मोबाइल चार्ज गर्न ५० रुपैयाँ

कान्तिपुर संवाददाता

मुगु — गमगढी बजारमा विद्युत् अबरुद्ध हुँदा सर्वसाधारणले ५० रुपैयाँ तिरेर मोबाइल चार्ज गर्न बाध्य छन् । विद्युत् नभएको फाइदा उठाउँदै ब्यापारीले जेनेरेटरमार्फत मोबाइल चार्ज गरेको ५० रुपैयाँ लिने गरेका हुन् । 

जेनेरेटर चलाएका पसलमा मोवाइल चार्ज गर्न कर्मचारी विद्यार्थी र स्थानीयको भीड लाग्ने गरेको छ । मगगाढ साना जलविद्युत् आयोजनाको पावरहाउसमा खरावी आएपछि विद्युत सेवा अबरुद्ध भएको छ । २ साताअघि पावरहाउसमा रहेको पाइपबाट पानी चुहिन थालेपछि विद्युत् सेवा बन्द भएको हो । मौसम परिर्वतन भइघाम नलाग्दा सौर्य ऊर्जा चार्ज गर्नसमेत समस्या भइरहेको
स्थानीयको गुनासो छ ।

स्थानीयका अनुसार अनुसार व्यवसायीले जेनेरेटरबाट फोटोकपी गरेको २० रुपैयाँ लिने गरेका छन् । ल्यापटप चार्जको १ सय रुपैयाँ लिने गरिएको स्थानीयको भनाइ छ । जेनेरेटर चलाउन १ सय ६५ रुपैयाँ प्रतिलिटर इन्धन किनेर सेवा दिनु परिरहेको कार्की फोटो स्टुडियोका कमलराज कार्कीले बताए ।

विद्युत् समस्याले जिल्ला अस्पतालको एक्सरे, भिडियो एक्सरे र ल्याव परीक्षण सेवा अबरुद्ध भएको छ । विद्युत् नहुँदा जटिल समस्या भएका विरामी समस्यामा पर्न थालेको अस्पतालका डा. डबल मल्लले बताए । उनले अस्पतालमा जेनेरेटर र सौर्य ऊर्जा नहुँदा समस्या भएको जनाए । ‘विरामीलाई राति उपचार गर्नसमेत समस्या भएको छ,’ उनले भने, ‘गर्मी मौसम सुरु भएसँगै अस्पतालमा विरामीको चाप बढिरहेको छ, तर उपचार प्रभावित भइरहेको छ ।’

उनले अस्पतालमा दैनिक ७० देखि ९० जना विरामी उपचारका लागि आउने गरेको जनाए । बिरामीलाई खकार, रगत, दिसापिसाब जाँच गर्न समस्या भएको स्वास्थ्यकर्मीले जनाएका छन् । प्रयोगशालाका सबै मेसिन अबरुद्ध भएपछि रोग पत्ता लगाउन समस्या भएको उनीहरूको भनाइ छ ।

गमगढी बजार, कार्कीबाडा, भामबाडा, श्रीनगर, ढुम, पिना, ताल्चालगायत २ हजार ५ सय घरधुरीमा आयोजनाले विद्युत् सेवा दिएको छ । बिद्युत् सेवा अबरुद्ध हुँदा नेपाल टेलिकमको मोवाइल रइन्टरनेट सेवासमेत प्रभावित भएको छ । चार दिनदेखि गमगढी बजारमा रहेका मुगु र रारा एफएमले प्रशारण बन्द गरेका छन् ।

विद्युत् आयोजनाको मर्मत सुरु गरिएको आयोजनाले जनाएको छ । १ सय ३० मिटर नहरमा सिमेन्ट प्लाष्टर गर्ने काम सकिएको आयोजना प्रमुख शिवप्रसाद पाण्डेयले बताए ।

प्रकाशित : असार १०, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

आठबीसकोट मदिरामुक्त

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — आठबीसकोटलाई मदिरामुक्त नगर घोषणा गरिएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सोमबार औपचारिक कार्यक्रमबीच आठबीसकोटलाई मदिरामुक्त नगर घोषणा गरे । 

यो सँगै कर्णालीका २ नगरपालिका मदिरामुक्त घोषणा भएका छन् । यसअघि मुगुको छायाँनाथरारा नगरपालिकालाई मदिरामुक्त नगर घोषणा गरिएको थियो । आठबीसकोटलाई मदिरामुक्त नगरपालिका घोषणा गर्दै मन्त्री ज्वालाले यो महत्त्वपूर्ण सुरुवात भएको बताए ।

विभिन्न हिंसा, विकृति, विकास विरोधी मानिने मदिरा बन्द गरिनु सबै क्षेत्रको विकास एकैपटक हुनु रहेको उनको भनाइ छ । आठबीसकोट नगरपालिकाबाट सुरु भएको अभियान अब कर्णाली प्रदेशका अन्य स्थानीय तह हुँदै जिल्लासम्म पुर्‍याउनका निम्ति प्रदेश सरकार लागिपर्ने प्रतिबद्धता ज्वालाले जनाए ।

आठबीसकोटका १४ मध्ये यसअघि वडा १३ मदिरामुक्त घोषणा गरेपछि सोमबार वडा ९ र नगरलाई नै मदिरामुक्त घोषणा गरिएको हो । वडा ३ बाट सुरु मदिरामुक्त अभियान अब नगरपालिकासम्म आइपुगेको नगर प्रमुख गोर्खबहादुर केसीले बताए । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि थालिएको अभियानले बल्ल मूर्त भएको केसीको भनाइ छ । गत फागुन दोस्रो सातादेखि वडालाई मदिरा मुक्त वडा घोषणा थालिएको थियो ।

मदिरामुक्त नगर घोषणापछि आठबीसकोट नगरपालिकाले ४ बुँदे घोषणा पत्र पनि जारी गरेको छ । नगरपालिकाभित्र कुनै पनि किसिमका मदिराजन्य पदार्थ आयात, बिक्री वितरण र सेवन पूर्ण रुपमा निषेध गरी मदिरामुक्त नगरपालिका घोषणा पूर्ण रुपमा कार्यान्वन गरिने, सामाजिक विकृति, विसंगतीको उन्मुलन, सबै किसिमका हिंसा न्यूनीकरण गर्नेलगायत प्रतिबद्धता गरिएको हो ।

आठबीसकोटलाई मदिरामुक्त नगर घोषणा गर्ने नगरपालिकाको कार्य महत्वपूर्ण उपलब्धि भएको राडीज्यूला शिक्षा क्याम्पस प्रमुख नयना चन्दले बताइन् । घोषणा मात्रै ठूलो कुरो नभई कार्यान्वन पनि महत्वपूर्ण भएकाले घोषणालाई व्यवहारमा कार्यान्वन गर्नुपर्ने चन्दको भनाइ छ ।

प्रकाशित : असार १०, २०७६ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्