३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आकाशे पानी संकलन गर्न ट्यांकी

‘अब डोकोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यताको अन्त्य भयो, पानी परेका दिन १ घण्टामै ट्यांकी भरिन्छ । एकपटक भरेको पानीले ४/५ दिन पुग्छ’ 
विप्लव महर्जन

सल्यान — खानेपानी अभाव हुन नदिन शारदा नगरपालिका ५, कोटानेटा र धानटाकुरामा आकाशे पानी ट्यांकी बनाइएको छ । बर्खामा पानी संकलन गरी हिउँदमा उपभोग गर्नेगरी २ गाउँमा ८ ट्यांकी निर्माण गरिएको हो ।

आकाशे पानी संकलन गर्न ट्यांकी

संकलित पानी हाते पम्पबाट निकालेर उपभोग गर्न मिल्नेगरी ट्यांकी निर्माण गरिएको हो । नगरपालिकाले ट्यांकी निर्माणसँगै स्थानीयलाई हातेपम्प वितरण गरेको छ । ट्यांकी निर्माण भएपछि खानेपानीका लागि १ घण्टा टाढा गएर खानेपानीको जोहो गर्नुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ ।


ट्यांकी निर्माणपछि हिउँदको समयमा आफूहरूको सास्ती हट्ने स्थानीय सीता बस्नेतले बताइन् । उनका अनुसार हिउँदका ३ महिना स्थानीयले खानेपानीका लागि ठूलो सास्ती भोग्दै आएका छन् । ‘अब डोकोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यताको अन्त्य भयो,’ उनले भनिन्, ‘आकाशे पानी परेको दिन १ घण्टामै ट्यांकी भरिन्छ । एकपटक भरेको पानीले ४/५ दिन पुग्छ ।’


स्थानीयका अनुसार निर्माण गरिएका ट्यांकीको क्षमता १० हजार लिटर छ । पानीको स्रोत कम भएको ठाउँमा आकाशे पानी संकलन कार्यक्रम प्रभावकारी रहेको स्थानीय लालबहादुर रावतले बताए । उनका अनुसार टंकीमा संकलन गरेको आकाशे पानी उमालेर पिउने गरिएको छ ।


शारदा नगरपालिका ५ का वडाध्यक्ष प्रदीपकुमार शाहीले नगरपालिकाको ४ लाख ५० हजार रुपैयाँ लगानीमा आकाशे पानी संकलन ट्यांकी निर्माण गरिएको बताए । उनका अनुसार ट्यांकी निर्माणका क्रममा स्थानीयले श्रमदानसमेत गरेका छन् । बाहिरी फोहर नपस्ने भएकाले शुद्धीकरण गरी पानी पिउन मिल्ने उनको भनाइ छ ।


‘खानेपानीको बढी समस्या भएका स्थानमा आकाशेपानी संकलन गर्ने विधि अपनाइएको छ,’ उनले भने, ‘गर्मीयाममा पानी संकलनका लागि ट्यांकी बनाइएको हो, यसले पानीको समस्या समाधान गर्ने अपेक्षा छ ।’ बन्गाडकुपिण्डे नगरपालिका ९ जयतपानीमा पनि आकाशे पानी संकलन गर्न ट्यांकी निर्माण गरिएपछि ४० घर, विद्यालय र स्वास्थ्यचौकीमा सुविधा पुगेको स्थानीय पूर्णबहादुर थापाले बताए ।


आकासबाट परेको पानी फिल्टर हुँदै ट्यांकीमा जम्मा हुने र हातेपाइपबाट निकाली प्रयोग गर्ने गरिएको उनको भनाइ छ । नजिकै मूल नभएका क्षेत्रमा पानीको समस्या समाधान गर्न घैंटो निर्माण गरिएको जयतपानीकी चन्द्रा बुढाले बताइन् । उनका अनुसार गाउँमा ४ वर्षदेखि आकाशेपानी संकलन घैंटोमार्फत खानेपानी समस्या समाधान भएको छ ।

प्रकाशित : असार २३, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?