कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्राङ्गारिक बीउ उत्पादन सुरु

हरि गौतम

रुकुम पश्चिम — जिल्लामा प्राङ्गारिक बीउ उत्पादन थालिएको छ । मुसीकोट नगरपालिका ४ स्थित तरकारी बीउ उत्पादन केन्द्र चाँपाले प्राङ्गारिक तरकारीको बीउ उत्पादन थालेको हो ।

प्राङ्गारिक बीउ उत्पादन सुरु

रासायनिक विषादी तथा रासायनिक मलबाट उत्पादित बीउ तथा तरकारीले मानव स्वास्थ्य र पर्यावरणमा समेत असर पारेको भन्दै केन्द्रले यो वर्षदेखि प्राङ्गारिक तरकारीको खेती सुरु गरेको हो । पहिलोपटक केही जग्गामा सिमीको बीउ उत्पादन थालिएको केन्द्रकी नायब प्राविधिक सहायक सुशीला शाहले बताइन् । उनका अनुसार प्राङ्गारिक विषादी तथा मलको प्रयोग गरी बीउ उत्पादन थालिएको हो ।


प्राङ्गारिक खेतीका लागि १० जातका स्थानीय चिज–वस्तुको प्रयोग गरी विषादी बनाइएको छ । हरियो खुर्सानी, लसुन, प्याज, अदुवा, सरिफा, कास्टर, बेल, निम, धतुरो मिसाएर विषादी बनाइएको शाहले बताइन् । उनका अनुसार विषादीले विशेष गरी किरा भगाउने काम गर्छ भने ढुसीबाट लाग्ने रोगबाट बचाउँछ । ‘यो बायोपेस्टिसाइट विषादी हो,’ उनले भनिन्, ‘प्राङ्गारिक खेतीसम्बन्धी तालिम लिएर आएपछि यो सुरु गरिएको हो ।’


शाहका अनुसार केन्द्रले वानस्पतिक विषादी पनि बनाएको छ । बकाइनो, तितेपाती, बनमारो, असुरो, केतुके, निम, बेललगायत वनस्पति तथा गाईको गहुँतसमेत मिसाएर वानस्पतिक विषादी बनाइएको शाहले जानकारी दिइन् । प्राङ्गारिक खेतीकै लागि केन्द्रले डि–कम्पोजर पनि बनाएको छ । गुड (भेली) वेस्ट, डिकम्पोजर तथा पानी मिसाइ डि–कम्पोजर बनाइएको हो । यसले प्राङ्गारिक खेती र मल दुवैको काम गर्ने गर्दछ ।


२०३५ सालमा समशितोष्ण तरकारी बीउ उत्पादन केन्द्रको नामबाट स्थापना भएको केन्द्रले पहिलोपटक प्राङ्गारिक खेती थालेको हो । राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्र खुमलटारको सहयोगमा प्राङ्गारिक खेती सुरु गरिएको छ । केन्द्रले प्राङ्गारिक खेतीका लागि कम्पोस्ट मल पनि बनाउन थालेको छ ।


फार्मभित्रै कम्पोस्ट खाडलबाट र भ्रमिक कम्पोस्ट मल तयार हुँदै छ । केन्द्रका प्रमुख रवीन्द्रनाथ चौवेले केन्द्र स्थापना भएको ४० वर्षपछि प्राङ्गारिक खेती सुरु गरिएको बताए ।

प्रकाशित : असार २, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?