कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पञ्चकोसीमा चिनियाँ टोली

ज्योति कटुवाल

(दैलेख) — पेट्रोलियम पदार्थको अन्वेषण गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, पूर्वउद्योगमन्त्री सोमप्रसाद पान्डे र चाइना जिओलोजिकल सर्भेको टोली पञ्चकोसी क्षेत्रमा पुगेको छ । मन्त्रीसहित पेट्रोलियम पदार्थ भएको अनुमान गरिएको क्षेत्रमा उत्खननका लागि दैलेख आएको चिनियाँ टोलीको नेतृत्व वरिष्ठ भूगर्भविद् ट्यान फुएनले गरेका छन् ।  

टोलीले आइतबार पञ्चकोसी क्षेत्रको अवलोकन गरेको छ । चाइना जियोलोजिकल सर्भे र खानी तथा भूगर्भ विभागका पदाधिकारीसहितको टोलीले पेट्रोलियम पदार्थको अन्वेषण गर्न श्रीस्थान, नाविस्था, धुलेश्वर र पादुका कोटिलाको अवलोकन गरेको हो ।


भूगर्भर्विद् फुएनले श्रीस्थानमा पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावनाबारे अन्वेषण निकै अघि नै गरिए पनि अरू सम्भाव्य स्थानमा योपल्ट अध्ययन गरिने बताए । २०१८ फेव्रुअरी २८ मा नेपाल र चीन सरकारबीच पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सम्झौता भएको थियो ।


उक्त सम्झौताअनुसार प्राविधिक टोली अनुसन्धानका लागि आएको भूगर्भ विभागका पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले बताए । ‘जमिनको ५ देखि २० किमि सतहमुनिको बनावटको अध्ययन गरेपछि पेट्रोलियम पदार्थ जम्मा भएर बस्ने संरचना पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘विभागले गरेको अन्वेषणले दैलेखमा पेट्रोलियम पदार्थ रहेको प्रमाणित भइसकेको छ ।’ यसअघि वैशाख १८ मा चिनियाँ टोलीले अन्वेषणका लागि यहाँ आउने मिति तोकेको थियो । पछि वैशाख अन्तिम साताका लागि मिति सारिए पनि दुई महिनापछि मात्र चिनियाँ टोली नेपाल आएको हो ।


विभागका अनुसार दोस्रो चरणमा ‘स्यास्ट्रिक सर्भे’ गरिनेछ । उक्त सर्भेमा जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ गरिन्छ । ‘यो सर्भेबाट जमिनमुनि पेट्रोलियम पदार्थको भण्डारण कहाँ छ भनेर पत्ता लाग्छ,’ प्रमुख रजौरेले भने, ‘त्यसपछि मात्र पेट्रोलियम पदार्थ कति मात्रामा छ र आर्थिक रूपमा उत्खननयोग्य हुन्छ कि हुँदैन भनेर थाहा हुनेछ ।’


पेट्रोलियम पदार्थको परिमाण र व्यावसायिकताबारे अध्ययन गर्न चिनियाँ टोली खटाइएको उनले बताए ।

पञ्चकोसी क्षेत्रमा धेरै वर्षदेखि निरन्तर बलिरहेको ज्वाला पेट्रोलियम (मिथेन ग्यास) भएको यसअघि नै प्रमाणित भइसकेको छ । प्रमाणित भएको १३ वर्षपछि उत्खनन तथा अन्वेषण गर्न लागिएको हो । यसअघि २०७२ चैतमा चिनियाँ विशेषज्ञ टोलीले प्रारम्भिक अनुसन्धान गरेको थियो ।

प्रकाशित : असार १६, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?