कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

किसानलाई रोपाइँको चटारो

झरीले खेत ओसिलो र खोलामा पानी बढेपछि किसानलाई रोपाइँ गर्न सजिलो भएको हो
राजबहादुर शाही

मुगु — दिनहुँ पानी पर्न थालेपछि जिल्लामा रोपाइँको चटारो सुरु भएको छ । असार सुरु भएसँगै किसान रोपाइँमा व्यस्त बन्न थालेका हुन् ।अहिले बेंसीमा किसान बिहानैदेखि साँझ अबेरसम्म खेतमै व्यस्त बन्न थालेका छन् ।

किसानलाई रोपाइँको चटारो

छायाँनाथरारा नगरपालिकाको चैन, कार्कीबाडा, ढुम, भामबाडालगायत गाउँका किसान खेतमा धान रोप्न व्यस्त छन् । सिमसिमे पानीमा समेत किसानले धान रोप्ने गरेको अगुवा कृषक भीमचन्द हमालले बताए । यो वर्ष समयमै पानी परेकाले खेतमा व्यस्तता बढेको उनको भनाइ छ । ‘अहिले हामीलाई बिहानदेखि रोपाइँको कामले फुर्सद हुन छाडेको छ,’ उनले भने, ‘बालबालिकादेखि वृद्धसम्म खेतमै दिनभर व्यस्त बन्न थालेका छौं ।’


सोरु गाउँपालिकाको फोतु, लिब्रु, रावलबाडा, भाटगाउँ र माथिलिब्रुका किसान पनि रोपाइँमा जुटिरहेका छन् । झरीले खेत ओसिलो भएको र खोलामा पानी बढेपछि किसानलाई रोपाइँ गर्न सजिलो भएको हो । स्थानीयका अनुसार फाँटमा एकै दिनमा ३/४ परिवारको रोपाइँ भइरहेको छ ।


किसानका खेतबारीमा असारे भाका घन्किन थालेको सोरु गाउँपालिका ४, फोतुका बिर्ख शाहीले बताए । उनका अनुसार केही गाउँमा रोपाइँका अवसरमा हुडेसमेत नाचिन्छ । उनले केही क्षेत्रमा पुल्ती नाचको प्रचलन रहेको जानकारी दिए । ‘खेतमा रोपाइँसँगै रमाइलो गर्ने पनि प्रचलन छ,’ उनले भने, ‘धान रोपाइँले किसानका खेत रमाइला बन्न थालेका छन् ।’


धान रोपाइँ सकेर जिल्लाका किसान पाखोबारीमा लगाइएको कोदो र कागुनो गोडमेलमा लाग्ने गरेका छन् । सोरु गाउँपालिकाको जिमा, सीप, कालै, धैनकोट, गिलाहालगायत बस्तीमा पनि धमाधम रोपाइँ भइरहेको छ । जिल्लाका अधिकांश गाउँमा सामूहिक रूपमा धान रोप्ने चलन छ । ‘एक परिवारको सकिएपछि अर्को धरधुरीलाई सघाउने यहाँको पुरानो चलन हो,’ जिमा गाउँका दुर्गाप्रसाद भट्टले भने, ‘असार १५ गतेअघि रोपाइँ गरिए धानबाली सप्रने स्थानीयको विश्वास छ ।’


खत्याड गाउँपालिकाको सुकाढिक, आम, रातापानी, श्रीकोट, गम्था, सेरी, रिघा, हयाङलुलगायत बस्तीमा पनि धान रोपाइँको चटारो छ । जिल्लामा सबैभन्दा बढी खत्याड गाउँपालिकामा धान खेती हुन्छ । छायानाथरारा नगरपालिकाका कृषि शाखा अधिकृत केबी रोकायाले जिल्लामा छुमरुक, मार्सी, जुगे, रातो र सेतो चिनामुरीलगायत जातको धान रोपिने गरेको जानकारी दिए ।

प्रकाशित : असार १२, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?