२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

विद्यालयमा किशोरी शिक्षा

विप्लव महर्जन

सल्यान — कपुरकोट गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई जीवन उपयोगी सीप प्रदान गर्न किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरणमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, किमुचौर र वीरेन्द्र मावि गर्पामा किशोरी शिक्षा कक्षा सञ्चालन गरिएको हो । 

विद्यालयमा किशोरी शिक्षा

किशोरी कक्षामार्फत किमुचौरमा २ सय ३० र गर्पाका करिब १ सय ५० छात्रालाई विभिन्न जीवनउपयोगी सीपबारे प्रशिक्षण दिइएको छ । किशोरावस्थामा आउने विभिन्न परिवर्तन, महिनावारी, बाल विवाह, प्रजनन समस्यालगायत विषयमा जानकारी दिई सचेतना अभियान सञ्चालन गर्न लागिएको हो । कक्षामा किशोरावस्थामा आउने समस्या, हुने परिवर्तन, गर्भावस्था, जन्मान्तर, बालविवाहका कारण तथा असर, कानुनी प्रावधानलगायत विषयमा सचेतना दिइनेछ ।


त्यस्तै महिला हिंसा, प्रजनन स्वास्थ्य, पोषण, खोप, वित्तीय साक्षरतालगायत विषयवस्तुमाथि छलफल भइरहेको गाउँपालिकाले जनाएको छ । किशोरी शिक्षाअन्तर्गत विभिन्न विद्यालयमा महिनावारी स्वच्छता, प्रजनन स्वास्थ्य, प्रजनन अधिकार, वालविवाह न्युनीकरणलगायत विषयमा कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण भण्डारीले बताए । उनका अनुसार कार्यक्रमले बालिकाको नेतृत्व विकासमा समेत टेवा पुगेको छ । उनले किशोरी शिक्षामार्फत महिला र पुरुषबीचको विभेद घटाउन खोजिएको जानकारी दिए ।


कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले सामाजिक कुरितीको अन्त्य गर्न बालिकालाई किशोरी शिक्षाको खाँचो रहेको बताए । ‘भविष्यमा महिलाको आर्थिक सशक्तीकरणका लागि समेत किशोरी शिक्षाले मद्दत गर्ने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘विभिन्न कुरिती न्यूनीकरणका लागि किशोरी शिक्षा दिएर बालिकामार्फत अभियान सञ्चालन गर्न लागेका छौं ।’


उनले यसअघि विद्यार्थीमार्फत सञ्चालन गरिएका सचेतना कार्यक्रमको राम्रो प्रभाव देखिएको जनाए । किशोराबस्थामा देखा पर्ने विभिन्न समस्या समाधानका लागि गाउँपालिकाभरिका विद्यालयका छात्रालाई प्रशिक्षण दिइने उनको भनाइ छ । गाउँपालिकामा बढो बालविवाह न्यूनीकरण गर्न किशोरी शिक्षा प्रभावकारी हुने उनी बताउँछन् ।


गाउँपालिकाका उपाध्यक्ष तीला बुढा मगरले किशोरीले आफ्नो जीवनमा आउने परिवर्तनलाई सहज रुपमा लिन् सकुन भन्दै कार्यक्रम सञ्चालन गरिएको बताइन् । ‘आफूले सिकेका सीप र ज्ञान बालिकाले परिवारका अन्य सदस्यलाई जानकारी गराउने अपेक्षा छ,’ उनले भनिन् ।

प्रकाशित : असार १०, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?