२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सुन्तला जोन कार्यक्रम : किसानलाई प्रोत्साहन अनुदान

जाजरकोट — प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्लाका किसानलाई उपलब्धिमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गरेको छ । परियोजनाले कुशे गाउँपालिका, भेरी नगरपालिका २ र नलगाड नगरपालिका ३ का किसानलाई सुन्तला उत्पादनका लागि प्रोत्साहन अनुदान वितरण गरेको हो ।

परियोजनाले कुशेका ३ सय २०, भेरीका ९६ र नलगाडका १ सय २६ सुन्तला उत्पादक किसानलाई अनुदानअर्न्तगत ७ लाख रुपैयाँ वितरण गरिएको जनाएको छ । ५० भन्दा धेरै सुन्तलाका बिरुवा लगाएका किसानलाई ५ सय देखि ९ हजारसम्म प्रोत्साहन रकम वितरण गरेको जोन प्रमुख वरिष्ठ कृषि अधिकृृत टंकप्रसाद रिजालले वताए । उत्पादनका आधारमा पहिलोपल्ट प्रोत्साहन रकम वितरण गरिएको उनको भनाइ छ । वितरण प्रोत्साहन अनुदान कार्यक्रमबाट जोन सञ्चालक समितिलाई समेत ३ लाख रुपैयाँ अनुदान दिएको रिजालको भनाइ छ ।


त्यस्तै परियोजनाले सुन्तला खेती गरिरहेका किसानलाई २० लाख रुपैयाँमा कृषि औजार खरिद गरी वितरण गरिएको जनाएको छ । कृषकलाई पावर ट्रेलर ट्र्याक्टर, खाल्डा खन्ने मेसिन, पावर स्प्रेयर, सिकेचर, फुट स्प्रेयर, भर्‍याङ, आरी, कैंची, जुसर मेसिन, तौल मेसिन, स्प्रिंकलरलगायत कृषि औजार वितरण गरिएको हो ।


‘हामीले वितरण गरेका उपकरण विरुवा लगाउँदादेखि फल निकाल्दासम्म प्रयोगमा आउनेछन्,’ रिजालले भने, ‘सुन्तलाको बगैंचा व्यवस्थापन, सिँचाइ, गोडमेल, खनजोत, खाल्डा खन्न, सुन्तला टिप्न र भण्डारण गर्न चाहिने सबै सामग्री किसानलाई उपलव्ध गराइएको हो ।’


कस्टम हाइरिङ सेन्टर र पोस्ट हारभेस्ट सेन्टर कार्यक्रमको रकमबाट किसानलाई कृषि औजार वितरण गरिएको परियोजनाले जनाएको छ । परियोजनाका अनुसार कृषि औजार ५० प्रतिशत अनुदानमा वितरण गरिएका हुन् ।


कुशे गाउँपालिका, भेरी नगरपालिका २ र नलगाड नगरपालिका ३ लाई समेटेर २ वर्षअघि सरकारले सुन्तला जोन स्थापना गरेको थियो । कुशेको दम्दाला, ढिमे, अर्छानी, भेरीको तिमिले, पोखरा, डिङ्गा र नलगाडको टट्टा, करुवालगायत ठाउँमा सुन्तला जातलाई विशिष्टकृत बालीको आधार मानेर जोन स्थापना भएको हो ।


किसानलाई आत्मनिर्भर व्यवसायी बनाउन, युवाको पलायन रोक्न, खाद्य तथा पोषणको सुरुक्षा सुनिश्चितता गर्न र कृषि क्षेत्रको आधुनिकीकरण गर्न परियोजना सञ्चालनमा ल्याइएको रिजालले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअर्न्तगत ५ सय हेक्टरमा सुन्तला खेती गर्ने योजना छ ।


‘कार्यक्रमले सुन्तलाको व्यावसायिक तथा गुणस्तरीय उत्पादनमा जोड दिँदै किसानलाई आत्मनिर्भर बनाउन सहयोग गरिरहेको छ,’ उनले भने, ‘कार्यक्रममार्फत किसानलाई आत्मनिर्भर बनाउन बजारीकरणमा समेत सहयोग गरिरहेका छौं ।’ उनका अनुसार कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण, साना सिँचाइ, पूर्वाधार निर्माण, प्राविधिक तथा प्रयोगशाला सेवा, कृषि बजार केन्द्र्र स्थापनालगायतमा सहयोग गरिनेछ । कुशे गाउँपालिका ५, दम्दाला र ढिमेमा वर्षौंदेखि व्यावसायिक सुन्तला खेती भइरहेको छ ।

प्रकाशित : असार ११, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?