युद्ध पर्यटकीय क्षेत्र बन्दै पिली

यहाँका घरघरमा मिटर जडित खानेपानीका धारा, सिँचाइ, पोखरी, टेलिकम टावर, कालिका माविको भवन निर्माणका काम जारी
तुलाराम पाण्डे

पिली, कालीकोट — खाडाचक्र ७, पिलीकी ७१ वर्षीया देउकला मल्ललाई पिली घटनाबारे सम्झिँदा अझै कहाली लाग्छ । १४ वर्षअघि माओवादी आक्रमणको अन्तिम फौजी निशाना बनेको पिलीमा सेनालाई रासन पुर्‍याउन सहयोग गर्ने देउकलाका पति शक्ति मल्ललाई तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेका थिए ।

पिली घटनामा ६५ सेनासहित सय बढीले ज्यान गुमाएका थिए भने त्यत्तिकै संख्यामा घाइते अंगभंग भएका थिए । माओवादीले ६० नेपाली सेना अपहरण गरी १ महिनापछि जाजरकोटबाट मुक्त गरेको थियो । युद्धका घाउमा खाटा बस्दै गएपछि उनको दैनिकी पनि फेरिएको छ । उनले आफ्नै घरमा होमस्टे (घरबास) सञ्चालन गरी स्थानीय परिकारका खाना र वातावरण पाहुनालाई दिएर पिली चिनाउने गर्छिन् । ‘होमस्टेबाट केही आम्दानी पनि हुन्छ,’ उनले भनिन्, ‘ठूलो कुरा त देश विदेशीसँग भेट हुन्छ ।’ उनले पुराना कुराले मन अशान्त भए पनि नयाँ विकासले संसार यस्तै रहेछ भन्ने महसुस हुन थालेको सुनाइन् ।

शान्तिप्रक्रियाको आधार बनेको पिली घटनालाई स्मरण गर्न र नेपालको सशस्त्र द्वन्द्वलाई भावी पुस्ताले पनि जानकारी पाउन भन्ने उद्देश्यले साबिक शान्ति मन्त्रालयले युद्धपर्यटकीय क्षेत्रका रूपमा घोषणा गरेको थियो । खाडाचक्र नगरपालिकाले पनि पिलीलाई नगर सभामार्फत युद्ध पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्ने घोषणा गर्दै बजेटका लागि पहल गरेको नगर प्रमुख जसीप्रसाद पाण्डे बताए । उनले पिलीमा घरघरमा मिटर जडित खानेपानीका धारा, सिँचाइ, पोखरी, टेलिकमको टावर, कालिका माविको भवन निर्माणलगायत काम भएको जानकारी दिए ।

घोषणा भए पनि बजेट नहुँदा गत वर्षसम्म कामले गति लिन सकेको थिएन । यस वर्ष कर्णाली प्रदेश सरकारले १ करोड ५० लाख रकम विनियोजन गरी ३ उपभोक्ता समितिमार्फत पिलीमा ३ भवन, सिँढीसहितको पैदल मार्ग र त्यसको डिलमा स्टिलको रेलिङ हाल्ने काम गरिरहेको छ । सदरमुकाम मान्मबाट २० किमि पूर्व रारा जाने बाटोनजिकै पर्ने पिलीमा ४० लाखको बाटोसहित युद्ध संग्रहालय, ६० लाखमा स्मारक भवन र ५० लाखमा घरबासका लागि पक्की भवन निर्माण भएका छन् । काम सबै सकेर ‘फिनिसिङ’ भइरहेको पिली युद्धपर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष पुत्रबहादुर मल्लले बताए ।

संरक्षण समितिले दीपक कार्की, दर्न मल्ल र रतनबहादुर मल्ल अध्यक्ष रहेको ३ निर्माण उपभोक्ता समिति बनाएर निर्माण गरिरहेको छ । पिलीलाई सरकारले युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बजेटसहित योजना दिएपछि वैशाखमा सम्झौता भएर जेठमा काम सुरु गरेको खाडाचक्र ७ का वडाध्यक्ष रजबहादुर मल्लले बताए । ‘भौतिक संरचनाका काम भइरहेका छन्,’ उनले भने ‘संग्रहालयमा युद्धमा प्रयोग भएका दुवै पक्षका हातहतियार र युद्ध सामग्री र स्मारक भवनमा पिली भिडन्तमा ज्यान गुमाएकाहरूको तस्बिर राखिनेछ ।’ उनले सामग्रीका लागि नेपाली सेनासँग समन्वय भइरहेको जनाए । पिलीमा भवन, बाटोसहित स्मारकको मर्मर्त सुधार, चौतारी पनि बनाइनेछ । क्रमागत बजेटबाट डाँडामा भ्युटावर, चिडियाखाना पनि निर्माण गर्ने योजना रहेको प्राविधिक लवराज शाहीले बताए ।

‘युद्ध हुँदासम्म गाउमै बस्न पाइएन,’ जिसस सदस्य अक्कलबहादुर मल्ले भने, ‘शान्तिसँगै सडक आएपछि गाउँ फेरियो, हाम्रो पनि दैनिकी फेरियो ।’ उनका अनुसार कालीकोटको १८औं जिल्ला परिषदले युद्ध पर्यटकीय गाउँ घोषणा गर्ने नीतिगत निर्णय गरी पर्यटन मन्त्रालयमा पठाएको थियो ।

