार सस्तो हुन थालेपछि समस्या भएको चाउरेले गुनासो गरे ।


ग्रामीण क्षेत्रका दलित समुदायले परम्परागत तरिकाबटै आरन चलाउँदा गुजारा चलाउन समस्या भएको सोरु गाउँपालिका–६ का वडाध्यक्ष मनप्रसाद भट्टले बताए । उनले आरनलाई आधुनिक तरिकाले सञ्चालन गर्नसके दलित समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने जनाए । वनबाट सल्लाको बोक्रा ल्याएर कोइला बनाई आरन चलाउने गरेको दलित समुदायको भनाइ छ । पछिल्लो समय वनमा सल्लाका बोक्रा पाइन छाडेपछि थप समस्या भएको उनीहरू बताउँछन् । अहिले वनबाट पुर्जी काटेर सल्लाको बोक्रा ल्याउने गरिएको विश्वकर्माले बताए ।


उनका अनुसार एक पटक पुर्जी काट्दा ५ सयदेखि १ हजार रुपैयाँ तिर्ने गरिएको छ । सोरु गाउँपालिका–४ का गोपाल कामीले अहिले आरन व्यवसाय त्यागेर स्थानीयहरू मजदुरीमा लाग्न थालेको बताए । ‘गुजारा चलाउन मुस्किल भएपछि अधिकांश गाउँका आरन बन्द भएका छन्,’ उनले भने, ‘कतिपयलाई मजदुरीका लागि भारतका विभिन्न ठाउँमा जानुपर्ने बाध्यता भएको छ ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?