वडा कार्यालयमा आगजनी 

विप्लव महर्जन

सल्यान — छत्रेस्वरी गाउँपालिका ३ झिम्पेको मुलखोलामा रहेको वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति दुई बजे भएको आगजनीका कारण दुई कोठे रहेको वडा कार्यालयमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । 

आजगनीका कारण भएको क्षतिको विवरण आउन बाँकी छ । आगजनीबाट प्रशासन र प्राविधिक कोठामा रहेका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरबहादुर खड्काले आगजनीको कारण खोजी भैरहेको र क्षतिको मुचुल्का उठाउँदै गरेको बताए ।

वडा अध्यक्ष राजबहादुर बुढाथोकीले कार्यालयका पाँच दराज, कागजपत्र, ल्यापटप, कम्प्युटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट, लगायत सबै सामग्री जलेको बताए ।

कार्यालयमा कसैले आगो लगाएको हुनसक्ने उनले जानकारी गराए । आगजनीबाट सबै सामान जलेपछि कामकाज कसरी गर्ने अन्यौल भएको उनले बताए ।

आगजनी भएको थाहा भएपछि स्थानीयले आगो निभाएको ज्ञानबहादुर खड्काले बताए । ‘राति दुई बजे कार्यालयका कार्यालय सहयोगीले वडा कार्यालयमा आगलाागी भएको छ भनेर फोन गरे । गएर हेर्दा सबै सामग्री जलेर नष्ट भैसकेको थियो’ उनले भने ।

प्रकाशित : असार ३, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय नाटक महोत्सव : कर्णाली बोकेर राजधानी

फूलमान वल

काठमाडौँ — केही महिनाअघि मात्रै कर्णालीका रंगकर्मीहरूले राजधानीमा ‘गर्भ छिटा’ नाटकमा सुदूरपश्चिमको लोककथा पस्केको थियो । सोमबार राजधानीमा फेरि कर्णाली थिएटर ‘कलापुञ्ज’ का कलाकर्मीहरूले नयाँ लोककथा प्रस्तुत गरे । 

सम्पत्तिको लोभमा बर्बाद भएको एउटा परिवारको कथा बोकेको खस भाषाको नाटक ‘पम्पाफूल’ मञ्चनसँगै सर्वनाम थिएटरमा राष्ट्रिय नाट्क महोत्सव–२०६७ सुरु भएको छ । रंगमञ्चमार्फत कर्णालीको लोककथा प्रवर्द्धनमा लागिपरेको कलापुञ्जका कलाकारले ‘पम्पाफूल’ को लोककथा मुगुको स्कुलमा भेटेका थिए । गाउँको आधारभूत स्कुलहरूमा लोककथा वाचन शृंखला चलाउँदै गर्दा भेटिएको ‘पम्पाफूल’ को कथाले लोभ, मोह र बदलाको भावले विनाश मात्रै निम्त्याउँछ भन्ने सन्देश दिन्छ ।

दाइजोसहित ज्वाइँको घरमा पुर्‍याउँदै गर्दा बाटोमा पर्ने खोलाको दहमा देखिएको जुनलाई ‘पम्पाफूल’ भनेर झुक्याउँदै आफ्नै दाइले बहिनीलाई हत्या गर्छ । सम्पत्ति हत्याउँछ । लोभमै फसेर घरबाट उसले स्वास्नी र आमाबुबा पनि निकाल्छ । जब उमेर घर्किंदै गएपछि जीवनमा एक्लो महसुस हुन्छ, पश्चतापमा जलेर ऊ आफैं बहिनी मारिएको दहमा हाम फाल्छ ।

कथा ‘युनिभर्सल’ भए पनि स्थानीयपनको आभास दिन निर्देशक हीरा बिजुलीले डेउडा गीत, नृत्य र भेषभूषामार्फत कोसिस गरेका छन् । पुरानो पुरुषप्रधान समाजमा नारीमाथि गरिने हिंसाको पाटो पनि नाटकले खोतल्छ । छोरीलाई गरगहना र सम्पत्तिले झपक्क पारिराख्नुपर्छ भन्ने पुरातन मान्यता पनि कथानकभित्र भेटिन्छ ।

