बाढीपीडितलाई पहिलो किस्ता

चाँदनी कठायत

(वीरेन्द्रनगर) — कर्णाली प्रदेश सरकारले जिल्लाका विभिन्न स्थानमा बस्दै आएका बाढीपीडितलाई राहतको पहिलो किस्ता बापतको रकम उपलब्ध गराएको छ । पहिलो चरणमा ५ सय १४ जनालाई रकम उपलब्ध गराएको हो । 

बाढीपीडितलाई पहिलो किस्ता

२०७१ साउनमा आएको बाढीपहिरोबाट विस्थापित भई विभिन्न अस्थायी शिविरमा बस्दै आएका १ हजार ४५ घरपरिवार छन् । प्रभावित घरपरिवारमध्ये जग्गा भएकालाई मात्रै घर बनाउनका लागि प्रतिपरिवार एक लाख ५० हजार रुपैयाँ पहिलो किस्ता सम्बन्धित स्थानीय तहमार्फत पठाइएको हो । ‘अहिलेका लागि जग्गा भएका बाढीपीडितका लागि मात्रै पहिलो किस्ता बापतको रकम सरकारले पठाएको छ,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन शाखाका नायब सुब्बा खड विकले बताए ।


प्रदेश सरकारले बाढीपहिरोबाट विस्थापित भएका परिवारका लागि ३१ करोड ३५ लाख रुपैयाँ छुट्याएको छ । ‘प्रत्येक परिवारका लागि ३ लाख रुपैयाँ छुट्याइएको छ,’ उनले भने, ‘स्थानीय तहले प्रभावितको खातामा रकम हालिसकेको छ ।’ उनका अनुसार केही पीडितले जग्गाको लालपूर्जा समयमै नबुझाउँदा र कोही घर बाहिर भएका कारण खातामा रकम पठाउन ढिलाइ भएको छ ।


हालसम्म वीरेन्द्रनगरका १ सय ९९, पञ्चपुरीका १६, बराहतालका २९, लेकबेंसीका १२ र गुर्भाकोटका ३२ जना बाढी प्रभावितले रकम बुझिसकेका छन् । वीरेन्द्रनगरका १ सय ८३, पञ्चपुरीका ७, बराहतालका २९, लेकवेशीका १२ र गुर्भाकोटका ३२ परिवारले पहिलो किस्ता बापतको रकम बुझेका हुन् ।


पहिलो किस्ता बुझेका बाढीपीडितलाई कार्यप्रगतिका आधारमा दोस्रो र तेस्रो किस्ता उपलब्ध गराइने छ । घरको जगसहित झ्याल–ढोका तयार गरेपछि अनुगमन गरेर दोस्रो किस्ता बापतको एक लाख र घर निर्माण सम्पन्न गरेपछि तेस्रो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । पीडितमध्ये २ सय ९२ जनाले जग्गा र घर निर्माण तथा २ सय ३९ जनाले पुनर्वास रोजेका छन् । जग्गा र घर निर्माण तथा पुनर्वास रोजेका बाढी प्रभावितको हकमा भने प्रदेश सरकारले कुनै निर्णय गरेको छैन ।


२०७१ साउनमा आएको बाढीपहिरोबाट सुर्खेतमा १ सय १५ जनाको मृत्यु भएको थियो । १ हजार ४५ परिवार पूर्ण विस्थापित भएका थिए । वीरेन्द्रनगर नगरपालिकामा ३ सय २२, पञ्चपुरीमा २ सय १४, बराहताल गाउँपालिकामा २ सय ९५, चौकनेमा ६, भेरीगंगामा १ सय ९८, गुर्भाकोटमा ३४ र लेकबेंसीमा १२ परिवार विस्थापित भएर विभिन्न अस्थायी शिविरहरूमा बसिरहेका छन् । गत चैत्र २६ को मन्त्रिपरिषद् बैठकले बाढीप्रभावितलाई पुन:स्थापनाका लागि प्रतिपरिवार ३ लाखका दरले ३१ करोड ३५ लाख रकम छुट्याएको छ । प्रभावितलाई चालु आर्थिक वर्षमा रकम वितरण गरेर बाँकी हुने रकम प्रदेश सञ्चित कोषमा जम्मा हुनेछ ।


त्रिपालमुनि कष्टकर जीबन बिताइरहेका यहाँका बाढी प्रभावितलाई वर्षात कसरी टार्ने भन्ने चिन्ता छ । च्यातिएका त्रिपालुमनि रुझेर दिनरात कटाउनुपर्ने बाध्यता पीडितलाई छ । ‘पोहोर सालको वर्षामा पानीको खालमै सुतेर कटाइयो,’ पीडित कमला विकले भनिन्, ‘अब त त्रिपाल झन् गलिसके, टाल्न पनि मिल्दैन । यसपटक पनि रुझेरै रात दिन कटाउनुपरेको छ ।’


त्रिपालको चारैतिरबाट पानी चुहिँदा ज्येष्ठ नागरिक तथा बालबालिकाको स्वास्थ्य पनि बिग्रने गरेको बाढी प्रभावित बताउँछन् । गिरीघाटकी चोचे दमेनीको पीडा पनि उस्तै छ । ‘अब पानी दिनदिनै पर्न थालेको छ,’ उनले भनिन्, ‘वर्षाको समयमा न काम गर्न सकिन्छ, न आराम गर्ने गतिलो वास छ ।’ बजेट हुँदाहुँदै पनि सरकारले पुनर्वासमा ढिलाइ गरेको प्रभावितको गुनासो छ ।

प्रकाशित : असार २१, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?