२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सामुदायिकमा विज्ञान भवन

विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थी संख्या बढ्ने विद्यालयको अपेक्षा
विप्लव महर्जन

सल्यान — शारदा नगरपालिकाको मूलडाँडास्थित शिव माविमा सुविधा सम्पन्न विज्ञान भवन निर्माण गरिएको छ । साबिक जिल्ला शिक्षा कार्यालय र शारदा नगरपालिकाको सहयोगमा ४ कोठासहितको दुईतले भवन निर्माण गरिएको हो ।
सामुदायिक विद्यालयमा सुविधायुक्त विज्ञान प्रयोगशाला स्थापना भएपछि पठनपाठन गुणस्तरीय हुने अपेक्षा गरिएको छ ।

सामुदायिकमा विज्ञान भवन

भवन निर्माणका लागि शिक्षा कार्यालयबाट १८ लाख, नगरपालिकाबाट १८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । अभिभावकले ९ लाख रुपैयाँ लगानी र श्रमदान गरेपछि भवन निर्माण पूरा भएको हो । ४५ लाख रुपैयाँमा भवन निर्माण पूरा भएको प्रधानाध्यापक डिल्ली हमालले बताए ।


नवनिर्मित भवनमा विज्ञान र कम्प्युटर प्रयोगशाला सञ्चालन गरिने उनको भनाइ छ । ‘प्रयोगशाला नहुँदा विद्यार्थीका लागि प्रयोगात्मक कक्षा सञ्चालन गर्न समस्या थियो,’ उनले भने, ‘भवन निर्माण सकिएकाले अत्याधुनिक प्रयोगशाला स्थापनाको तयारी गरिएको छ ।’


प्रयोगशाला स्थापनापछि कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गर्ने विद्यालयको तयारी छ । यही शैक्षिक सत्रदेखि कक्षा ११ को पठनपाठन सुरु गरिने हमालको भनाइ छ । विद्यालयमा अहिले ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । विज्ञान र कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थी संख्या बढ्ने विद्यालयको अपेक्षा छ ।नयाँ भवन निर्माण भएपछि कक्षा ११ र १२ को पठनपाठनको तयारी थालिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमबहादुर कवरले बताए ।


‘विद्यालयका सबै भवन पुराना भएकाले प्लस टु सञ्चालन गर्न समस्या थियो,’ उनले भने, ‘अब विज्ञान संकायमा पनि कक्षा ११ र १२ को पढाइ सुरु गर्नसक्ने अवस्थामा पुगेका छौं ।’ विज्ञान भवनको उद्घाटन गर्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाइँदै लगिएको जनाए ।


उनले सबै सामुदायिक विद्यालयको गुणस्तर बढाउन पूर्वाधार निर्माणमा विशेष जोड दिइएको जानकारी दिए । ‘पूर्वाधार र प्रविधि थप गरी पहिलो चरणमा सबै माविलाई नमुना बनाउन लागेका छौं,’ उनले भने, ‘नगरका सबै सामुदायिक विद्यालयको गुणस्तर बढाउन गुरुयोजना निर्माण गरिएको छ, योजना कार्यान्वयनका लागि आगामी वर्ष पर्याप्त बजेट विनियोजन गरिएको छ ।’

प्रकाशित : असार २४, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?