१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

कर्णाली प्रदेशसभा संसद्मा दोहोरी

वीरेन्द्रनगर — कर्णाली प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्षी र सत्तापक्षबिच दोहोरी चलेको छ । आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफल सुरु गर्न बसेको वैठकमा बजेटमाथिको छलफल नभइ दोहोरी चलेको हो ।

वैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता जीबनबहादुर शाहीले मुख्यमन्त्री नआएसम्म संसद चल्न नदिने भन्दै विरोध जनाएपछि संसद अवरुद्ध भयो ।


सांसद शाहीले विरोध जनाउनासाथ प्रतिपक्षी दलका सांसद उभिएर सांकेतिक विरोध जनाएका थिए । सभामुख राजबहादुर शाहीले संसदमा छलफलका लागि भाग लिइसकेपछि विरोध गर्नु उचित नहुने भन्दै बस्न आग्रह गरे पनि सांसद शाहीले संसदको मर्यादालाई कटौती गर्न नमिल्ने बताए । ‘मर्यादालाई नमान्ने हो भने चउरमा गएर छलफल गरौँ न त,’ उनले भने, ‘सरकार, संसद किन चाहियो ? सबैको हातमा किताब छ यत्तिकै छलफल गरौँ ।’


सभामुख शाहीले बारम्बार छलफलमा भाग लिन आग्रह गरे पनि मुख्यमन्त्रीलाई नबोलाएसम्म छलफल सुरु नगर्ने प्रतिपक्षीको चेतावनी थियो । प्रतिपक्षीले उठाएको विषयप्रति संसद गम्भीर भएको भन्दै सभामुख शाहीले पुनःविचार गरेर वैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे ।


प्रतिपक्षीले उभिएर सांकेतिक विरोध गरिरहेको अवस्थामै सत्तापक्षका सांसद गोपाल शर्माले संसद र सरकारको बचाउ गर्दै सदनको मर्यादालाई कायम गर्न विपक्षीलाई आग्रह गरे ।


प्रतिपक्षीले अनावश्यक रुपमा सदन बारम्बार अवरुद्ध गरेको भन्दै सांसद शर्माले बजेटको छलफलका लागि मुख्यमन्त्री नै हुन आवश्यक नरहेको बताए । ‘बजेटको कुरा आर्थिक मन्त्रीसँग जोडिन्छ,’ उनले भने, ‘सरकारका अन्य मन्त्री र आर्थिक मन्त्री पनि सहभागी भएको बेला सदन अवरुद्ध गर्नु उचित हुँदैन ।’ सांसद शर्मा बोलेलगत्तै प्रतिपक्षी दलका सांसद शाहीले अनावश्यक विषय आफूहरूले नउठाएको जिकिर गरे ।


‘सधैँ मुख्यमन्त्री र मन्त्रीसँग भेट हुनुपर्छ भन्ने होइन,’ उनले भने, ‘असार १ गते पेश भएको बजेटमाथि ८ गतेसम्म आईपुग्दा पनि किन छलफल हुन सकेन ?’ अहिलेसम्म बजेटमाथिको छलफल सुरु नहुँदा सत्तापक्षका सांसद कहाँ सुतिरहेको भन्दै उनले प्रश्न गरे ।


संसदको निष्ठा र मर्यादाका लागि आफूहरूले विरोध जनाएको सांसद शाहीको भनाइ थियो । प्रतिपक्षीको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको संसद वैठक पुनः सुरु हुन नसकेपछि सूचना टाँस गरी स्थगित गरिएको छ । संसदको अर्को वैठक ११ गते दिउँसो ३ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित : असार ९, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?