कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऋण काढेर कार–प्यारामोटर आविष्कार

कर्णालीमा अत्याधुनिक विज्ञान प्रयोगशाला निर्माण गर्न युवाको माग
चाँदनी कठायत

वीरेन्द्रनगर — बग्गी कारदेखि प्यारामोटर अनि प्याराग्लाइडिङ र लिफ्टले सबैको ध्यान खिच्यो । सुर्खेत जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्रदेशस्तरीय युवा वैज्ञानिक प्रतिभा पहिचान कार्यक्रममा यहाँकै युवाबाट बनाइएका सामग्री प्रदर्शन गरिए ।

ऋण काढेर कार–प्यारामोटर आविष्कार

प्रदर्शनीमा जुम्लाका तप्त नेपालीले बनाएको प्यारामोटर आकर्षणको केन्द्र बन्यो । ३ सय मिटर माथिसम्म उडाउन मिल्ने गरी बनाइएको प्यारामोटर प्याराग्लाइडिङको विशेषतायुक्त छ । ‘यो उड्ने मोटर पेट्रोलबाट चल्छ,’ उनले भने, ‘आर्थिक सहयोग भयो भने अझ परिस्कृत गरी बनाउन सकिन्छ ।’


विज्ञानमा रुचि राख्ने नेपालीले ३ लाख रुपैयाँ ऋण काढेर प्यारोमोटर बनाएको बताए । परीक्षण उडान सफल भए पनि साहूको ऋण तिर्न नसक्दा चिन्ता लागेको छ । ‘सरकारले सहयोग गरे कर्णालीमा पनि नयाँ आविष्कार गर्न सक्ने क्षमता भएका युवा छन्,’ उनले भने, ‘तर उचित सहयोग नपाउँदा सिर्जनशील सोच त्यतिकै हराएर जान्छ ।’


११ कक्षामा अध्ययनरत सुर्खेतका दर्पण खरालको बग्गीकार पनि हेर्नलायक थियो । उनले घरमा बुबाको अनिच्छा हुँदाहुँदै पनि एक महिनाको बिदामा कार बनाएको बताए । उनका अनुसार कार बनाउन साढे ३ लाख खर्च भएको थियो । ‘हामी आफ्नै ठाउँमा बसेर केही गर्न चाहान्छौँ,’ उनले भने, ‘यसका लागि सरकारले हामीलाई आर्थिक तथा प्राविधिक सहयोग गरिदिनुपर्छ ।’ सरकारले युवाको आवश्यकता र महत्त्व नबुझदा अधिकांश युवा बाहिरी देशमा गएर काम गर्नुपर्ने अवस्था आएको बताए ।


प्रदर्शनीमा प्रदेशका १२ युवाले आ–आफ्ना आविष्कार प्रस्तुत गरेका थिए । उनीहरूले कर्णाली प्रदेशमा अत्याधुनिक विज्ञान प्रयोगशाला स्थापना गर्न प्रदेश सरकारसँग माग गरे । सुर्खेतका खोज अनुसन्धान वैज्ञानिक रामप्रसाद बरालले आफूहरूले यही क्षेत्रका जडिबुटीबाट औषधि बनाए पनि प्रयोगशाला नहुँदा यहाँका नागरिक महँगोमा औषधि किनेर खान बाध्य भएको बताए । ‘जडीबुटी तथा खानीले कर्णाली धनी छ,’ उनले भने, ‘तर खोज अनुसन्धान गर्ने स्रोतसाधनको अभावले गर्दा पछाडि परेका छौं, सरकारले हाम्रो पनि चिन्ता गरिदिनुपर्‍यो ।’


कार्यक्रममा सामाजिक विकासमन्त्री दल रावलले यहाँका वैज्ञानिकका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले वैज्ञानिकलाई योजनाबद्ध ढंगले अनुसन्धान गर्न आग्रह गर्दै आगामी बजेटमा युवा वैज्ञानिकका समस्या सम्बोधन हुने गरी सरकारको क्षमताले भ्याएसम्म ठूलो बजेट ल्याउने बताए ।


प्रदेशका युवा वैज्ञानिकको क्षमता अभिवृद्धि र वैज्ञानिकको संख्या बढाउन पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको योजना सरकारले अघि सारेको उनको भनाइ थियो ।


कार्यक्रममा कर्णालीका ९ युवालाई प्रदेश सरकारले सम्मान पनि गरेको छ । शिक्षा विकास निर्देशनालयकी उपसचिव दीपा हमालका अनुसार सर्वोत्कृष्टलाई ३५ हजार, उत्कृष्टलाई ३० हजार, प्रशंसनीयलाई २५ हजार र उल्लेखनीय ५/५ हजार रुपैयाँले सम्मान गरिएको हो ।

प्रकाशित : असार १५, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?