कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आठबीसकोट मदिरामुक्त

रुकुम पश्चिम — आठबीसकोटलाई मदिरामुक्त नगर घोषणा गरिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सोमबार औपचारिक कार्यक्रमबीच आठबीसकोटलाई मदिरामुक्त नगर घोषणा गरे । 

यो सँगै कर्णालीका २ नगरपालिका मदिरामुक्त घोषणा भएका छन् । यसअघि मुगुको छायाँनाथरारा नगरपालिकालाई मदिरामुक्त नगर घोषणा गरिएको थियो । आठबीसकोटलाई मदिरामुक्त नगरपालिका घोषणा गर्दै मन्त्री ज्वालाले यो महत्त्वपूर्ण सुरुवात भएको बताए ।


विभिन्न हिंसा, विकृति, विकास विरोधी मानिने मदिरा बन्द गरिनु सबै क्षेत्रको विकास एकैपटक हुनु रहेको उनको भनाइ छ । आठबीसकोट नगरपालिकाबाट सुरु भएको अभियान अब कर्णाली प्रदेशका अन्य स्थानीय तह हुँदै जिल्लासम्म पुर्‍याउनका निम्ति प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता ज्वालाले जनाए ।


आठबीसकोटका १४ मध्ये यसअघि वडा १३ मदिरामुक्त घोषणा गरेपछि सोमबार वडा ९ र नगरलाई नै मदिरामुक्त घोषणा गरिएको हो । वडा ३ बाट सुरु मदिरामुक्त अभियान अब नगरपालिकासम्म आइपुगेको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि थालिएको अभियानले बल्ल मूर्त भएको केसीको भनाइ छ । गत फागुन दोस्रो सातादेखि वडालाई मदिरा मुक्त वडा घोषणा थालिएको थियो ।


मदिरामुक्त नगर घोषणापछि आठबीसकोट नगरपालिकाले ४ बुँदे घोषणा पत्र पनि जारी गरेको छ । नगरपालिकाभित्र कुनै पनि किसिमका मदिराजन्य पदार्थ आयात, बिक्री वितरण र सेवन पूर्ण रुपमा निषेध गरी मदिरामुक्त नगरपालिका घोषणा पूर्ण रुपमा कार्यान्वन गरिने, सामाजिक विकृति, विसंगतीको उन्मुलन, सबै किसिमका हिंसा न्यूनीकरण गर्नेलगायत प्रतिबद्धता गरिएको हो ।

आठबीसकोटलाई मदिरामुक्त नगर घोषणा गर्ने नगरपालिकाको कार्य महत्वपूर्ण उपलब्धि भएको राडीज्यूला शिक्षा क्याम्पस प्रमुख नयना चन्दले बताइन् । घोषणा मात्रै ठूलो कुरो नभई कार्यान्वन पनि महत्वपूर्ण भएकाले घोषणालाई व्यवहारमा कार्यान्वन गर्नुपर्ने चन्दको भनाइ छ ।

प्रकाशित : असार १०, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?