अख्तियारमा सल्यानका ७१ उजुरी

सल्यान — झन्डै २ वर्षे अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सल्यानका ७१ उजुरी परेका छन् । तीमध्ये ३७ उजुरी फर्स्यौट भएका छन् भने ३४ अनुसन्धान प्रक्रियामा छन् । 

आयोगको सुर्खेत कार्यालयका अनुसार सबैभन्दा बढी शिक्षाका ३२ र स्थानीय तहका १३ परेका छन् । सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार त्यसमध्ये शिक्षाका २० उजुरी फर्स्यौट भइसकेका छन् ।


उनले दुई वर्षको अवधिमा १८ जनालाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिए । बाग्चौर नगरपालिकाको बांगेलाखुरीमा विद्युत्को पोल खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उनीहरूलाई कारबाही प्रक्रियामा ल्याइएको कार्यालयले जनाएको छ ।


विद्युत् लाइन विस्तारका लागि सांसद क्षेत्र विकास कोषबाट १० लाख र साविक गाविस कार्यालयबाट ५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । अनियमिततामा संलग्नलाई आवश्यक कारबाहीका लागि २०७५ फागुन ७ मा विशेष अदालतमा मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ ।


स्थानीय तहले खर्च मनपरी गरेको भन्दै उजुरी दर्ता गरेको अख्तियारले जनाएको छ । त्यस्तै शिक्षा क्षेत्रमा भवन निर्माणमा अनियमितता भएको, विद्यालय व्यवस्थापन समिति अवैध तरिकाले गठन गरेको, शिक्षक नियुक्ति र परीक्षामा मनपरी गरेको भन्दै उजुरी परेका छन् । विभिन्न सरकारी कार्यालयले निर्माण प्रक्रियामा लापरबाही गरेको स्टमेटअनुसार काम नगरेको, उपभोक्ता समितिले रकम हिनामिना गरेको लगायत उजुरी दर्ता भएका छन् ।


प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले जिल्लाका स्थानीय तहबाट खासै उजुरी नपरेको बताए । उनले स्थानीय प्रशासनमा २/३ वटा स्थानीय तहका मौखिक गुनासा आएको जानकारी दिए । उनले अनियमितता गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता गरे ।

प्रकाशित : असार ५, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?