खाडाचक्र ६ मा पर्ने दाहा तलसेरालाई ‘सपना’ को गाउँ र पिलीलाई युद्ध पर्यटकीय गाउँ बनाउन साबिक दाहा गाविसले नीतिगत निर्णय गरेको थियो । तत्कालीन फौजी हमलाले पिलीलाई चिनाएपछि गाउँमा भोट तान्न सबै राजनीतिक दलका नेता कार्यकर्ता युद्ध पर्यटकीय क्षेत्रको नारा लगाएका थिए । पिलीलाई युद्ध पर्यटकीय गाउँ बनाउन नेकपाका नेता/कार्यर्कर्ता पनि सक्रिय देखिन्छन् । ०६२ साउन ३२ गते कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक निर्माण कार्यदल रहेको क्याम्पमा चारैतिरबाट घेरा हालेर माओवादीले आक्रमण गरेका थिए ।

प्रकाशित : असार २५, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्

किशोरीहरू सुरक्षा माग्दै गाउँपालिकामा

रूपा गहतराज

नेपालगन्ज — ‘ट्युसन पढेर फर्किंदा राति हुन्छ,’ स्थानीय दीपिका शाहीले भनिन्, ‘आफ्नै गाउँठाउँमा पनि रात परेपछि हिंड्न डर लाग्ने यो कस्तो अवस्था हो !’ उनले किशोरीहरूलाई निर्धक्क भएर हिंड्न गार्‍हो भएकाले सुरक्षा माग गर्न गाउँपालिकासम्म आएको बताइन् । स्थानीय किशोरीहरूको एक समूह सुरक्षा माग गर्दै आइतबार गाउँपालिका आइपुगेको हो । जानकी गाउँपालिकाकी उपाध्यक्ष भूमिसरा धिताललाई भेटेर उनीहरूले सुरक्षा माग गरे । उपाध्यक्ष धितालले उनीहरूका माग सुनेपछि भनिन्, ‘तपाईंहरूको साहस देखेर खुसी लाग्यो ।’

जानकी गाउँपालिकाका किशोरी ट्युसन पढ्न र कम्प्युटर सिक्न नेपालगन्ज उपमहानगर पुग्ने गरेका छन् । ५ किलोमिटर टाढा रहेको घर फर्किंदा बाटो सुनसान हुन्छ । बाटोमा प्रहरी बिट छैन । त्रासमा हिंड्न बाध्य भएको किशोरीहरूले गुनासो पोखे ।त्यहाँका अधिकांश किशोरी किनमेल र पढाइका लागि नेपागन्ज सहर आउने गरेका छन् । उनीहरूका अनुसार बाटोमा आवाराहरूले जिस्काएर हैरान पार्छन् । प्रतिकार गर्न सक्दैनन् । सहेर बस्न बाध्य छन् । ‘रातिमा सार्वजनिक सवारी साधन पाउन मुस्किल छ,’ किशोरी सिर्जना बुढामगरले भनिन्, ‘रातिमा पनिसार्वजनिक यातायात चलाउने व्यवस्था गरिदिनुस् ।’ किशोरीहरूको प्राथमिकतामा सुरक्षा परेको थियो ।

उनीहरू समूह बनाएर गाउँपालिकामा पुगेका थिए । त्यहाँ आफ्ना गुनासा राखे । ‘हामीलाई अरू केही चाहिएन,’ स्थानीय किशोरी सञ्जालकी सचिव क्रिस्टिना विकले भनिन्, ‘सुरक्षित आवत्जावत्को व्यवस्था होस् ।’ झन् अहिले महिला हिंसाका कुरा सुनेर परिवार आत्तिने गरेको उनले बताइन् । यस्तो वातावरणले पढाइमा पनि असर गर्ने उनले सुनाइन् । किशोरीले समस्या मात्र होइन, समाधान पनि सुझाएका थिए । बाटोमा एउटा भए पनि प्रहरी बिट स्थापना गर्न सुझाव दिए । बाटोमा जिस्काउन कुरेर बस्ने युवालाई तह लगाउने कुरा सुनेपछि गाउँपालिका उपाध्यक्ष धितालले भनिन्, ‘परिवर्तन भनेको यही हो । तपाईंहरूको साहस देखेर खुसी लाग्यो ।’ आफ्नो अधिकारका लागि आफैं एकजुट बनेको देखेर उनले किशोरीको प्रशंसा गरिन् । ‘निर्धक्क भएर हिंड्नुस् । नबिराउनुस्, नडराउनुस्,’ उनले भनिन्, ‘केही समस्या पर्नासाथ मलाई फोन गर्नूस् ।’

उपाध्यक्षले किशोरीहरूसमक्ष नेपालगन्ज पुग्ने रोडमा प्रहरी बिट स्थापनाका लागि तदारुकताका साथ लाग्ने र महिलाका लागि रात्रि बस संचालनका लागि पहलगर्ने विश्वास दिलाइन् । ‘जनप्रतिनिधि किशोरीको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भनिन् ।गाउँपालिकाअन्तर्गत ६ वटा वडा छन् । प्रायः वडा दुर्गममा छन् । एक गाउँबाट अर्को गाउँ पुग्न समय लाग्छ । गाउँपालिकाको कार्यालय पुग्नसमेत केही वडालाईघण्टौं लाग्छ ।

छलफलमा सहभागी अधिकारकर्मी नेत्रकला शाहीले किशोरीलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर अगाडि बढ्न सुझाव दिइन् । ‘आफ्नो सुरक्षाप्रति पहिला आफैं सजग हुनुहोस्,’ उनले भनिन्, ‘नचिनेका मानिससँग चाँडो घुलमिल नहुनुस् । सधैं वरिपरिका मान्छेको उद्देश्य बुझेर मात्र संगत गर्नुस् ।’

प्रकाशित : असार २५, २०७६ ११:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्