२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

रारा विमानस्थलका उपकरण टहरामै

राजबहादुर शाही

ताल्चा, मुगु — सरकारी बेवास्ताका कारण जिल्लाको एकमात्र रारा विमानस्थल हुँदै आउने पर्यटक आकर्षित हुन सकेका छैनन् । विमानस्थलमा वर्षौंदेखि आवश्यक भौतिक पूर्वाधार नहुँदा पर्यटनमैत्री हुन सकेको छैन । 

विमानस्थलमा पर्याप्त घेराबार नहुँदा सुरक्षाकर्मीले दैनिकजसो पशुचौपाया धपाएपछि मात्र उडान हुने गरेको छ । टर्मिनल टावर वरिपरि घेरबार, यात्रु चेकजाँच पोस्ट, सुरक्षा भवनलगायत संरचना नहुँदा विमाणस्थल यात्रुको रोजाइमा नपरेको हो ।


काठको टहरोमा टर्मिनल टावर बनाएर काम चलाइएको छ । २०३६ सालमा विमानस्थलको निर्माण सुरु गरिएको थियो । २०७२ मा ५ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थलको कालोपत्रे गरिएको थियो । धावनमार्ग कालोपत्रे गरिए पनि अन्य पूर्वाधार नहुँदा विमानस्थलभित्र विभिन्न मानवीय क्रियाकलाप बढदै गएको छ ।


पर्यटकीय क्षेत्र रारा तालका कारण कर्णाली प्रदेश राजधानी सुर्खेत र नेपालगन्जबाट दैनिक ४ भन्दा बढी उडान हुने गरेका छन् । पछिल्लो समय अधिकांश बाह्य पर्यटकले हवाइमार्ग प्रयोग गर्दै आइरहेका छन् । तर विमानस्थल व्यवस्थित नहुँदा एकपटक यात्रा गरेका यात्रु फेरि फर्कंदैनन् ।


टर्मिनल टावर नबन्दा काठको टहरोमा उपकरण राखेर उडान भर्ने काम भइरहेको विमानस्थल प्रमुख मोहन गिरीले बताए । ‘जे जस्तो भए पनि सेवा प्रवाह गरिरहनुपरेको छ,’ उनले भने, ‘ठूलो हावाहुरी लागेमा काठको टर्मिनल टावर हल्लिन्छ ।’ उनका अनुसार एकतले काठको टहरोमा सुरक्षाकर्मीले यात्रुको चेकजाँच गर्ने गरेका छन् । चेकजाँचस्थल साघुँरो हुँदा एकैपल्ट सबै यात्रुको जाँच गर्न समस्या हुने गरेको सुरक्षाकर्मी बताउँछन् । कालोपत्रे भएको ५ वर्षसम्म धावनमार्ग वरिपरि बार नहुँदा उडानको बेला सुरक्षाकर्मीलाई सुरक्षा दिन हम्मे परेको छ ।


चौपाया र मानिस जथाभावी आउजाउ गर्दा उडानका बेला समस्या हुने गरेको सुरक्षा एकाइका निमित्त प्रमुख कर्णबहादुर विकले बताए । उनले रारा घुम्न जाने पर्यटकले विमानस्थलछेउ गाडी र मोटरसाइकल रोकेर तलमाथि गर्दासमेत उडानका बेला समस्या हुने गरेको बताए । उनका अनुसार धावनमार्गदेखि १५ मिनेट टाढाको घर भाडामा लिएर सुरक्षा कार्यालय राखिएको छ ।


जहाज पार्किङ क्षेत्रमाथि बर्खामा पहिरो खस्ने भएकाले थप समस्या भएको विमानस्थल प्रमुख गिरीले बताए । ‘बर्खा लागेपछि पहिरो आएर जहाज राख्ने ठाउँ बर्सेनि पुरिन्छ,’ उनले भने, ‘बर्खामा एउटा जहाज अटाउनसमेत समस्या हुने गरेको छ ।’ आसपासको जमिन भासिन थालेपछि टर्मिनल टावर कता बनाउने भन्नेबारे अन्योल भएको विमानस्थल निर्माण आयोजना प्रमुख प्रकाश श्रेष्ठले बताए ।


उनले बर्सेनि कम बजेट विनियोजन हुँदा निर्माणमा समस्या भइरहेको जनाए । विमानस्थल निर्माणमा अहिलेसम्म करिब २७ करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । विमानस्थल स्तरोन्नति र पूर्वाधार विकासका लागि संघीय सरकारसँग बजेट माग गरिएको प्रतिनिधिसभा सदस्य गोपाल बमले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?