मुगुमा नाटकघर बनाउने सपनासहित काम गरिरहेका कलापुञ्जका कलाकारहरूको नाट्य प्रयासलाई सकारात्मक मान्न सकिन्छ । उनीहरूलाई प्रोत्साहनको खाँचो छ । तर, नाटकको गति भने एकदम धीमा महसुस हुन्छ । कथावाचनको शैली सिर्जनशील र चुस्त हुन सकेको छैन । दृश्य निर्माण छरितो बनाउने प्रशस्त ठाउँहरू छन् ।

संगीत र ध्वनिमा खासै काम हुन सकेको छैन । बेलाबेला निर्देशक हीरा स्वयंले आफ्नै स्वरमा गरेको पार्श्व वाचनले पनि नाटकलाई गति प्रदान गर्न सघाएको छैन । दर्शकले बुझिसक्दा पनि चरित्र स्टेजमा अल्मलिरहन्छन् । यो निर्देशकीय कमजोरी हो । ‘गर्भ छिटा’ मा अब्बल काम गरेका हीरा यसपटक मिहिनेतमा चुकेका छन् । मुख्य गरी नाटकको कथ्य संरचना, बनोट र यसको बहावमा निर्देशक अल्मलिएका छन् ।

वस्तुहरूसितको माइम (नक्कल) मा पनि कलाकार चुकेका छन् । गिलासभरि दुध लिएर आएका कलाकारले त्यही गिलास हल्लाउँदै संवाद गर्छन् र पछि त्यही गिलासलाई दुध भएको मान्दै पिलाउँछन् । खोलाबाट ढुंगा उचालेर हानेको दृश्यमा पनि माइमको तालमेल मिल्दैन । लास उठाउने बेला कलाकारहरूले पानीसित कुनै पनि प्रतिक्रिया देखाउँदैनन् ।

डेउडा गीतमार्फत गरिएको कथावाचन भने प्रशंसनीय लाग्छ, यद्यपि नाटकको बीचतिर निर्देशक हीरासहितको कोरसले प्रस्तुत गरेको डेउडा नृत्य लामो लाग्छ । यस्ता थुप्रै आधारभूत कमजोरी रहेको भए पनि कर्णालीबाट काठमाडौंमा नाटक आइपुग्नुलाई सकारात्मक मान्नुपर्छ । कलाकारलेआआफ्नो ठाउँबाट मिहिनेत गरेकै छन् ।

बैदेवी बूढा, विष्णुमाया परियार, देवेन्द्र कार्की, राज मल्ल, रामु विक, निशाखड्का, जन्मलक्ष्मी हमाल, सुशीला रावल, खामु विक, गणेश खड्का, गोविन्द सुनार, दीपेन्द्र नेपालीलगायतको अभिनय छ नाटकमा । मञ्चन सकेपछि निर्देशक हीराले सरकारी तवरबाट आयोजित महोत्सवमा आफूहरूले पहिलोपटक भाग लिएको बताए ।

आफूहरू रंगमञ्चमार्फत नयाँ पुस्तामा कर्णालीको स्थानीय लोक सांस्कृतिक ज्ञान हस्तान्तरणमा लागि परेको बताउँदै यही क्रममा ‘चम्पाफूल’ तयार भएको पनि उनले बताए । नेपाली भाषाको मुहान मानिने खस भाषामा निकै कम नाटक लेखिन्छन्, मञ्चन गरिन्छन् । पछिल्लो समय खस भाषाको नाटक मञ्चनलाई निरन्तरता दिइरहेको हीरा बिजुलीको समूहको अभियानलाई भने प्रशंसनीय मान्नुपर्छ । संस्कृतिविद् तुलसी दिवस र संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायनले उद्घाटन गरेको महोत्सव एक साता जारी रहने छ ।

प्रकाशित : असार ३, २०७६ ०९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्