कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आन्द्रामा प्वालको शल्यक्रिया

सल्यान — जग्गा पास गर्न खलंगा आएको समयमा बेहोस भएका बाग्चौर नगरपालिका ६, कोटबाराका ५४ वर्षीय कुलसिंह चन्दको जिल्ला अस्पतालमै जटिल शल्यक्रिया गरिएको छ । आन्द्रामा प्वाल परेर गम्भीर अवस्थामा पुगेका उनको अस्पतालमा सफल शल्यक्रिया गरिएको हो ।

आन्द्रामा प्वालको शल्यक्रिया

एक साताअघि जिल्ला मालपोत कार्यालयमा जग्गा पास गर्न आएका उनलाई बाटैमा बेहोस भएपछि स्थानीयले जिल्ला अस्पताल पुर्‍याएका थिए । उनको साथमा कोही नआएको र घरको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएपछि चिकित्सकले अस्पतालमै शल्यक्रिया गरेका हुन् ।


बेहोस अवस्थाका चन्दको भिडियो एक्सरे गर्दा आन्द्रामा प्वाल परेको भेटिएपछि शल्यक्रिया गरिएको जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताए । अस्पतालमै बेहोस बनाएर शल्यक्रिया गराउने उपकरण आएपछि उनको उपचारमा सजिलो भएको उनको भनाइ छ । ‘आन्द्रामा प्वाल पर्नु जटिल स्वास्थ्य समस्या हो,’ उनले भने, ‘यसअघि यस्तो समस्याको जिल्लामा अप्रेसन गर्ने गरिएको थिएन, ग्यास्ट्रिक र सुर्तीजन्य पदार्थ सेवनका कारण आन्द्रामा प्वाल पर्दछ ।’


उनलाई जिल्ला बाहिर लगिएको भए शल्यक्रिया, औषधि तथा यातायात खर्चसहित १ लाख बढी रकम खर्च हुने स्वास्थ्यकर्मीको भनाइ छ । उनको अवस्था सामान्य बन्दै गइरहेको छ । स्वास्थ्यकर्मीका अनुसार उनी पेट दुख्ने र ज्वरो आउने समस्याले पीडित थिए । उनको शल्यक्रिया भएको दुई दिनपछि मात्र परिवारका सदस्यले थाहा पाएको डा. शर्माले बताए । उनका अनुसार शल्यक्रिया गरेपछि चन्दमा निमोनियाँको समस्या देखिएको थियो ।


‘निमोनियाँपछि पेटमा पानी जम्ने समस्या देखियो, त्यो पनि ठीक भएपछि चिन्ता रोग देखियो,’ शर्माले भने, ‘अहिले बिरामीको अवस्था ठिक छ ।’ उनका अनुसार १/२ दिनपछि अस्पतालले बिरामीको डिस्चार्ज गर्ने तयारी गरेको छ । जिल्ला अस्पतालका अनुसार चन्दको शल्यक्रिया गर्न ३ घण्टा लागेको थियो ।


जग्गा पास गर्न खलंगा आएका पति लामो समयसम्म घर नफर्किएपछि खोजतलास गरेको पत्नी जया चन्दले बताइन् । उनी शल्यक्रिया गरिएको २ दिनपछि अस्पतालमा आएकी हुन् । ‘घरको आर्थिक अवस्था निकै नाजुक छ, बाहिर लिएर उपचार गर्न सक्ने अवस्था थिएन,’ उनले भनिन्, ‘जिल्ला अस्पतालमै कम खर्चमा श्रीमानको ठूलो अप्रेसन भएपछि धेरै खुसी मिलेको छ ।’ यसअघि आफ्नो मुटुको शल्यक्रिया गर्दा लागेको ऋण तिर्न नसकिएको उनले बताइन् । उनले शल्यक्रिया गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यवाद दिइन् ।

प्रकाशित : असार १२, २०७६ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?