१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

योजनाविरुद्ध मुद्दा

मुगु — सोरु गाउँपालिकाले चालु आवमा सञ्चालन गर्न लागेका दुई ठूला सडक र तीन स्वास्थ्य भवन निर्माणविरुद्ध मुद्दा दायर गरिएको छ । सिपगाउँदेखि सिरुपाटा र धुपीभीई सडक निर्माणको ठेक्का प्रक्रिया गलत भएको भन्दै अदालतमा मुद्दा दर्ता गरिएको हो । 

व्यवसायी कर्णजंग शाहीले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् । दुवै सडक निर्माणका लागि ३१ कम्पनीले टेन्डर दर्ता गराएका थिए । ६७ प्रतिशत रकम घटेको रारा जीवन कन्स्ट्रक्सन प्रालिको ठेक्का स्वीकृत नगरी बोलपत्रमा घट्दै नघटेको निसान/हिमाल जेभीलाई ठेक्का पारिएको उनको आरोप छ । गाउँपालिकाले निसान/हिमाल जेभीसँग सम्झौता प्रक्रिया अघि बढाएको छ ।


ठेक्का खोलिसकेपछि घटेको फर्मको ठेक्का स्वीकृत गर्नुपर्ने नियम भए पनि कानुनबमोजिम भएकाले मुद्दा दर्ता गरिएको शाहीले दाबी गरे । सिप–सिरुपाटा र धुपीभीई सडक निर्माणका लागि गाउँपालिकाले गत वैशाख ९ गते बोलपत्र आह्वान गरेको थियो ।


सिपसिरुपाटा सडकका लागि ८९ लाख ४९ हजार रुपैयाँ र धुपी–भीइ सडकका लागि ८१ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । सडक निर्माणविरुद्ध अदालतमा मुद्दा पर्दा तारेख थाम्नुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । उनले प्रमुख प्रशासकीय अधिकृतको असावधानीले योजनाको ठेक्कामा समस्या आएको जनाए ।


अदालतमा मुद्दा परेपछि सडक निर्माणमा अन्योल भएको जनप्रतिनिधिको भनाइ छ । जनप्रतिनिधिका अनुसार विवादले गत आवदेखि निर्माण सुरु गरिएको सिपगाउँदेखि पुरुमुरु हुँदै सोरुकोट जोड्ने सडक निर्माणको काम पनि अलपत्र छ ।


सोरु गाउँपालिकाको वडा १, २ र ३ मा स्वास्थ्य चौकी भवन निर्माणको ठेक्कासमेत प्रक्रियागत नभएको भन्दै पदमबहादुर शाहीलगायत ५ ठेकेदारले मुद्दा दर्ता गराएका छन् । स्वास्थ्य चौकी निर्माणका लागि प्रतिभवन ३८ लाखका दरले स्वास्थ्य मन्त्रालयबाट १ करोड १४ लाख रुपैयाँ निकासा भएको छ ।


सोरु गाउँपालिकाको सडक र स्वास्थ्य चौकी भवन निर्माणको टेन्डर प्रक्रिया नियमसंगत नभएको भन्दै मुद्दा दायर भएको जिल्ला अदालतका डिठ्ठा जनक बुढाले बताए । उनका अनुसार मुद्दामाथि आवश्यक छानबिन सुरु भइसकेको छ ।

प्रकाशित : असार ३, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?