कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीर्ण सडकले यात्रुलाई सास्ती

मुगु — ट्र्याक खुलेको वर्षौं बिते पनि गमगढी–नाग्मा सडक स्तरोन्नति नहुँदा यात्रु सास्ती भोग्न बाध्य छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकका कारण यात्रुले बर्सेनि सास्ती पाइरहेका हुन् ।

सडक जीर्ण बनेका कारण रारा जाने पर्यटक र यात्रुले दु:ख पाउँदै आइरहेका छन् । वर्षायाम सुरु हुन थालेपछि स्थानीय बासिन्दा सडक बन्द हुने चिन्तामा छन् । हिमपातका कारण पुस/माघमा पनि सडक अवरुद्ध हुने गरेको छ । वर्षायाममा झरी र हिलोका कारण फेरि ३ महिना सडक बन्द हुने भएपछि स्थानीय चिन्तित बनेका हुन् । ‘वर्षायाम सुरु हुन लागिसक्यो, सडकको सामान्य मर्मत गरिए पनि हामीलाई धेरै राहत हुन्थ्यो,’ भण्डारी खाद्य स्टोरका प्रोपराइटर रवि रावतले भने, ‘कसैलाई वास्ता छैन, स्थानीयले फेरि केही महिना खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव व्यहोर्नुपर्ने भयो ।’ उनले वर्षा सुरु हुन लागेसँगै कसरी सामान ढुवानी गर्ने भन्ने चिन्ताले सताउन थालेको गुनासो गरे ।


वर्षायाम सुरु भएपछि सडक बन्द हुने भन्दै स्थानीय व्यापारीले सुर्खेत र नेपालगन्जबाट धमाधम खाद्यान्न, निर्माण सामग्री र उपभोग्य वस्तु ढुवानी गर्न थालेका छन् । वर्षाको समयमा सडक अवरुद्ध हुँदा जिल्लामा विकास निर्माणका अन्य कामसमेत प्रभावित हुन्छन् । आकाश हेर्दै तराईबाट समान ल्याउनुपर्ने अवस्था आइसकेको कर्णाली स्टोरको प्रोपराइटर प्रेम बुढाले बताए । उनका अनुसार पानी परेपछि सडक अवरुद्ध हुने भएकाले मौसम अनुकूल भएको बेला मात्र सामान ढुवानी गर्ने गरिएको छ ।


२०६९ पुस १ गतेबाट सञ्चालनमा आएको ९४ किमि दूरीको गमगढी–नाग्मा सडक ट्र्याक खुल्ने काममै सीमित भएको छ । स्तरोन्नति र कालोपत्रेका लागि अहिलेसम्म कतैबाट पनि पहल नभएको स्थानीयको गुनासो छ । ढल निकासका लागि अधिकांश स्थानमा नाली खन्न बाँकी छ भने विभिन्न खोलामा पुल निर्माण भएका छैनन् ।


गमगढी बजारदेखि झ्यारी–पिनाखोला सम्मको सडक वर्षाको समयमा जोखिमयुक्त हुने गरेको छ । ताल्चा, मैतु, तलितुम, झयारीखोलालगायत क्षेत्रमा सडक हिलाम्मे हुँदा सवारी साधन चल्न मुस्किल हुने गरेको हो । झयारी र ताल्चाखोलामा पुल नबन्दा थप सास्ती व्यहोर्नुपरेको यातायात व्यवसायी बताउँछन् । घुम्ची लेकको सातौं मोड क्षेत्र पनि अति जोखिमयुक्त छ । माथिबाट झर्नै मसिना ढुंगा–माटोका कारण सडक बर्खामा जोखिमयुक्त बन्ने गरेको हो ।


वर्षामा चालकले पहिरो र ढुंगा पन्छाउँदै गाडी चलाउनुपर्ने बाध्यता रहेको छायाँनाथरारा नगरपालिका ७, का अध्यक्ष हरिचन्द शाहीले बताए । उनले हिमपात र वर्षाका कारण ६ महिना यातायात अबरुद्ध हुने गरेको जनाए । ‘कच्ची सडकका कारण रारा घुम्न आउने पर्यटकले निकै सास्ती व्यहोरिरहेका छन्,’ उनले भने, ‘हिउँदको समयमा पनि घुच्चीलेकदेखि गोठीज्यूला, बैरागीडाँडा, रोकायाबाडा हुँदै नाग्मासम्मको सडक निकै जोखिमपूर्ण छ ।’


गमगढी–नाग्मा सडक कालोपत्रेमा सरकारले वर्षौंदेखि बेवास्ता गरिरहेको जिल्ला नागरिक सञ्जालका संयोजक चित्रबहादुर मल्लले बताए । ‘सडकमा बाहैमास गाडी चल्न मुस्किल छ,’ उनले भने, ‘मर्मतका लागि थोरै बजेट बिनियोजन हुन्छ, ठेकेदारले वर्षेनि गुणस्तरहीन काम गरेर झारा टार्छन् ।’ गमगढी–नाग्मा सडक स्तरोन्नतिको जिम्मा लिएका ठेकेदारलाई कालोसूचीमा राख्नेगरी प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन प्रमुख श्रवणकुमार महताराले बताए । ‘काम गर्छौ भनेर ठेक्का सम्झौता गर्ने तर, पछि काम नगर्दा समस्या भएको छ,’ उनले भने, ‘वर्षेनि न्यून मात्रामा बजेट विनियोजन हुँदा स्तरोन्नतिको काम प्रभावकारी हुन सकेको छैन ।’

प्रकाशित : असार ७, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?