कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चुहिने जीर्ण भवनमा पठनपाठन

ज्योति कटुवाल

दैलेख — गुराँस गाउँपालिका ८ स्थित मालिका माविको भवन निर्माण ६ वर्षदेखि अलपत्र हुँदा विद्यार्थी जीर्ण भवनमा पढ्दै आएका छन् । पानी परेका बेला विद्यार्थी छाता ओढ्छन् भने शिक्षक रेनकोट ओढेर पढाउँछन् । 

२०७० मंसिरबाट भवन निर्माण थालिए पनि अलपत्र परेपछि १ देखि १२ कक्षाको पढाइ पुरानो र जीर्ण भवनमा भइरहेको हो । जीर्ण भवनको कच्ची टिनको पाता हावाले ५ पटक उडाइसकेको छ ।


हावाले उडाएको छाना सामान्य मर्मत गरेर प्रयोगमा ल्याइएकोले पानी चुहिने गरेको हो । विद्यालयमा विद्यार्थी नआउँदै पानी परे बिदा भएको सूचना जारी गर्ने विद्यालयले जनाएको छ । तर पढाइ भइरहेको बेला पानी परे विद्यार्थीलाई छाता ओढ्नुपर्ने बाध्यता छ । २ सातादेखि विद्यालय आउँदा छाता ल्याउन विद्यार्थीलाई विद्यालय प्रशासनले निर्देशन दिएको थियो । दिनहुँ पानी परे असार र साउनमा विद्यालय बन्द गर्नुपर्ने बाध्यता आएको प्रधानाध्यापक भक्तबहादुर बस्नेतले बताए ।


कक्षा ७ मा अध्ययनरत मोहन डाँगीले पानी चुहिँदा २ वर्षदेखि छाता ओढेर पठनपाठन गर्नुपरेको बताए । कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा ९ कोठा मात्र छन् । कोठा अभावका कारण बिहान–दिउँसो गरेर पठनपाठनको व्यवस्था मिलाइएको विद्यालयले जनाएको छ ।


सम्झौता भएको ६ वर्ष बित्दासमेत १२ कोठे भवन निर्माण पूरा नभएपछि विद्यार्थी र शिक्षकले वर्षौंदेखि सास्ती भोग्दै आइरहेका हुन् । भारतीय दूतावासको सहयोगमा भवन निर्माणको काम थालिएको हो । नयाँ विद्यालय भवन ढलानमै सीमित भएको छ । विद्यालय निर्माणका लागि खानी निर्माण सेवा, बानेश्वरले ठेक्का लिएको छ ।


ठेकेदार कम्पनीको लापरबाहीका कारण भवन निर्माणको काम अलपत्र परेको स्थानीयको भनाइ छ । ठेकेदार कम्पनीले वार्षिक १५ लाख रुपैयाँका दरले मात्र रकम भुक्तानी पाइरहेकाले भवन निर्माणले तीव्रता लिन नसकेको दाबी गर्दै आइरहेको छ । इन्जिनियर जगत बुढाका अनुसार बजेट अभावका कारण काम अगाडि बढाउन नसकिएको हो ।


‘रकम समयमा आएको भए ३ वर्षमै काम सकिन्थ्यो,’ उनले भने, ‘दूतावासले वर्षौंदेखि झुलाएकाले भवन निर्माणमा समस्या भएको हो ।’ भवन निर्माणका लागि भ्याटसहित ४ करोड २५ लाख ६६ हजार रुपैयाँमा ठेकेदार कम्पनीले सम्झौता गरेको छ । निर्माण कम्पनीले ३ वर्षमै काम सक्नेगरी सम्झौता गरेको थियो । उनका अनुसार भारतीय द्तूावासको सहयोगमा बन्न थालेका अधिकांश भवन अलपत्र छन् ।


विद्यालय प्रशासनले पटकपटक रकम निकासाका लागि अनुरोध गरे पनि बेवास्ता भइरहेको जनाएको छ । विद्यालय जीर्ण बनेपछि २० प्रतिशत विद्यार्थीले विद्यालय छोडेको प्रधानाध्यापक बस्नेतले बताए । ‘विद्यालयको अवस्थाका कारण बर्सेनि विद्यार्थी संख्या घट्दै गएको छ,’ उनले भने, ‘नजिकैको गाउँका विद्यार्थीसमेत अन्य विद्यालयमा पढ्न जान थालेका छन् ।’


विद्यालयमा कक्षा १ देखि १२ सम्म साढे ४ सय विद्यार्थी भर्ना भएका छन् । तर २० प्रतिशत विद्यार्थी अन्यत्र विद्यालयमा पढ्न जाने गरेको उनले गुनासो गरे । जिल्ला समन्वय अधिकारी पदम सापकोटाले ठेकेदारले काम गरे अनुसारको रकम भुक्तानी भइसकेको जानकारी दिए ।

प्रकाशित : असार ११, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?